असोज १५, २०८३ बिहिबार October 1, 2026

‘पेन क्लिनिक’ प्रभावकारी बन्दै

बिरामीको अवस्था र दुखाइको कारण अनुसार औषधी तथा अन्य उपचार विधि प्रयोग गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज १५ गते । ईश्वरी महत थापा २२ वर्षदेखि ढाड र दाहिने खुट्टाको दुखाइबाट पीडित हुनुहुन्थ्यो । पेसाले स्वास्थ्यकर्मी थापाले सुरुमा चाबहिलस्थित निजी अस्पतालमा उपचार गराउनुभयो । केही समय आराम भए पनि समस्या पुनः दोहोरिएपछि उहाँले काठमाडौँकै अर्को निजी अस्पतालमा उपचार गराउनुभयो । त्यहाँबाट पनि समस्या समाधान नभएपछि राष्ट्रिय ट्रमा सेन्टरको ‘पेन क्लिनिक’ मा चार महिनादेखि उपचार गराइरहनुभएकी थापाको दुखाइ निकै कम भएको छ । “पहिले हातले टेकेर हिँड्नुपर्ने अवस्था थियो । अहिले स्वास्थ्य संस्था जानेदेखि अन्य कामका लागि राम्रोसँग हिँडडुल गर्न सक्छु । पहिल्यै ट्रमा सेन्टरको ‘पेन क्लिनिक’ मा जानुपर्ने रहेछ,” उहाँले भन्नुभयो ।

यस्तै केही महिनाअघि रुखबाट लडेर घाइते हुनुभएका दीपक भुजेललाई लामो समयसम्म दुखाइले सतायो । विभिन्न प्रकारका दुखाइ कम गर्ने औषधी सेवन गर्दा पनि दुखाइ सहन नसकेपछि राष्ट्रिय ट्रमा सेन्टरको ‘पेन क्लिनिक’ मा पुग्नुभयो । चिकित्सकको सल्लाह अनुसार दुखाइ कम गर्ने उपचार पाएपछि अहिले उहाँको दुखाइ धेरै कम भएको छ । “धेरै समयदेखि दुखाइ थियो । पेनकिलर खाँदा पनि ठिक नभएपछि ट्रमा सेन्टरमा उपचार गराएँ, अहिले धेरै आराम भएको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय ट्रमा सेन्टरका पेन फिजिसियन डा. पवनकुमार हमालले कुनै पनि कारणले भएको दुखाइ तीन महिनाभन्दा बढी समयसम्म रह्यो भने त्यसलाई दीर्घकालीन दुखाइ अर्थात् ‘क्रोनिक पेन’ का रूपमा लिन सकिने बताउनुभयो । उहाँले तीन महिनाभन्दा बढी समयसम्म दुखाइ रह्यो भने त्यसको कारण पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ‘पेन क्लिनिक’ मा बिरामीको दुखाइको प्रकृति, स्थान, अवधि तथा यसअघि गरिएको उपचारका विषयमा विस्तृत जानकारी लिएर उपचार प्रक्रिया अघि बढाइने बताउनुभयो ।

डा. हमालले बिरामीको अवस्था र दुखाइको कारण अनुसार औषधी तथा अन्य उपचार विधि प्रयोग गरिने बताउनुभयो । केही बिरामीलाई इन्जेक्सनमार्फत उपचार गर्न सकिने भन्दै उहाँले आवश्यकता अनुसार अप्रेसन थिएटरमा लगेर विभिन्न प्रक्रिया गर्नुपर्ने जानकारी दिनुभयो । इन्जेक्सन तथा रेडियोफ्रिक्वेन्सी एब्लेसनलगायत प्रविधिबाट निश्चित प्रकारका दुखाइको उपचार गर्न सकिने डा. हमालको भनाइ छ ।

उहाँका अनुसार ट्रमा सेन्टरको ‘पेन क्लिनिक’ मा चोटपटकपछि लामो समयसम्म दुखाइको समस्या भएका, ढाड तथा जोर्नीको दुखाइ भएका र कुनै अङ्ग गुमाएका बिरामीसमेत आउने गरेका छन् । ट्रमामा बिरामीको विगतको उपचार, स्वास्थ्य अवस्था र दुखाइको कारण अध्ययन गरेर उपचार गरिन्छ । उहाँले पछिल्लो समय दक्षिण एसियामा दीर्घकालीन दुखाइको समस्या बढ्दै गएको र त्यससँगै ‘पेन क्लिनिक’ को अवधारणासमेत विस्तार हुँदै गएको जानकारी दिनुभयो । लामो समयसम्म दुखाइ सहेर बस्नुभन्दा त्यसको कारण पहिचान गरी सम्बन्धित विशेषज्ञबाट उपचार गराउनुपर्ने उहाँको सुझाव छ ।

लामो समयदेखि दुखाइबाट पीडित भएका बिरामीलाई लक्षित गरी राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण, पाटन, भक्तपुर क्यान्सरलगायत अस्पतालमा दुखाइसम्बन्धी उपचार हुने गरेको छ । विशेष गरी चोटपटक, शल्यक्रिया, ढाड तथा जोर्नीको समस्या, क्यान्सरलगायत विभिन्न कारणले हुने दीर्घकालीन दुखाइको पहिचान र उपचारका लागि ‘पेन क्लिनिक’ प्रभावकारी बन्दै गएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया