असोज ११, २०८३ आइतबार September 27, 2026

सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

भोटेकोशी बाढी उद्धारमा नेपाली सेनाको भूमिका अतुलनीय र ऐतिहासिक रहेको निष्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ असोजः नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा सङ्गठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ ।

प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच सम्पूर्ण उद्धार अभियान सम्पादन गरिएको सेनाले स्पष्ट पारेको छ ।

भोटेकोशी बाढीले राष्ट्रिय सङ्कट व्यवस्थापनमा विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तरनिकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।”

रसुवा बाढीपछिको एक महिनाको अवधिमा गरिएका खोज तथा उद्धार, स्वास्थ्य सेवा प्रदान र प्रभावित क्षेत्रको जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनाका प्रयासबारे सेनाले राष्ट्रिय समाचार समिति (रासस)लाई उपलब्ध गराएको दस्तावेजमा विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङभित्र गरिएको उद्धार भएको ठम्याइँ छ ।

भोटेकोशी बाढीः खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेपाली सेना

गत भदौ १० गते भोटेकोशीमा गएको विनासकारी बाढीले नदी आसपासका तटीय क्षेत्रमा अपूरणीय क्षति पुर्यायो । यस अप्रत्यासित जलप्रकोपका कारण स्थानीय मानव बस्ती, सडक पूर्वाधार, पुलहरू तथा जलविद्युत् आयोजना क्षणभरमै लेदोमा बिलिन हुन पुगे ।

यस्तो विकराल र विषम राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले आफ्नो उत्कृष्ट मानवीय दायित्व निर्वाह गर्दै आपत्कालीन खोज, उद्धार तथा विपद् व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह ग¥यो । विपद्को खबर प्राप्त हुनासाथ रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र पूर्वी नवलपरासीलगायत इलाकामा तैनाथ सैनिक युनिट तत्काल उद्धार कार्यका लागि खटिएका थिए । विषम परिस्थितिमा उद्धार अभियानलाई चुस्त बनाउन नौ हजार ३०० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिनुका साथै कम्पोजित क्विक रियाक्सन टिम (सिक्युआरटी) र आपत्कालीन मेडिकल टिमसहित तुरुन्त चारवटा हेलिकप्टर खोज तथा उद्धारका लागि खटाइएका थिए । भौगोलिक विकटता र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएको चुनौतीपूर्ण स्थितिमा सेनाले हवाई उद्धार, जमिनी उद्धार, टनेल उद्धार, स्वास्थ्य सेवा तथा सडक सञ्जाल पुनस्र्थापनामा द्रुतगतिमा कार्य अगाडि बढाइरहेको छ ।

भौगोलिक जटिलता र सडक सञ्जाल पूर्ण रूपमा बिच्छेद भएको परिस्थितिमा नेपाली सेनाले हवाई मार्गलाई प्राथमिक माध्यम बनायो । एमआई–१७ लगायत सातवटा सैनिक हेलिकप्टर र निजी क्षेत्रका हवाई साधनलाई रणनीतिक रूपमा परिचालन गरिएको थियो । त्रिशूली र धुन्चेमा बेस स्थापना गरी एयर ट्राफिक कन्ट्रोल (एटिसी) सञ्चालनसहित दैनिक १५ देखि २२ वटा हेलिकप्टरमार्फत एक हजार ६०० भन्दा बढी उडानहरू भएका छन् ।

यस हवाई अभियानबाट कुल चार हजार २४२ जना (तीन हजार ९५९ नेपाली र १२ देशका २८३ विदेशी नागरिक)को सकुशल उद्धार भएको छ । यसका साथै टिमुरे, स्याफ्रुबेँसी, मैलुङ र हाकुबेँसीजस्ता स्थानमा हजारौँ किलो खाद्यान्न, औषधि, रासन र अक्सिजन सिलिन्डर एयरलिफ्ट तथा ड्रोनबाट पठाउनुका साथै टनेल क्षेत्रमा खोज तथा उद्धारका लागि अतिआवश्यक उपकरण लैजान स्लिङ अपरेसनसमेत सञ्चालन गरिएको थियो ।

रसुवागढीदेखि नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा जमिनी खोज तथा उद्धारकार्यलाई उत्तिकै तीव्रताका साथ अगाडि बढाइ नेपाली सेनाले नदी किनार, जङ्गल, डाँडाकाँडा र सडक बिच्छेद तथा बाढीबाट बढी प्रभावित तुप्चे, दानसिङ, कालिकास्थान, स्याफ्रुबेँसीलगायत बस्तीमा निरन्तर पैदल गस्ती सञ्चालन गरी शव सङ्कलन र स्थानीय निकायसँग समन्वय र सहकार्य गरी परिस्थितिको बारेमा जानकारी सङ्कलन गरिएको थियो ।

अप्ठ्यारो भूभागमा सम्भावित स्थानको पहिचान गर्न थर्मल ड्रोन तथा आधुनिक उपकरणको प्रयोग गरी रेकीसमेत भएका छन् । जमिनी उत्खनन र खोजीका क्रममा फेलापरेका एक हजार ४५१ वटा शवको व्यवस्थापनमा सहयोग गरेको छ । स्थानीय प्रशासन, स्थानीय निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सबै सरोकारवाला पक्षसँग समन्वय र सहकार्यमा यी कार्यहरु भएका छन् ।

यस विपद् प्रतिकार्यको सबैभन्दा जटिल र साहसिक अध्याय जलविद्युत् आयोजनाका पुरिएका सुरुङहरूभित्र गरिएको उद्धारकार्य हो । जलविद्युत् आयोजनाको सुरुङ इलाकाबाट दुई हजार ७९८ र बाढीको लेदो, माटो र ठूला चट्टानले पुरिएका सुरुङबाट निरन्तर रूपमा गरिएको अथक प्रयासपश््चात सात जनाको जीवितै उद्धार गर्न सफल भएको छ । त्रिशूली–३ ‘ए’ मा ड्रिलिङ मेसिन, एक्स्काभेटर, रक ब्रेकर र नियन्त्रित विस्फोटमार्फत क्राउन हेड खोली, अक्सिजन पम्प गरेर भदौ १९ गते सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ । माथिल्लो त्रिशूली–१ बाट अडिट सुरुङको २२५ मिटर गहिराइबाट रबर बोट र थर्मल क्यामेराको प्रयोग गरी चिनियाँ नागरिकको सफल उद्धार गरिनुका साथै जम्मा ३७ वटा शवसमेत सङ्कलन भएका थिए ।

खोज तथा उद्धार टोलीद्वारा करिब एक हजार ५० मिटर वैकल्पिक बाटो खोली चिलिमे सुरुङको ब्रेकथ्रुपश्चात् पाँचवटा शव तथा मानव अङ्ग सङ्कलन गर्नुका साथै रसुवागढी र त्रिशूली–३ ‘बी’ आयोजनामा उत्खनन गरी खोज तथा उद्धारकार्य भएको छ । छिमेकीलगायत अन्य मित्र राष्ट्रहरुको जनशक्ति तथा प्रविधिसहित नेपाली सेनासँग संयुक्त रूपमा टनेलहरूमा खोज तथा उद्धारकार्यमा संलग्न भएका थिए ।

त्यसैगरी, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्यका अतिरिक्त बाढी प्रभावित नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राख्दै सेनाले त्रिशूली र धुन्चेमा आपत्कालीन उपचार केन्द्र तथा मेडिकल गस्ती सञ्चालन गर्यो, जसबाट तुरुन्त बाढीबाट घाइते र अन्य गरी चार हजार तीन जनाले प्रत्यक्ष चिकित्सा सेवा प्राप्त गरे । सुरुङ तथा भौगोलिक रूपमा विकट इलाकामा गम्भीर घाइते अवस्थामा फेलापरेका नागरिकलाई हेलिकप्टरमार्फत छाउनीस्थित वीरेन्द्र अस्पताल पुर्याएर आपत्कालीन उपचार प्रदान गरियो । विस्थापितहरूका लागि अस्थायी आवास र होल्डिङ सेन्टरमा स्वास्थ्य सेवा प्रदान गर्नुका साथै महामारी फैलन नदिन स्थानीय निकायसँगको समन्वयमा निसङ्क्रमण अपरेसन सञ्चालन गरिएको थियो ।

खोज तथा उद्धारकार्य, स्वास्थ सेवा प्रदानका साथसाथै प्रभावित जनजीवनलाई सामान्य बनाउन पूर्वाधार पुनस्र्थापनामा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्याएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदीमा करिब ६० मिटर लम्बाइ र ६० टन भार क्षमताको एक्रो ब्रिज पाँच दिनको निरन्तर प्रयासमा जडान गरी भदौ २५ गतेदेखि सञ्चालनमा ल्याइयो । स्याफ्रुबेँसी–चिलिमे र इन्द्रेणी घाटमा तुइन तथा काठका अस्थायी फट्के निर्माण गरिए । बेत्रावतीमा बेलीब्रिज निर्माणकार्य अगाडि बढाउने क्रममा विष्फोटक पदार्थ प्रयोग गरी पुल निर्माण गर्ने स्थानसम्म जाने बाटो निर्माण भइहेको छ ।

समग्रमा, रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा नेपाली सेनाको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रह्यो । सम्पूर्ण उद्धार अभियान प्रतिकूल र तीव्रगतिमा बदलिने मौसम, पहाडी तथा साँघुरो उडान क्षेत्र, सीमित हेलिप्याड, अवरुद्ध सञ्चार, नदीको अनिश्चित बहाव, निरन्तरको पहिरो तथा सुरुङभित्र थुप्रिएको लेदो र ठूला चट्टानजस्ता अत्यधिक उच्च जोखिमका बीच कार्यसम्पादन गरिएको थियो । आफ्नै परिवार तथा सैनिकसमेत विपद्बाट प्रभावित रहेको अवस्थामा पनि नेपाली सेनाले कर्तव्यलाई सर्वोच्च प्राथमिकता दिँदै नागरिकको जीवनरक्षाका लागि निरन्तर अग्रपङ्क्तिमा रही खोज तथा उद्धार कार्य सञ्चालन गरिएको छ ।

विशेषतः हाइड्रोपावरको साँघुरो र जोखिमपूर्ण सुरुङभित्र करिब १७० मिटर गहिराइसम्म प्रवेश गरी लेदो, चट्टान, सीमित स्थान तथा थप जोखिमको सम्भावनाबीच गरिएको जीवित उद्धार नेपाली सेनाको अदम्य साहस, उच्च व्यावसायिक दक्षता, टोलीगत समन्वय र जोखिम वहन गर्ने सैनिक चरित्रको कारणले सम्भव भएको देखिन्छ ।

राष्ट्रिय सङ्कट व्यवस्थापनमा

विपद् प्रतिकार्यलाई सामान्य प्रशासनिक कामका रूपमा नभई उच्च जोखिम, अनिश्चितता र अन्तर–निकाय समन्वय आवश्यक पर्ने संयुक्त कार्यका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको छ । सङ्कटको जुनसुकै कठिन घडीमा पनि अग्रपङ्क्तिमा खटिएर नेपाली सेनाले प्रदर्शन गरेको अदम्य साहस तथा मानवीय समर्पण राष्ट्रका लागि गौरव, प्रेरणा र भविष्यका विपद् प्रतिकार्यका लागि महत्त्वपूर्ण दृष्टान्तका रूपमा रहनेछ ।

साथै, विपद् प्रतिकार्यमा नेपाल सरकारको निर्देशनबमोजिम नेपाली सेनालगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन, स्थानीय निकाय र स्थानीय समुदायबीच समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको प्रष्ट देखिएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया