काठमाडौं : १५औँ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको मूल नेतृत्व ५० वर्ष वरिपरिको छ । पार्टी सभापति गगनकुमार थापा ५० पुगिसकेका छैनन् भने उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेलसमेत ५५ वर्षमुनिका छन्। यी नेताहरूले बनाएको विधानले यसपटकको महाधिवेशन युवामय भएको छ ।
महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको वडा, स्थानीय तह, प्रदेश क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न हुने चरणमा छ । यी अधिवेशनमा युवालाई कोटा नै छुट्याएकाले क्षेत्रीय प्रतिनिधिदेखि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको संरचनामा र महाधिवेशन प्रतिनिधिसमेत गरी ३५ वर्षमुनिका ३५ हजार युवाहरू समेटिने भएका हुन् ।
यस महाधिवेशनमा कांग्रेसले युवा र महिलाका लागि विशेष योजना ल्याएको कांग्रेसले जनाएको छ । गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनबाट पार्टीको विधान परिमार्जन गर्दै युवाको प्रतिनिधित्व अनिवार्य बनाएको हो । यसले पार्टीमा युवाको उत्साह थपिएको छ । विधानमा वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म युवाको निश्चित प्रतिनिधित्व सुनिश्चित गरिएसँगै ३५ वर्षमुनिका करिब ३५ हजार युवाहरू अधिवेशनबाट पार्टी संरचनामा सहभागी हुनेछन् ।
नेपाली कांग्रेसको चालु विधानबमोजिम प्रत्येक वडाबाट ३५ वर्षमुनिका एक महिलासहित तीन जना युवालाई प्रतिनिधि बनाउनुपर्ने अनिवार्य व्यवस्था छ । त्यस्तै, वडा कार्यसमितिमा एक जना ३५ वर्षमुनिका युवालाई सहभागी गराउनुपर्नेछ ।
यसरी हेर्दा ६ हजार ७४३ वडाबाट न्यूनतम चार जना पार्टी संरचनामा आउँदा २६ हजार ९७२ जनाको सहभागिता रहनेछ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाहरूमा एक जना युवा थपिनेछन् । त्यस्तै, २५० जनाभन्दा बढी क्रियाशील सदस्यता रहेका वडाहरूमा एक जना थप युवा क्षेत्रीय प्रतिनिधि हुन पाउनेछन ्। कोटाबाहेक पनि ३५ वर्ष उमेर समूहका युवाहरू वडा तथा पालिकास्तरीय संरचनामा आएका छन् । यसले युवा प्रतिनिधिको संख्या थपिने नेपाली कांग्रेस निर्वाचन समितिले जनाएको छ । समग्रमा पार्टीका विभिन्न संरचनामा रहेर काम गर्ने ३५ वर्षमुनिका ३५ हजार युवाहरूले काम गर्ने अवसर पाउनेछन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सुधारिएको कांग्रेसमा नयाँ ऊर्जासहित युवापुस्ताको अनिवार्य व्यवस्थापनले युवा आकर्षण बढेको बताए। ‘हामीले यसपटक विधानमै वडा कार्यसमितिदेखि केन्द्रीय कार्यसमितिसम्म अनिवार्य युवा आरक्षणको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘यसले पार्टीमा नवयुवाको आकर्षण बढेको छ । १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका करिब ३५ हजार युवा पार्टीको नेतृत्वदायी संरचनामा आरक्षित रूपमा प्रवेश गर्दैछन् ।’ कांग्रेसले ३५ वर्षमुनिका युवाहरूलाई विभिन्न तहमा कोटा नै तोकेर प्राथमिकतामा राखी सहभागिताको ग्यारेन्टी गरेको उनको भनाइ छ ।
नेपाली कांग्रेसको विधान २०१७ मा एघारौँ पटक संशोधन गरी युवा प्रतिनिधित्व सुनिश्चित गरिएको हो । परिवर्तित विधानमा कांग्रेसको गाउँपालिका वडा कार्यसमितिमा ३५ वर्षमुनिको एक युवा अनिवार्य हुने व्यवस्था गरिएको छ ।
त्यस्तै, नगर/उपमहानगर/महानगरपालिका वडा कार्यसमितिमा ३५ वर्षमुनिका दुई युवा अनिवार्य हुने व्यवस्था गरिएको छ । गाउँपालिकाका वडाबाट जाने क्षेत्रीय प्रतिनिधिमा तीन युवा र नगर/उपमहानगर/महानगरपालिका वडा क्षेत्रबाट जाने क्षेत्रीय प्रतिनिधिमा एक महिलासहित तीन युवा अनिवार्य हुने व्यवस्था गरिएको छ ।
गाउँपालिका कार्यसमितिमा एक महिलासहित ३५ वर्षमुनिका तीन जना युवा, नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा एक महिलासहित ३५ वर्षमुनिका तीन जना युवा, प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा ३५ वर्षमुनिका एक युवा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा ३५ वर्षमुनिका एक महिलासहित दुई जनाको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था विधानमा गरिएको छ ।
४६० गाउँपालिकाका कार्यसमितिमा एक हजार ३८० युवा अटाउने छन ्। २७६ नगरपालिकाका कार्यसमितिमा ८२८ युवा अटाउने छन्। ११ उपमहानगरपालिका कार्यसमितिमा ३३ युवा र ६ महानगर कार्यसमितिमा १८ युवा समेटिएका छन् । ३३० प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा ३३० जना र १६५ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा ३३० जना युवाहरू समावेश हुने निश्चित भएको छ ।
त्यस्तै, १६५ निर्वाचन क्षेत्रबाट एउटा निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जनाका दरले महाधिवेशन प्रतिनिधि छानिँदा ४९५ जना युवा महाधिवेशन प्रतिनिधि छानिएर आउने छन् । प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट एक महासमिति सदस्य युवा छान्नुपर्ने अनिवार्य व्यवस्था राखिएकाले १६५ महासमिति सदस्य पनि युवा हुनेछन् ।
प्रत्येक जिल्ला कार्यसमितिमा ३५ वर्षमुनिका युवामध्येबाट एक महिलासहित तीन जना प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था विधानमा राखिएकाले ७७ जिल्ला कार्यसमितिमा २३१ युवा समावेश हुने निश्चित छ ।
त्यस्तै, पार्टीको प्रदेश कार्यसमितिमा ३५ वर्षमुनिका युवा दुई महिलासहित सात जना अनिवार्य राख्नुपर्ने व्यवस्था भएकाले सातवटा प्रदेश कार्यसमितिमा ४९ युवा अटाउने छन् । केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुला सात जना गरी २१ जना सदस्य निर्वाचित गर्ने व्यवस्था विधानमा गरिएको छ ।
विधान र व्यावहारिक हिसाबले हेर्दा पनि अहिले नेपाली कांग्रेस पार्टी स्वाभाविक रूपमा चार पुस्ताका मानिसहरूको संयोजनमा स्थापित छ । ६५ देखि ८० वर्ष उमेर समूहको पहिलो पुस्ता, ५० देखि ६५ वर्षको दोस्रो पुस्ता, ३५ देखि ५० वर्षको तेस्रो पुस्ता र १८ देखि ३५ वर्ष उमेर समूहको चौथो पुस्ता कांग्रेसमा छन् ।
विधानमा गरिएको यो व्यवस्थाले पार्टीमा अघि सारिएको पुस्तान्तरणको नीतिलाई व्यावहारिक प्रयोग गरिएको महामन्त्री गुरुराज घिमिरेले बताए । ‘पार्टीमा नेतृत्व हस्तान्तरण गर्दै युवालाई नेतृत्वमा पु¥याउने वैधानिक व्यवस्थालाई हामीले यो महाधिवेशनमा व्यावहारिक प्रयोग गरेका छा ैँ। यसले पार्टीमा युवाहरूले नेतृत्व लिने आधार निर्माण हुँदै जाने विश्वास छ,’ उनले भने ।
कांग्रेसले महिला, दलित, जनजाति, पिछडिएको क्षेत्र, खसआर्यसहित अन्य क्षेत्रलाई यसअघि विधानमै व्यवस्था गरेर आरक्षण दिएको थियो । यसपटक युवालाई आरक्षण दिएको हो ।
१५औँ महाधिवेशनपूर्व चालु अधिवेशनका कार्यक्रमहरू अविरल वर्षापछिको सम्भावित जोखिमलाई हेरेर असोज १२ गतेसम्मका लागि बन्द गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १० गते हुने अधिवेशनहरू असोज १३ गतेका लागि सारिएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यी अधिवेशन सम्पन्न भएलगत्तै असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन गर्नका लागि आवश्यक तयारीका कामहरू भइरहेका छन् । महाधिवेशन उद्घाटनका लागि खुलामञ्चमा र निर्वाचन कार्यक्रम, भोजनलगायत आवश्यक व्यवस्थापन प्रयोजनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहका हल तथा प्राङ्गण बुकिङ गरिसकेको छ ।
केन्द्रीय महाधिवेशनपश्चात् जिल्ला र प्रदेशको अधिवेशन गर्ने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया