असोज १२, २०८३ सोमबार September 28, 2026

मर्स्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन

असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लमजुङ, १२ असोजः वर्षाका कारण मर्स्याङ्दी नदी बढेको पानीको सतह र बहाव घट्दै गएको छ । लमजुङमा तत्काल बाढीको जोखिम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले हाल नदीको पानीको सतह घट्दै गइरहेकाले तत्काल चिन्ता गर्नुपर्ने अवस्था नरहेको जानकारीदिनुभयो । उहाँका अनुसार केही दिनअघि नदीमा पानीको बहाव असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै भए पनि अहिले अवस्था क्रमशः कम हुँदै गएको छ । “अहिले पानीको सतह घट्दै गइरहेको छ । केही दिनअघि असार–साउनमा आएको बाढीपहिरोको तुलनामा दोब्बरजस्तै बहाव देखिएको थियो, अहिले फेरि सामान्यतर्फ फर्किरहेको अवस्था छ,” उहाँले भन्नुभयो, “तत्काल जोखिम छैन । सुरक्षित तरिकाले बस्न सकिने अवस्था छ ।”

यसअघि मनाङको चामे क्षेत्रमा घट्टेखोलामा पहिरो खसेर खोला थुनिन सक्ने र त्यसबाट बाढी आउन सक्ने जोखिम देखिएपछि मस्र्याङ्दी नदी आसपासका तटीय क्षेत्रमा पनि सतर्कता अपनाइएको थियो । हाल लमजुङ खण्डमा भने नदीको पानीको सतह घट्दै गएको जनाइएको छ ।

यद्यपि आइतबार एक निरन्तर वर्षाका कारण बाढीले जिल्लाका विभिन्न स्थानमा भौतिक संरचनामा क्षति पुर्याएको छ । बेँसीसहर नगरपालिका–११ र उदिपुर क्षेत्रको बीचमा मस्र्याङ्दी नदीमाथि रहेको मोटरेबल पुलमा समेत क्षति पुगेको छ । पुलमा क्षति पुगेपछि उक्त पुल हुँदै दोर्दी गाउँपालिकाको केन्द्र तथा बेँसीसहर–११ लगायतका क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी खनालले आफू प्राविधिकसहित आज पुल तथा बाढीबाट क्षति पुगेका अन्य स्थानको निरीक्षणमा जाने जानकारी दिनुभयो ।

जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी

निरीक्षणपछि आवश्यकताअनुसार पुलको मर्मतसम्भारको काम अघि बढाइने उहाँले बताउनुभयो । नदीमा पानीको बहाव बढेपछि मस्र्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजना पनि प्रभावित भएका थिए । जोखिम बढेपछि आइतबार ७० मेगावाटको मध्य–मस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी पानी पूर्ण रूपमा बाहिर छाडेका थिए । हाल नदीको बहाव र पानीको सतह घट्दै गएकाले दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो ।

नदीको अवस्था सुरक्षित भएपछि आयोजनाहरू सञ्चालनमा आउने उहाँको भनाइ छ । निरन्तर वर्षाका कारण मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्नुका साथै लेदो, बालुवा तथा गेग्रानको मात्रा बढेपछि आयोजनाहरूमा जोखिम बढेको थियो । त्यसैलाई ध्यानमा राख्दै सुरक्षाका लागि विद्युत् उत्पादन रोकेर पानी बाहिर छाडिएको थियो । प्रमुख जिल्ला अधिकारी खनालका अनुसार अहिले नदीको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । केही दिनअघिको तुलनामा पानीको सतह घट्दै गए पनि वर्षाको अवस्था हेरेर सतर्कता भने कायम राख्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार