काठमाडौं। काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलामा निर्मित पुलमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
पुलको फाउन्डेसन छेउमा रहेको ग्याबिन जालीसहितको जमिन भासिएपछि सम्भावित दुर्घटना र जोखिमलाई ध्यानमा राखेर सवारी तथा पैदल आवतजावतमा रोक लगाइएको हो।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रहरी प्रमुख सुबिन कार्कीका अनुसार अविरल वर्षाका कारण खोलामा बहाव बढ्दा पुलको छेउको जमिन धसिएको हो। यद्यपि, मुख्य पुलको संरचनामा भने अहिलेसम्म कुनै प्रत्यक्ष क्षति नपुगेको उनले जानकारी दिएका छन्।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका र भक्तपुरको मध्यपुर थिमी नगरपालिका जोड्ने यो पुल अवरुद्ध भएपछि सो क्षेत्र भएर आउजाउ गर्ने यात्रु तथा सवारीसाधनहरू प्रभावित भएका छन्। जोखिम घटाई मर्मतसम्भार नगरेसम्मका लागि वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीय प्रशासन र नगर प्रहरीले सर्वसाधारणलाई आग्रह गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया