असोज ६, २०८३ मंगलबार September 22, 2026

प्रतिनिधिसभाबाट सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुमोदन

सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानून सम्बन्धी महासन्धी अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता अनुमोदन भएको छ ।

सम्झौतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सामुद्रिक सम्पदाबाट नेपाललाई फाइदा पुग्नेगरी सम्झौता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

छलफलमा सांसदहरूले सामुद्रिक सम्पदालाई देशको समृद्धि र दिगो विकासका लक्ष्यसँग जोड्नुपर्ने बताउनुभयो ।

विगतमा समेत नेपाल विभिन्न अन्तराष्ट्रिय सन्धी/सम्झौताहरूको पक्ष राष्ट्र भएपनि त्यसको कार्यान्वयन पक्ष कमजोर हुँदा लाभ लिन नसकेको भन्दै सांसदहरूले अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरू कार्यान्वयनका लागि आवश्यक कानून छिटो निर्माण गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक २०८३ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।

यसअघि बैठकको सुरुमा सांसदहरुले काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको विषयमा छानविन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

सांसदहरुले बसमा भएको आगलागीका विषयमा सत्य तथ्य जानकारी बाहिर ल्याउन अविलम्ब न्यायिक छानविन समिति गठन गर्न माग गर्नुभयो ।

सांसदहरुले यात्रु र चालकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन, सुरक्षित र व्यवस्थित सडक पूर्वाधार निर्माण र राज्यका नियमनकारी निकाय मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो ।

यस्ता घटनाले राज्यप्रति नागरिकका निराशा, लाखौँ बेरोजगार युवाहरूका पिडा व्यक्त गरेको भन्दै सांसदहरुले नागरिकका संवेदना र गुनासाप्रति  सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

बैठकमा सांसदहरुले बढ्दो सडक दुर्घटना न्यूनीकरण, सार्वजनिक सवारी चालकको मनोसामाजिक अवस्थाको अध्ययन गरी आवश्यक अनुसारको तालिम र परामर्शको व्यवस्था गर्न माग गर्नुभयो ।

यस्तै सांसदहरुले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न, विभिन्न जिल्लामा फैलिएका स्क्रपटाईफस, डेंगी लगायतका सङ्क्रामक रोग नियन्त्रणका लागि पहल गर्न, राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व नियन्त्रणको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोली असोज ७ गते बुधबार बिहान ११ बजे बस्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया