असोज १२, २०८३ सोमबार September 28, 2026

राष्ट्रियसभाः विपद् व्यवस्थापनदेखि संवैधानिक आयोगका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको अर्को बैठक यही असोज १५ गते बिहीबार अपराह्न १ः१५ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १२ असोजः राष्ट्रियसभाका सदस्यहरुले सदनप्रतिको जवाफदेहिता तथा संवैधानिक आयोग थप सशक्तिकरणका विषयमा सरकारको ध्यानार्कषण गराउनुभएको छ ।

सभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषय, बाढीपहिरोबाट भएको क्षति, चाडपर्वमा बजार अनुगमनलगायतका विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराउनुभएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्तीदेवी राईले चार दिनको लगातारको वर्षाले देशका विभिन्न स्थानमा पारेको प्रभावबारे सरकारको ध्यानाकर्षण गराउँदै क्षतिग्रस्त तथा अवरुद्ध राष्ट्रिय राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले नजिकिँदै गरेको चाडपर्वमा खाद्यान्न, नुन, तेललगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि तथा कृत्रिम अभाव हुन नदिन बजार अनुगमन बढाउन माग गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनारले मन्त्रीहरु सदनमा आउन गाह्रो मान्ने गरेको टिप्पणी गर्दै सरकार सदनप्रति जवाफदेही हुनुपर्ने धारणा राख्नुभयो । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाउनुभयो ।

नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको विषयमा आपत्ति जनाउँदै विधिको शासनलाई सर्वोपरि मानेर सरकार अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । नेकपा (एमाले) का सांसद मीना सिंह रखालले विपद्को पूर्वसूचना प्राप्त भएपछि नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा उद्धारका लागि पूर्वतयारीमा जोड दिनुभयो । उहाँले बाढीपहिरोबाट सडक, घर तथा पुलमा क्षति पुगेको उल्लेख गर्दै आगलागीका घटनामा प्रभावितलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

नेकपा (एमाले) का सांसद सोमनाथ पोर्तेलले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउन माग गर्नुभयो । उहाँले बेपत्ताको खोजी, घाइतेको शीघ्र उपचार तथा विस्थापित परिवारलाई पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै जनता समाजवादी पार्टी, नेपालका सांसद मोहम्मद खालिदले संवैधानिक आयोगलाई थप सशक्त बनाउन माग गर्नुभयो । उहाँले रिक्त पदमा पदाधिकारी नियुक्तिको प्रक्रिया अविलम्ब अघि बढाउन, आयोगलाई पर्याप्त बजेट उपलब्ध गराउन तथा आयोग गाभ्ने वा खारेज नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । संवैधानिक आयोगका सिफारिस अनिवार्य कार्यान्वयनका लागि समेत उहाँले आग्रह गर्नुभयो ।

आजकै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज १५ गते बिहीबार अपराह्न १ः१५ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२०८३ असोज १२, सोमबार