काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार कतारको दोहा प्रस्थान गरेका छन्। एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी)को सञ्चालक समितिको ११औं वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री डा. वाग्ले दोहा प्रस्थान गरेका हुन्।
सोमबार र मंगलबार दोहामा हुने बैठकमा मन्त्री वाग्लेसहित अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख, सहसचिव अमृत लम्साल सहभागी हुदै छन्।
एआईआईबीको वार्षिक बैठकका क्रममा अर्थमन्त्रीले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण, र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्ने अर्थ मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा अर्थमन्त्रीले एआईआईबीका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरुसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
अर्थमन्त्री डा. वाग्ले असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया