स्याङ्जा, असोज १० गते । तीन दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जास्थित कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द गरिएको छ।
कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि बेल्टारीबाट उत्पादन हुँदै आएको १४४ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको हो। असार–साउनको तुलनामा असोजमै कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि मिर्मीस्थित बाँधका तीनवटै ढोका खोलिएको छ।
नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि बाँधको अवस्था र आसपासका बस्तीमा डुबानको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार राति ८ः४५ बजेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलले नदीमा पानीको बहाव उच्च भएका कारण सम्भावित जोखिम न्यूनीकरणका लागि आयोजना बन्द गरिएको बताउनुभयो।
उहाँले नदीमा पानीको बहाव घटेपछि आयोजनाबाट पुनः नियमित रूपमा विद्युत् उत्पादन सुरु गरिने बताउनुभयो।
असोजमै नदीमा अस्वाभाविक रूपमा बढेको पानीको बहावका कारण कालीगण्डकी आसपासका बस्ती तथा संरचनामा समेत जोखिम बढेको छ। यस्तै, वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ भने स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थल सेतीबेणीमा केही घर डुबानमा परेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया