असोज १२, २०८३ सोमबार September 28, 2026

अविरल वर्षाले विद्युत् संरचनामा क्षति

विद्युत् संरचनामा क्षति पुग्दा केही विद्युत् उत्पादन केन्द्र आकस्मिक रूपमा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न विद्युत् संरचनामा क्षति पुग्दा केही विद्युत् उत्पादन केन्द्र आकस्मिक रूपमा बन्द भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले अवरुद्ध भएका उत्पादन केन्द्रमध्ये केही सञ्चालनमा आउन समय लाग्ने भए पनि वितरण केन्द्र तथा ग्रिड सञ्चालन महाशाखाको सक्रियतामा अधिकांश स्थानमा विद्युत् आपूर्ति पुनः सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी क्षेत्रमा समेत विद्युत् लाइन सुचारु गर्न प्राविधिक टोली परिचालन गरिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार सहायक कम्पनीमार्फत प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ । टर्बाइन फ्लोरमा पानी पसेकाले सरसफाइपछि आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ । आयोजनाको स्विचयार्डको अवस्था भने सामान्य रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ ।

दाना–कुस्मा प्रसारण लाइनमा क्षति पुगेका कारण सातवटा जलविद्युत् आयोजना गरी कुल १९० मेगावाट विद्युत् प्रसारण हुन सकेको छैन । राहुघाट सबस्टेसनसँग जोडिएका आयोजनामध्ये ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना बाहेक १२७ मेगावाट उत्पादन सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।

प्रणालीबाट बाहिर रहेका आठवटा विद्युत् आयोजनाको कुल क्षमता २३० मेगावाट रहेको छ । यसैगरी, बाढीका कारण सेती–मादी करिडोरमा अवरुद्ध २६२ मेगावाट तथा मस्र्याङ्दी करिडोरमा अवरुद्ध १९० मेगावाट क्षमताका जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । बाढीका कारण अवरुद्ध १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना पनि आज साँझसम्म सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।

कालीगण्डकी करिडोरको प्रसारण लाइनमा क्षति

प्राधिकरणका अनुसार कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुस्मा प्रसारण लाइनको म्याग्दीस्थित टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिग्रस्त स्थानलगायत अन्य क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने बाटो अवरुद्ध रहेकाले प्रसारण लाइनमा पुगेको क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

केही क्षेत्रमा विद्युत् आपूर्ति अझै अवरुद्ध

वर्षाका कारण मनाङ, बागलुङ, मुस्ताङ, तनहुँको झापुटार सबस्टेसन क्षेत्र तथा प्युठानलगायतका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

म्याग्दी, तनहुँको कुटार सबस्टेसन क्षेत्र, बागलुङ र पूर्वी रुकुमलगायतका क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन भइसकेको छ । बाँकी प्रभावित क्षेत्रमा मङ्गलबारसम्म विद्युत् आपूर्ति सुचारु गर्ने गरी प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

सुख्खायाममा २३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान

प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब एक हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ । माग र आपूर्तिबीच सन्तुलन कायम गर्न भारतबाट विभिन्न माध्यममार्फत थप एक हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ ।

ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट तथा आरटिसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ । यसअनुसार सुख्खायाममा कुल दुई हजार ३७२ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरिएको छ । गत वर्ष सुख्खायाममा नेपालको उच्चतम राष्ट्रिय विद्युत् माग दुई हजार २९२ मेगावाट रहेको थियो ।

भोटेकोशी–त्रिशूली बाढीबाट ७४ अर्बको प्रारम्भिक क्षति

यसैबीच, गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘बी’ को २२० केभी हबमा पुगेको क्षति तथा विभिन्न जलविद्युत् आयोजनामा भएको क्षतिका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको प्राधिकरणले जनाएको छ ।

बाढीबाट नेपाल विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीका विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा करिब रु ७४ अर्ब बराबरको प्रारम्भिक क्षति भएको अनुमान गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार