असोज ११, २०८३ आइतबार September 27, 2026

कांग्रेसको १५औँ महाधिवेशन : गगन थापाद्वारा १५ व्यवस्थापन समिति गठन, इतर समूहको छुट्टै तयारी

मौजुदा अवस्थामा टोलबाहेक ६ वटा कार्यसमितिहरू सक्रिय रहेका छन् र ती सबैमा युवा अनिवार्य हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारी एकदमै तीव्र पारिएको छ । यही असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन पार्टीका विभिन्न तहका संरचनाहरू सक्रिय भएर लागेका छन् । महाधिवेशनको सम्पूर्ण व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन पार्टी सभापति गगनकुमार थापाको नेतृत्वमा विभिन्न १५ वटा महत्त्वपूर्ण समितिहरू निर्माण गरिएका छन् ।

अर्कोतर्फ, पार्टीभित्रको आन्तरिक राजनीतिक विवादका कारण संस्थापनइतर मानिएको पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने समानान्तर रूपमा छुट्टै महाधिवेशनको अभ्यास अघि बढाएको छ । एउटै पार्टीभित्र दुईवटा महाधिवेशनको तयारी भइरहेकाले यसपटक कांग्रेसको महाधिवेशन विशेष चासोको विषय बनेको छ ।

थापाको नेतृत्वमा विभिन्न समितिलाई पूर्णता

नेपाली कांग्रेसले महाधिवेशन जस्तो ठूलो कार्यक्रमलाई सफल बनाउन कामको बाँडफाँड गर्दै विभिन्न समितिहरूलाई पूर्णता दिएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले औपचारिक रूपमा विज्ञप्ति जारी गर्दै महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन यी समितिहरू गठन गरिएको जानकारी दिनुभएको हो । मुख्यतया सम्पूर्ण तयारीको अनुगमन र निर्देशन गर्नका लागि पार्टी सभापति गगनकुमार थापाको आफ्नै संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको छ । यस उच्चस्तरीय समितिमा पार्टीका प्रभावशाली नेताहरू विश्वप्रकाश शर्मा, पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, उमेश श्रेष्ठ, महालक्ष्मी उपाध्याय डिना, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य रहनुभएको छ । यसैगरी, समितिको सदस्य सचिवको जिम्मेवारी प्रताप पौडेललाई दिइएको छ ।

विशेषगरी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका र पछि संस्थापन पक्षमा आउनुभएका नेताहरूलाई पनि यसपटक महाधिवेशन व्यवस्थापनमा महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ । उनीहरूले यसपटक केन्द्रीय सदस्यकै भूमिकामा जिम्मेवारी पाएका हुन् । पूर्व–सहमहामन्त्रीसमेत रहनुभएकी डिना र मीनबहादुर विश्वकर्मा जस्ता नेताहरूले पनि महत्त्वपूर्ण जिम्मेवारी पाउनुभएको छ । त्यस्तै, महाधिवेशनको आर्थिक पाटोलाई पारदर्शी र व्यवस्थित बनाउन आर्थिक व्यवस्थापन समितिको संयोजकमा उमेश श्रेष्ठलाई चयन गरिएको छ । पार्टीको सूचना प्रवाहलाई प्रभावकारी बनाउन सूचना सञ्चार तथा प्रविधि समितिमा देवराज चालिसे, सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिमा उदयशमशेर राणा र अतिथि स्वागत समितिमा डा. डिला संग्र्रौला पन्तलाई संयोजक तोकिएको छ ।

महाधिवेशन समारोह स्थलको सम्पूर्ण व्यवस्थापन गर्ने जिम्मा काठमाडौं जिल्ला सभापतिलाई दिइएको छ । प्रदेश तथा स्थानीय तहगत समन्वयमा बहादुरसिंह लामा, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वयमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापनमा गणेश लामालाई संयोजक बनाइएको छ । बहादुरसिंह लामा र गणेश लामा पनि पछिल्लो समय संस्थापन समूहमा जोडिनुभएका नेताहरू हुनुहुन्छ । यसका साथै, भोजन व्यवस्थापनमा तिलक रानाभाट, आवास व्यवस्थापनमा रमेशप्रसाद धमला, स्वास्थ्य समितिमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर र सांस्कृतिक तथा साहित्यिक संयोजनमा सीता गुरुङलाई संयोजकको जिम्मेवारी दिइएको छ । उनीहरू सबैले आ-आफ्नो जिम्मेवारी अनुसारको काम सुरु गरिसकेका छन् ।

क्षेत्रीय अधिवेशन धमाधम सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत तल्लो तहका निर्वाचनहरू पनि धमाधम भइरहेका छन् । असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको यो प्रक्रियाअन्तर्गत अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय स्तरका अधिवेशनहरू आयोजना गरिएका छन् । देशका विभिन्न भागमा परेको अत्यधिक वर्षाका कारण काठमाडौं लगायतका केही निर्वाचन क्षेत्रमा अधिवेशन स्थगित गर्नुपरे पनि ललितपुरलगायत अधिकांश स्थानमा पूर्वनिर्धारित तालिकाअनुसार नै क्षेत्रीय अधिवेशनहरू सम्पन्न भएका छन् । कांग्रेस निर्वाचन समितिले वर्षाका कारण रोकिएका ठाउँमा सहजता हेरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्नसक्ने गरी लचिलो विकल्प दिएको छ ।

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरू चयन हुने व्यवस्था रहेको छ । यसैगरी, प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् । पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरू भने पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक-एकजना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुईजना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एकजना रहने व्यवस्था गरिएको छ । निर्वाचन समितिले संघीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्ने जानकारी दिएको छ ।

प्रमुख दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण

महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन कांग्रेसले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा आमन्त्रण गरेको छ । सहमहामन्त्री उदयशमशेर राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रत्यक्ष भेटेरै आतिथ्यताका लागि निमन्त्रणा पत्र हस्तान्तरण गरिसक्नु भएको छ । उहाँहरूलाई असोज १६ गते हुने उद्घाटन समारोहमा आमन्त्रण गरिएको हो । यसका साथै, छिमेकी मुलुकहरूबाट पनि अन्तर्राष्ट्रिय अतिथिहरूलाई बोलाउने तयारी भइरहेको पार्टीका एक पदाधिकारीले जानकारी दिनुभएको छ । उहाँहरूको उपस्थितिले महाधिवेशन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

इतर समूहमा, ‘जेन-जी’ युवालाई अनिवार्य अवसर

एकातिर पार्टी सभापति गगन थापा नेतृत्वको कांग्रेसले काठमाडौंमा महाधिवेशन गर्दै छ भने अर्कोतर्फ पूर्वसभापति शेरबहादुर देउवाको समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई नै आधिकारिक मान्दै समानान्तर रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाएको छ । देउवा समूहले जारी महाधिवेशन प्रक्रियामा आफूलाई सामेल गराएको छैन । यस समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमै आफ्नो केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । यसका लागि असोज १५ गते देशभरका वडाहरूमा वडा अधिवेशन गर्ने तयारी चुनदेवीस्थित सम्पर्क कार्यालयले जनाएको छ । यो समूहले १५औँ महाधिवेशनको सम्पूर्ण तयारीका लागि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिसमेत गठन गरिसकेको छ । यस समितिले देशका ७६ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ । उनीहरू यो तयारीमा निकै सक्रिय भएर लागेका छन् ।

यस समानान्तर अभ्यासभित्र सबैभन्दा सकारात्मक र नयाँ पक्ष भनेको युवा पुस्ताको अनिवार्य प्रतिनिधित्वलाई लिइएको छ । इतर समूहले पार्टीका ६ वटै तहका कार्यसमितिहरूमा १८ वर्षदेखि २८ वर्ष उमेर समूहका नवयुवाको प्रतिनिधित्व गराउने महत्त्वपूर्ण निर्णय गरेको छ । एकराज पोख्रेलको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिले तयार गरिरहेको १५औँ महाधिवेशन निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका सबै संरचनामा युवालाई अनिवार्य आरक्षण दिने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्मको उमेर समूहका एकजना महिला र एकजना पुरुषलाई अनिवार्य रूपमा समावेश गर्नुपर्ने छ ।

कांग्रेसको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ-नगर, वडा र टोल गरी आठ तहका कार्यसमितिहरू गठन हुने व्यवस्था छ । मौजुदा अवस्थामा टोलबाहेक ६ वटा कार्यसमितिहरू सक्रिय रहेका छन् र ती सबैमा युवा अनिवार्य हुनेछन् ।

समावेशी अन्तर्गतका क्लस्टरबाट निर्वाचित हुने प्रतिनिधिहरूमा पनि सकेसम्म एकजना महिला र एकजना पुरुष यही नवयुवा उमेर समूहबाट हुनुपर्ने कडा प्रावधान राखिएको छ । यदि कुनै कारणले कुनै स्थानमा यो उमेर समूहका युवा नभेटिएर पद खाली हुन गएको खण्डमा भने पार्टीको काममा बाधा नपुगोस् भनेर अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्न सकिने लचिलो व्यवस्था पनि निर्देशिकामा प्रष्ट पारिएको छ ।

कांग्रेस महाधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा हो : डा. शशांक कोइराला

नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेता डा. शशांक कोइरालाले पार्टीको आसन्न १५औँ महाधिवेशन केवल नेतृत्व चयन गर्ने औपचारिकता नभई कांग्रेसको आगामी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा संस्थापन इतर पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले कांग्रेसको विचार र इतिहास गौरवमय रहेको उल्लेख गर्दै आन्तरिक एकता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले महाधिवेशनलाई गम्भीरतापूर्वक लिएर नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्नुपर्ने बताउनुभयो । महाधिवेशनले पार्टीको मात्र नभई देशको भविष्य निर्माणका लागि समेत मार्गदर्शन गर्ने उहाँको भनाइ थियो । डा. कोइरालाले नेपाली कांग्रेस लामो इतिहास र बलियो वैचारिक आधार बोकेको पार्टी भएको बताउँदै विगतको अनुभवलाई नयाँ जोश र ऊर्जासँग जोडेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताउँदै आन्तरिक मतभेदलाई थाती राखेर सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महाधिवेशन सफल बनाउन पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सामूहिक सहभागिता र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । अधिवेशनको तयारीमा खटिएका नेता-कार्यकर्ताको योगदानको प्रशंसा गर्दै डा. कोइरालाले साझा प्रयासबाट मात्रै पार्टीले आगामी दिनको स्पष्ट मार्ग तय गर्न सक्ने बताउनुभयो ।

इतर पक्षले समितिलाई बुझायो सात लाख ८३ हजार क्रियाशील सदस्यको विवरण

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई हस्तान्तरण गरेको छ । पार्टीको सांगठनिक सुदृढीकरण तथा महाधिवेशन प्रक्रिया व्यवस्थित बनाउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको इतरपक्षले जनाएको छ । सोही क्रममा क्रियाशील सदस्यता वितरण तथा नवीकरणलाई सहज बनाउन नयाँ वेबसाइटसमेत सार्वजनिक गरिएको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार कुल सात लाख ८३ हजार ८३६ क्रियाशील सदस्यको विवरण तयार पारिएको छ । त्यसमध्ये पाँच लाख ७३ हजार २६९ जना पुराना सदस्यको सदस्यता नवीकरण गरिएको र दुई लाख १० हजार ५६७ जना नयाँ सदस्य थपिएका छन् ।

उहाँले अघिल्ला महाधिवेशनमा क्रियाशील सदस्यताको विवादका कारण अधिवेशन प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै यसपटक सबै विवरण व्यवस्थित रूपमा निर्वाचन समितिलाई बुझाइएको बताउनुभयो ।

कार्यक्रममा वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले चार दिनको छोटो अवधिमा वेबसाइट तयार गरिएको जानकारी दिँदै त्यसमा उच्चस्तरको साइबर सुरक्षा व्यवस्था गरिएको दाबी गर्नुभयो । हाल नयाँ सदस्यताका लागि लक्षित गरिएको वेबसाइटलाई भविष्यमा थप व्यवस्थित र विस्तार गरिने जनाइएको छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया