कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएको छ । यससँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या सङ्ख्या ३५ पुगेको छ ।
नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष, आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आइसियू रहेको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो ।
यसअघि अस्पतालमा १० शय्याको आइसियू सञ्चालनमा थियो । प्रतिष्ठानले रु एक करोड लगानी थपेर नयाँ कक्ष सञ्चालनमा ल्याएको हो । “सघन उपचार कक्षमा बिरामीको चाप बढिरहेका बेला अतिरिक्त उपचार कक्ष र शय्या सञ्चालन गरेका छौँ । थपिएका पूर्वाधारबाट उपचार सहज हुनेछ,” निर्देशक पोखरेलले भन्नुभयो ।
गण्डकी प्रदेशको सुविधासम्पन्न सरकारी अस्पताल यहाँ प्रदेशका ११ वटै जिल्लाका साथै अन्य जिल्लाबाट पनि बिरामी आउने गरेका छन् । यो अस्पतालले दैनिक दुई हजार बिरामीमा सेवा प्रवाह गरिरहेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया