काठमाडौं । चाडबाडको मुखमा चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका अवरुद्ध भएका छन् । दशैँ-तिहारको मुखमा बाढी र पहिरोले चीनसँग जोडिएका प्रमुख तीनवटै नाकाहरू अवरुद्ध भएका हुन् । गत भदौ १० गतेको भोटेकोशी बाढीले संघीय राजधानी काठमाडौंबाट सबैभन्दा नजिक पर्ने रसुवागढी नाका ध्वस्त भएको थियो । रसुवागढीको नाका ध्वस्त भएपछि विकल्पका रूपमा प्रयोग भइरहेको कोरला नाका पनि तीन दिनको झरीले अवरुद्ध भएको हो । अर्को प्रमुख नाका हो सिन्धुपाल्चोकको तातोपानी एक महिनादेखि नै बन्द छ । नाका बन्द हुँदा सयौँ मालवाहक कन्टेनरहरू बाटोमै अलपत्र परेका छन् । चाडपर्वकै बेला प्रमुख नाका बन्द भएपछि यसको प्रभाव बजारमा पर्ने व्यवसायीहरू बताउँछन् ।
नेपाली बजारमा लत्ताकपडादेखि विभिन्न खाद्यान्न सामाग्रीहरूसम्म चीनबाट आयात गरिँदै आएको छ । झन् चाडपर्वका बेला चीनबाट दुई/तीन महिना पहिलेदेखि नै ठूलो परिमाणमा सामानहरू ल्याइने गरिएको छ । तर, पछिल्लो दुई/तीन महिनायता चीनसँगका प्रमुख नाका पटक-पटक अवरुद्ध हुँदै महिनौँदेखि मालसामान बाटोमै अलपत्र अवस्थामा छन् । बाटो अवरुद्ध भएपछि अर्बौंको मालसामान बाटोमै अलपत्र परेको व्यवसायीहरूको भनाइ छ ।
ऋण लिएर व्यापारीहरूले चाडपर्वको लागि मगाएको सामान पनि बाटोमै रोकिँदा व्यापारीलाई मारमा पारेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताउनुभयो । उहाँका अनुसार अर्बौंको मालसामान बाटोमै अलपत्र अवस्थामा छ । कति चीनतर्फ छन्, कति नेपाल भित्रिए । नेपाल भित्रिएका पनि बाटोमै रोकिएका छन् । हजारभन्दा बढी मालवाहक कन्टेनरहरू बाटोमै अलपत्र परेको उहाँको भनाइ छ ।
यी प्रमुखबाहेक पनि विभिन्न जिल्लाहरूमा पनि नाका छन् । तर, ती नाकाहरूबाट ठूलो परिमाणमा व्यापार भएको छैन । सीमित मात्रामा सीमित ठाउँका लागि मात्रै सानो परिमाणका कारोबार हुँदै आएको छ । बाटोको कारण पनि प्रमुख तीन नाकाबाहेक अन्य नाकाहरूबाट मालबाहक कन्टेनरहरू ल्याउन मुस्किल छ । यसबाहेक हवाई मार्ग मात्र बाँकी छ, जसमा सबै मालसामान ल्याउन सकिन्न ।
कुन नाकाको अवस्था के छ ?
गत भदौ १० मा आएको भोटेकोशीको बाढीले रसुवागाढी नाका बगाएको थियो । रसुवागढी नाका तत्काल सञ्चालनमा आउने कुनै सम्भावना छैन । भोटेकोशीमा आएको बाढीपछि तातोपानी नाका पनि अनिश्चित कालका लागि बन्द गरिएको थियो । त्यसपछि कहिले खुल्ने टुंगो लागेको छैन । तातोपानी नाकामा नेपालतर्फ डेढ सयभन्दा बढी खाली कन्टेनरहरू लाइनमा छन् । यता, कोरला नाका पनि बाढीले अवरुद्ध भएको हो । कालिगण्डकीमा आएको बाढीले कालिगण्डकी कोरिडोरका तीन पुलको एप्रोच सडक बगाएको छ । तनहुँ र नवलपरासी जोड्ने डेढ गाउँको पुल, मालढुंगाको पुल र म्याग्दीको पोखरेबगर र भुरुङ-तातोपानी जोड्ने पुलको एप्रोच सडक बाढीले बगाएको हो ।
भदौ १२ गतेदेखि तातोपानी नाका पनि पूर्णरूपमा बन्द गरिएको छ । तातोपानी नाका पनि कहिले खुल्ने भन्ने केही टुंगो छैन । रसुवामा बाढीपछि नाका बन्द गरिएको थियो । अब कहिले खुल्छ भन्ने कुनै जानकारी नआएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले बताउनुभयो । चीन र नेपालको सबैभन्दा पुरानो व्यापारिक नाका तातोपानीतर्फको बाटो पटक-पटक अवरुद्ध हुँदै आएको थियो । तर, अहिले बाटोमा कुनै पनि समस्या छैन । चीनले पहिरोको जोखिम बढेको भन्दै सिन्धुपाल्चोकको यो नाका बन्द गरेको हो । तातोपानी नाका खुलाउनका लागि व्यवसायीहरूले निरन्तर माग गरे पनि दुई देशबीचको उच्च तहमा प्रभावकारी कूटनीतिक संवाद हुन नसकेको आयातकर्ता र व्यवसायीहरूको गुनासो छ ।
उत्तरी सीमाका तीनवटै नाका एकसाथ अवरुद्ध हुनु र समुद्री मार्गबाट सामान ल्याउन लामो समय लाग्ने र ढुवानी लागत पनि अत्यधिक लाग्ने भएपछि यो वर्षको दशैँ निकै महँगो बन्ने सम्बन्धित आयातकर्ता र व्यवसायीहरूले बताएका छन् ।
समुद्र र हवाई मार्गबाट सामान ल्याउन सम्भव छ ?
उत्तरी नाकाहरूमा आएको अवरोधले मालसामानको ढुवानी लागत अस्वाभाविक रूपमा बढेको छ । यसको सोझो असर बजारको मूल्यमा पर्ने गरेको छ । व्यवसायीहरूका अनुसार सामान्य अवस्थामा रसुवागढीबाट काठमाडौंसम्म एउटा कन्टेनर सामान ढुवानी गर्दा व्यवसायीले करिब एक लाख रुपैयाँ भाडा तिर्दै आएका थिए । तर, कोरला नाका प्रयोग गर्दा सडकको दूरी लामो, बाटो अत्यन्तै अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण ढुवानी भाडा प्रतिकन्टेनर चार लाखदेखि साढे पाँच लाख रुपैयाँसम्म पुगेको छ । सडक मार्ग पूर्णरूपमा अवरुद्ध भएपछि समुद्री मार्गबाट सामान ल्याउने विकल्प छ । तर, दशैँतिहार मुखमै आइसकेकाले अब समुद्री नाकाबाट सामान ल्याउन सम्भव नहुने उनीहरूको भनाइ छ ।
चीनका विभिन्न बन्दरगाहबाट सिंगापुर हुँदै भारतको कोलकाता बन्दरगाह भएर नेपाल सामान ल्याउन सामान्य अवस्थामा पनि ३० देखि ४५ दिन लाग्छ । अनि भाडा पनि झण्डै दोब्बर बढी पर्छ । अर्कोतर्फ हवाई मार्गबाट सामान ल्याउने विकल्प झनै असम्भवप्रायः छ । हवाई कार्गोबाट सामान ल्याउँदा प्रतिकिलो १२०० देखि १३०० रुपैयाँसम्म खर्च लाग्छ । यति महँगो भाडा तिरेर लत्ताकपडा वा घरायसी सामान ल्याएर नेपालको बजारमा बेच्न सम्भव नै नहुने व्यवसायी बताउँछन् ।
आपूर्ति प्रभावित हुँदा उपभोक्ताको भान्सा महँगियो
बाढी-पहिरोले देशभरका विभिन्न सडक अरुद्ध हुँदा संघीय राजधानी काठमाडौंको आपूर्ति शृंखला नै प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा राजधानीबाहिरबाट खाद्यान्नदेखि तरकारीसम्म सहज आपूर्ति हुन सकेको छैन । यति मात्रै होइन, यसअघि नै अभाव रहेको खाना पकाउने ग्यास आपूर्तिको समस्या पनि थप बढेको छ । यसको प्रभाव उपभोक्तामा परेको छ । आपूर्ति रोकिँदा दैनिक उपभोग्य मूल्य बढेको हो । यसैको प्रभावस्वरूप काठमाडौंमा तरकारीको मूल्य अकासिएको छ । काठमाडौंमा हरियो तरकारीको भाउ नै ७० प्रतिशतसम्म बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार पछिल्लो एक सातामा सबैभन्दा बढी हरियो भटमास कोसा, गोलभेँडा, हरियो प्याज, हरियो फर्सी, साग, बन्दा लगायतका तरकारीको मूल्य बढेको छ । गएको असोज ५ गते हरियो भटमास कोसा प्रतिकिलो थोक मूल्य ११० रुपैयाँमा कारोबार भएको थियो । असोज ११ गते यसको मूल्य १९० रुपैयाँ पुगेको छ । यो मूल्य ७२.७२ प्रतिशतले बढेको हो ।
यस्तै, असोज ५ मा गोलभेँडा सानो लोकल प्रतिकिलो ३७ रुपैयाँमा कारोबार भएकामा असोज ११ गते आइपुग्दा ६५ रुपैयाँ पुगेको छ । यो ७१.५९ प्रतिशतको मूल्यवृद्धि हो । समितिका अनुसार आलु रातो भारतीयको मूल्य प्रतिकिलोमा १० प्रतिशतले बढेको छ भने रातो आलु लाम्चो ६.५२ प्रतिशतले बढेको छ । यस्तै, मुडेको रातो आलुको मूल्य भने यथावत् रहेको छ । यस्तै, प्याज सुकेको भारतीय ५.५६ प्रतिशतले वृद्धि भएको छ भने बन्दा लोकल २३.८१ प्रतिशतले बढेको छ ।हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया