काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने तयारी अघि बढाएको छ। केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला विशेष महाधिवेशन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि संस्थापन पक्षले आपत्ति जनाएको छ।
१५औँ महाधिवेशन तयारी समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै २०८३ मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय भएको जनाएको छ। समितिले असोज १५ गते वडा अधिवेशन गर्ने प्रारम्भिक कार्यतालिकासमेत सार्वजनिक गरेको छ। संयोजक दीपकप्रसाद कुइँकेलले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने वैधानिक दायित्व रहेको दाबी गरेका छन्।
राष्ट्रिय भेला/सम्मेलनको निर्देशनअनुसार भदौ १७ र १८ गते बसेको तयारी समितिको बैठकले महाधिवेशनको मिति र प्रारम्भिक कार्यतालिका तय गरेको जनाइएको छ। महाधिवेशनका विभिन्न तहका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने तथा जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा अधिवेशन तयारी समिति असोज ३ गतेभित्र गठन गर्ने निर्णय भएको छ।
कांग्रेसभित्र महाधिवेशनको वैधानिकता र नेतृत्वको आधिकारिकतालाई लिएर संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्किरहेका बेला दुवै पक्षले आ–आफ्नै प्रक्रियाबाट महाधिवेशनको तयारी अघि बढाएका छन्। यसअघि कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तालिकासहित तयारी थालेको जनाएको थियो।
विज्ञप्ती हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया