म्याग्दी । निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आज आएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा पहिरोमा फसेका दुई जनाको भने जीवितै उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गिवाङकी ७५ वर्षीया सिउकुमारी गर्बुजा र ५६ वर्षीया दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पुष्टि गर्नुभयो । आजै बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी ३५ वर्षीया कुमारी वली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
नेपाली सेनाको हेलिकप्टरमा गएका सुरक्षाकर्मीको टोलीले फगामको पहिरोमा फसेका दुई जनालाई सकुशल उद्धार गरेर बेनी ल्याउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । आज पहिरोमा परी म्याग्दीका तीन जनाको मृत्यु भएको छ ।
मालिका गाउँपालिका–३ औँलामा पहिरोमा पुरिएकाको उद्धार भएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो । यसैबीच सडक र पैदलमार्ग अवरुद्ध भएकाले अन्नपूर्णका पहिरो प्रभावित ठाउँमा नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्रीसहित सुरक्षाकर्मी टोली पठाउन लागिएको उहाँले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका(३ दानाको ज्ञानप्रकाश माविका शिक्षक बाबुराम पौडेलका अनुसार फगाममा गङ्गाबहादुर पाइजाको घर पहिरोले पुरिएको छ । बिहीबारदेखिको निरन्तरको झरीका कारण म्याग्दीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको छ । सञ्चार सेवा पनि प्रभावित हुँदा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया