काठमाडौं । नेपाली जनताको लोकतान्त्रिक माग र अभिभारा पूरा गर्ने उद्देश्यसहित ‘लोकतान्त्रिक न्यूक्लियस, नेपाल’ स्थापना गरिएको घोषणा गरिएको छ। संस्थापक बसन्त बोगटी र हरिकृष्ण गजुरेलले बुधबार काठमाडौंको दरबारमार्गस्थित होटल उल्याण्डमा घोषणापत्र सार्वजनिक गर्दै नयाँ लोकतान्त्रिक पहल अघि बढाइएको बताएका छन्।
घोषणापत्रमा पुरानो व्यक्तिवादी राजनीतिक प्रणाली नेपाली जनताको लोकतान्त्रिक आकांक्षा पूरा गर्न असफल भएको दाबी गरिएको छ। लामो समय लोकतान्त्रिक आन्दोलनमा संघर्ष गरेका नेताहरूको त्याग र योगदान अपेक्षित परिणाममा रूपान्तरण हुन नसकेको उनीहरूको भनाइ छ।
घोषणापत्रमा जातीय तथा लैङ्गिक विभेद, उत्पीडन, आर्थिक असमानता, बेरोजगारी, आर्थिक संकट, भ्रष्टाचार, कर तथा महँगीको भारलगायत समस्या जनताले व्यहोर्नुपरेको उल्लेख छ। शिक्षा, स्वास्थ्य र न्यायजस्ता आधारभूत क्षेत्रमा समेत व्यापारिकरण बढेको भन्दै त्यसको अन्त्य आवश्यक रहेको बताइएको छ।
त्यस्तै, अत्यधिक कार्बन उत्सर्जन र जलवायु संकटका कारण भोटेकोशी–त्रिशूली बाढीजस्ता विपद् निम्तिएको दाबी गर्दै जलवायु न्याय, समानता र सामाजिक न्यायका लागि नयाँ लोकतान्त्रिक आन्दोलन आवश्यक रहेको घोषणापत्रमा उल्लेख गरिएको छ।
संस्थापकद्वयले वास्तविक लोकतन्त्र सत्ता, मुद्रा र सम्पत्तिको लोकतान्त्रीकरणमा आधारित हुनुपर्ने धारणा अघि सारेका छन्। गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, न्याय तथा प्राकृतिक स्रोत–साधनमा जनताको पहुँच र लोकतान्त्रीकरणलाई लोकतन्त्रको आधारका रूपमा प्रस्तुत गरिएको छ।
घोषणापत्रमा लोकतान्त्रिक संविधान, विधिको सर्वोच्चता, सुशासन, जनकल्याण, समानता, पारदर्शिता, जवाफदेहिता, जनसहभागिता र समावेशितालाई लोकतन्त्रका आधारस्तम्भका रूपमा उल्लेख गरिएको छ। जनता नै लोकतन्त्रको सार्वभौम स्रोत र वास्तविक उत्तराधिकारी भएको दाबीसमेत गरिएको छ।
नेपालको सार्वभौमसत्ता तथा सामाजिक सन्तुलनको रक्षा गर्न शान्तिपूर्ण नयाँ पहल र राष्ट्रिय संवाद आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ। ‘जनता र लोकतन्त्रको सन्तुलन’ कायम गर्न नयाँ लोकतान्त्रिक आन्दोलन आवश्यक रहेको भन्दै नयाँ लोकतान्त्रिक राज्य निर्माणलाई मूल अभिष्ट बनाइएको संस्थापकद्वयले बताएका छन्।
घोषणामा लोकतान्त्रिक आन्दोलनमा जीवन आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली तथा आन्दोलनमा योगदान पुर्याउने योद्धाहरूप्रति सम्मान व्यक्त गरिएको छ।
बोगटी र गजुरेलले आफूहरूको सम्पूर्ण जीवन लोकतान्त्रिक आन्दोलनमा समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्। घोषणापत्रमा उनीहरू दुवैले हस्ताक्षर गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया