भाद्र १६, २०८३ मंगलबार September 1, 2026

नारायणी अस्पतालबाट चोरी भएको शिशु १६ घण्टापछि सकुशल उद्धार

अस्पतालबाट चोरी भएको नवजात शिशु सहित इनर्वाकी सबिना खातुन पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सञ्जय मिश्रा/ रौतहट, १६ भदौ। वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिनको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल उद्धार गरेको छ।

शिशु चोरीको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६, इनर्वाकी सबिना खातुनलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रातभरको खोजी, अनुसन्धान र निगरानीपछि सोमबार बिहान खातुनलाई शिशुसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकी खातुनले प्रारम्भिक बयानका क्रममा आफ्नो सन्तान नभएकाले बच्चा चोरी गरेको बताएकी छन्। यद्यपि, उनको बयानलाई मात्र आधार बनाएर निष्कर्षमा नपुगिएको र घटनामा अन्य व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक दिन नपुग्दै अस्पतालबाट शिशु गायब

सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे नारायणी अस्पतालमा शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी थिइन्। तर, जन्मिएको एक दिन पनि नपुग्दै आइतबार नवजात शिशु अस्पतालबाटै हराएपछि परिवारमा खलबली मच्चिएको थियो।

प्रहरीका अनुसार अस्पतालमा रहेकी शिशुकी हजुरआमासँग एक अपरिचित महिला सम्पर्कमा आएकी थिइन्। उनले आफू अस्पतालको कुचिकार भएको बताउँदै बच्चालाई केहीबेर खेलाउन मागेकी थिइन्। परिवारले विश्वास गरेर बच्चा दिए पनि ती महिला शिशु लिएर अस्पताल परिसरबाटै बाहिरिइन्। लामो समयसम्म नफर्किएपछि परिवारले खोजी सुरु गर्‍यो, तर कतै फेला नपरेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो।

१६ घण्टापछि इनर्वाबाट उद्धार

घटनाको सूचना पाउनेबित्तिकै पर्सा प्रहरीले खोजी तथा अनुसन्धान तीव्र बनाएको थियो। प्रहरीले संदिग्ध महिलाको हुलिया र आवतजावतका आधारमा सम्भावित क्षेत्रहरूमा निगरानी बढाएको थियो।

रातभरको निरन्तर खोजीपछि करिब १६ घण्टामा प्रहरीले वीरगञ्ज–१६, इनर्वाबाट खातुनलाई शिशुसहित नियन्त्रणमा लिन सफल भयो। शिशुको सकुशल उद्धार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि परिवारको जिम्मा लगाइएको छ। उद्धार गरिएको शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रारम्भिक बयान र प्रहरी अनुसन्धान

खातुनले आफू निसन्तान भएकाले बच्चा चोरेको बयान दिए पनि प्रहरीले घटना पछाडि अन्य कुनै आपराधिक उद्देश्य वा गिरोहको संलग्नता छ कि भन्ने कोणबाट पनि अनुसन्धान अघि बढाएको छ।

खातुन अस्पतालसम्म कसरी पुगिन्, योजनाबद्ध रूपमा चोरी गरिएको हो वा आकस्मिक, बच्चालाई कहाँ लैजाने तयारी थियो र अन्य कोही सहयोगी थिए कि थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अस्पतालको सुरक्षा व्यवस्थामाथि प्रश्न

नारायणी अस्पतालजस्तो संवेदनशील स्थलबाटै नवजात शिशु चोरी भएपछि अस्पतालको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। अपरिचित व्यक्तिको सहज प्रवेश र नवजात शिशुसम्म पुगेर बाहिर लैजान सक्ने खुकुलो अवस्थाले सुरक्षा प्रणालीको कमजोरी उजागर गरेको भन्दै आलोचना भइरहेको छ।

विशेषगरी प्रसूति तथा नवजात शिशु कक्षमा प्रवेश गर्ने व्यक्तिको पहिचान, कुरुवा व्यवस्थापन र कडा निगरानी प्रणाली लागू गर्नुपर्ने आवश्यकता यो घटनाले देखाएको छ। प्रहरीले पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान जारी राखेको छ।न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया