कार्तिक २, २०८३ सोमबार October 19, 2026

ट्रम्पको इन्धन मूल्य घटाउने प्रयास : रुससँग डिजेल आपूर्ति सम्झौता अन्तिम चरणमा

रुससँग डिजेल सम्झौताको तयारी, हस्ताक्षर भएको १५-२० दिनमा अमेरिकी बजारमा पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को। रुस र अमेरिकाबीच प्रस्तावित डिजेल आपूर्ति सम्झौतामा हस्ताक्षर भएपछि इन्धन अमेरिकी बजारमा पुग्न १५ देखि २० दिन लाग्ने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले बताउनुभएको छ । यद्यपि, सम्झौतामा हस्ताक्षर हुने मिति भने अझै तय भएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता रुससँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता हुन लागेको घोषणा गर्नुभएको थियो । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्तालाई इन्धनको मूल्यवृद्धिबाट राहत दिने प्रयासका रूपमा उक्त सम्झौतालाई हेरिएको छ ।

रुसी सरकारी सञ्चारमाध्यम भेस्टीसँग आइतबार प्रसारित अन्तर्वार्तामा ऊर्जा क्षेत्रको जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री नोभाकले सम्झौताका व्यावसायिक सर्त र दस्तावेजलाई अन्तिम रूप दिने विषयमा वार्ता भइरहेको बताउनुभयो ।

“हाल व्यावसायिक सर्तहरू, अर्थात् सम्झौतापत्रलाई अन्तिम रूप दिने विषयमा वार्ता भइरहेको छ”, उहाँले भन्नुभयो ।

सम्झौतामा हस्ताक्षर हुने निश्चित मिति नखुलाउँदै नोभाकले हस्ताक्षरपछि १५ देखि २० दिनभित्र डिजेल अमेरिकी बजारमा पुग्ने बताउनुभयो ।

यसअघि बुधबार क्रेमलिनका अन्तरराष्ट्रिय आर्थिक सहयोगसम्बन्धी सल्लाहकार किरिल दिमित्रिभले केही दिनभित्रै सम्झौतापत्रमा हस्ताक्षर हुने बताउनुभएको थियो ।

इरानविरुद्ध अमेरिका र इजरायलले सुरु गरेको सैन्य द्वन्द्वपछि इन्धनको मूल्य बढ्दा अमेरिकामा उपभोक्ताको असन्तुष्टि बढेको छ । इन्धनको बढ्दो मूल्यले आगामी मध्यावधि निर्वाचनमा ट्रम्पको रिपब्लिकन पार्टीको चुनावी नतिजामा असर पार्नसक्ने विश्लेषण गरिएको छ ।

यद्यपि, धेरै विज्ञहरूले रुससँगको प्रस्तावित डिजेल सम्झौताले अमेरिकी उपभोक्तालाई पर्ने आर्थिक भारमा खासै ठूलो परिवर्तन नल्याउने आकलन गरेका छन् ।

अमेरिकामा दैनिक करिब ३९ लाख ब्यारेल डिजेल खपत हुने गर्छ । तर, रुससँगको प्रारम्भिक सम्झौता २२ लाख २० हजार ब्यारेल डिजेल आपूर्तिसँग सम्बन्धित छ । यो परिमाण अमेरिकाको एक दिनको खपतभन्दा पनि कम हो र देशको आधा दिनको माग धान्नसमेत पर्याप्त नहुने अनुमान गरिएको छ ।

यसले प्रस्तावित सम्झौताबाट अमेरिकी बजारमा डिजेलको आपूर्ति केही बढाउनसक्ने भए पनि समग्र इन्धन मूल्यमा उल्लेखनीय प्रभाव पार्ने सम्भावना सीमित रहेको विज्ञहरूको भनाइ छ ।(रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
होर्मुज पुनः खोल्न इरानको प्रस्ताव, अमेरिकी जवाफको समीक्षा हुँदै
२०८३ कार्तिक २, सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
२०८३ कार्तिक २, सोमबार
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक २, सोमबार
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
२०८३ कार्तिक २, सोमबार
ट्रम्पको इन्धन मूल्य घटाउने प्रयास : रुससँग डिजेल आपूर्ति सम्झौता अन्तिम चरणमा
२०८३ कार्तिक २, सोमबार
नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
२०८३ कार्तिक २, सोमबार
दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
२०८३ कार्तिक २, सोमबार