काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग उपलब्ध गराइएको छ।
देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो। विपद्को कठिन परिस्थितिमा पीडित नागरिकलाई सहयोग पुर्याउनु सामाजिक दायित्व भएको भन्दै आचार्य र अस्मिता पब्लिकेसनले संयुक्त रूपमा सहयोग गरेका हुन्।
महामन्त्री आचार्यका अनुसार उक्त सहयोग रकम उनको व्यक्तिगततर्फबाट, अस्मिता पब्लिकेसन, उनका काका मनोजकुमार शर्मा तथा परिवारका तर्फबाट संयुक्त रूपमा प्रदान गरिएको हो। व्यक्तिगत सहयोगसँगै संस्थागत तथा पारिवारिक सहभागितामार्फत विपद्मा परेका नागरिकलाई साथ दिने प्रयास गरिएको उनले बताए।
प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भइरहेका बेला पीडित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। यही मानवीय भावनालाई निरन्तरता दिँदै आफूहरूले पनि उद्धार तथा पुनःस्थापनाको अभियानमा योगदान गर्ने उद्देश्यले सहयोग उपलब्ध गराएको आचार्यले बताए।
सहयोग रकम हस्तान्तरण गर्दै आचार्यले विपद्को सामना गरिरहेका सम्पूर्ण नेपाली नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। उनले संकटको यस घडीमा प्रभावित परिवारलाई आफूहरू एक्लो नभएको अनुभूति दिलाउन समाजका सबै तह र क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको बताए।
उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवन सामान्य अवस्थामा फर्काउन राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। विपद्का बेला उपलब्ध गराइने सानोभन्दा सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठूलो आशा र भरोसा जगाउन सक्ने भएकाले सबैलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोगमा जुट्न उनले आग्रह गरे।
आचार्यले विपद्को कठिन घडीमा रहेका नागरिकमा धैर्य, साहस र आत्मविश्वास कायम रहोस् भन्ने कामना गर्दै प्रभावित परिवारको शीघ्र उद्धार तथा पुनःस्थापना हुन सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
विपद्मा परेका नागरिकलाई सहयोग गर्नु केवल आर्थिक योगदान मात्र नभई मानवीय ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको अभिव्यक्ति पनि हो। आचार्य र अस्मिता पब्लिकेसनबाट गरिएको यो सहयोगले विपत्तिमा परेका नागरिकलाई राहत पुर्याउने अभियानमा थप उत्साह र सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया