कार्तिक ७, २०८३ शनिबार October 24, 2026

जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

घटनामा सङ्लग्न दोषीहरूको पहिचान गरी उनीहरूलाई कानुनी दायरामा ल्याउन जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

संयुक्त राष्ट्रसङ्घ, ७ कात्तिक (सिन्ह्वा): संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत गुटेरेसले सर्वसाधारण नागरिक तथा धार्मिक स्थललाई लक्षित गरी गरिने आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “धार्मिक स्थलहरू शान्तिका केन्द्र हुनुपर्छ र त्यहाँ सबैका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।”

गुटेरेसले घटनामा सङ्लग्न दोषीहरूको पहिचान गरी उनीहरूलाई कानुनी दायरामा ल्याउनसमेत जोड दिनुभएको छ । उहाँले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको प्रवक्ता डुजारिकले जानकारी दिनुभयो ।

प्रवक्ताका अनुसार, संयुक्त राष्ट्रसङ्घले यस कठिन घडीमा जोर्डन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।

जोर्डनको कराकस्थित चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला भएको गोलीकाण्डमा सात जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । घटनापछि जोर्डन सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया