काठमाण्डौंः नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्टवान्टेड’ निटुप लामाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको छ । अहिलेसम्मकै ठूलो वन्यजन्तु अपराधमा संलग्न लामाविरुद्ध १५ अक्टोबरमा इन्टरपोलले नोटिस जारी गरेको हो ।
०६२ मा रसुवाको स्याफ्रुबेंसीमा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा निटुपको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यतिवेला सेनाको चेकिङका क्रममा ६ वटा बाघको छाला, ३६ वटा चितुवाको छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । यो वन्यजन्तु अपराधमा अहिलेसम्मकै ठूलो बरामदी हो ।
लामा नेपालबाट संगठित रूपमा बाघका छाला तथा हड्डी तस्करी गर्ने गिरोहका मुख्य सदस्य भएको प्रहरी दाबी छ । उनको बारेमा विस्तृत विवरण संकलन गर्न अहिलेसम्म नसक्दा रेड नोटिस जारी हुन सकेको थिएन । उनको समूहका कुन्जोकछिरिङ तामाङ गत असारमा पक्राउ परेपछि प्रहरीले निटुपबारे थप सूचना संकलन गर्न सफल भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लामाबारे विस्तृत विवरण संकलन गरी पक्राउ पुर्जी जारी गराएर इन्टरपोलमा रेड नोटिसका लागि सिफारिस गरेको थियो ।
चिनियाँ मूलका लामाले आफू गोरखाको छाकाम्पारको बासिन्दा भन्दै नागरिकता लिएका थिए । ६१ वर्षीय लामा ग्याल्छेन, ङोडुपजस्ता नामले कारोबारीबीच चिनिन्थे । विगतमा उनको नागरिकता नम्बरलगायतका विवरण प्रहरीले पत्ता लगाउन सकेको थिएन । गत असारमा पक्राउ परेका कुन्जोकछिरिङ तामाङलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको बारेमा थप खुलेको र रेड नोटिसमा राख्न सफल भइएको सिआइबीका एक अधिकारीले बताए । लामा हाल विदेशमा छन् ।
स्याफ्रुबेंसीमा पक्राउ परेका युवाहरूको बयानबाट तस्करीमा कुन्जोक तथा निटुपको संलग्नता रहेको खुलेको थियो । तर, विस्तृत विवरण नखुलेपछि पक्राउ परेकालाई मुद्दा चलाएर उनको मुद्दा मुल्तबीमा राखिएको थियो । रेड नोटिसमा राखेपछि विदेशबाट पनि उनलाई पक्राउ गरी ल्याउन सहज हुने प्रहरी अधिकारीहरूले बताएका छन् । नयाँपत्रिका
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया