असोज २८, २०८३ बुधबार October 14, 2026

भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि

हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हो ची मिन्ह सिटी, भियतनाम, २८ असोज (रासस/एएफपी) : भियतनामले दशकौँ पुरानो युद्धका क्रममा मारिएका तथा बेपत्ता भएका सैनिकहरूको खोजी अभियानअन्तर्गत फेला परेका ७३१ जनाको अवशेषको बुधबार सामूहिक अन्त्येष्टि गरेको छ ।

हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फूल बोकेका थिए भने केहीले दिवंगत सैनिकहरूको आत्माको शान्तिका लागि प्रार्थना गरेका थिए ।

सैनिक अधिकारीहरूका अनुसार सन् १९६८ मा कम्युनिस्ट विद्रोहीमाथि गरिएको सैन्य कारबाहीका क्रममा मारिएका योद्धाहरूको अवशेष सहरस्थित ले थी रिएङ पार्कबाट उत्खनन गरिएको हो । उक्त स्थानमा व्यक्तिगत तथा सामूहिक चिहानहरू रहेको बताइएको छ ।

भियतनाम सरकारले युद्धमा बेपत्ता भएका सैनिकहरूको पहिचान र अवशेष खोज्न गत मार्चमा ५०० दिने राष्ट्रिय अभियान सुरु गरेको थियो । यसलाई देशको इतिहासकै सबैभन्दा ठूलो खोजी अभियानमध्ये एक मानिएको छ ।

सात लाखभन्दा बढी सैनिक अझै बेपत्ता

सन् १९४५ देखि १९७५ सम्म फ्रान्स र त्यसपछि अमेरिका तथा उसका सहयोगीहरूसँग भएका युद्धका क्रममा करिब १२ लाख भियतनामी सैनिक मारिएको अनुमान छ । देशभर करिब दुई लाख ३० हजार सैनिकका चिहानमा अझै पहिचान खुल्न नसकेको बताइएको छ । हजारौँ सैनिकका अवशेष दुर्गम जङ्गल, खेतबारी तथा पुराना युद्धस्थलमा गाडिएको अनुमान गरिएको छ ।

सरकारले सन् २०२७ जुलाईसम्म थप ७ हजार सैनिकका अवशेष फेला पार्ने लक्ष्य राखेको छ । यसका लागि भियतनाम, लाओस र कम्बोडियाका पुराना युद्धस्थलमा विशेषज्ञ तथा सैनिक परिचालन गरिएको छ ।

डीएनए परीक्षणबाट पहिचानको प्रयास

बेपत्ता सैनिकको पहिचान गर्न अधिकारीहरूले अवशेषबाट डीएनए नमुना सङ्कलन गरिरहेका छन् । साथै, पहिचान हुन नसकेका चिहानबाट नमुना लिने र सैनिकका आफन्तको आनुवंशिक विवरण सङ्कलन गरी राष्ट्रिय डीएनए डेटाबेस तयार गर्ने काम भइरहेको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार ले थी रिएङ पार्कबाट फेला परेका सैनिकमध्ये एक जना हुयन्ह भान क्वेनको पहिचान भइसकेको छ । सन् १९६८ मा युद्धमा सहभागी भएका क्वेनको अवशेषसँग भेटिएको नाम लेखिएको कागज र आफन्तको डीएनए परीक्षणका आधारमा उहाँको पहिचान गरिएको हो ।

तर समय बित्दै जाँदा अवशेष कुहिने र सैनिकका जीवित आफन्तको मृत्यु हुँदै जाने भएकाले पहिचान कार्य थप कठिन बन्दै गएको अधिकारीहरूले बताएका छन् ।

आफन्तका लागि अन्तिम आशा

६८ वर्षीय दोआन भान कोङले सन् १९५० मा फ्रान्सेली सेनासँगको युद्धमा मारिएका आफ्ना काकाको खोजीमा परिवारले वर्षौँ बिताएको बताउनुभयो । विभिन्न चिहानस्थलमा पुग्ने र प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने गरे पनि उनीहरूले अहिलेसम्म काकाको अवशेष फेला पार्न सकेका छैनन् ।

सरकारको पछिल्लो खोजी अभियानले भने परिवारमा नयाँ आशा जगाएको छ । कोङका अनुसार सरकारी अभियान आफन्तको अवस्थाबारे सत्य पत्ता लगाउने आफ्नो परिवारको ‘अन्तिम आशा’ बनेको छ । भियतनाम सरकारले युद्धमा बेपत्ता भएका सैनिकहरूको पहिचान गर्नु केवल प्रशासनिक काम नभई राष्ट्रप्रतिको कर्तव्य र मानवीय दायित्व भएको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
२०८३ असोज २८, बुधबार
लेबनानमा घर गुमाएका परिवारलाई हिजबुल्लाहले १४ हजार डलरसम्म क्षतिपूर्ति दिने
२०८३ असोज २८, बुधबार
उपभोक्ता हित संरक्षण र यातायात व्यवस्थापनमा प्रदेश सरकारको जोड
२०८३ असोज २८, बुधबार
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
२०८३ असोज २८, बुधबार
विद्युत् व्यापार विस्तार र प्रसारण क्षमता वृद्धि सरकारको प्राथमिकतामा
२०८३ असोज २८, बुधबार
चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
२०८३ असोज २८, बुधबार
नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो
२०८३ असोज २८, बुधबार