कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित, रुसले दियो जवाफी कदम चाल्ने चेतावनी

जासुसी गतिविधिमा संलग्न भएको आरोपमा अस्ट्रियाले निकाल्यो चार रूसी कूटनीतिज्ञ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भियना। अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा सङ्लग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ ।

अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो । उक्त निर्णयप्रति रुसले उचित जवाफ दिने चेतावनी दिएको छ ।

अस्ट्रियाली सुरक्षा अधिकारीहरूले उपलब्ध गराएको जानकारीका आधारमा भियनामा रहेका चार रूसी कूटनीतिज्ञविरुद्ध कारबाही गरिएको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रूसी दूतावासमा कार्यरत तीन कूटनीतिज्ञ आफ्नो कूटनीतिक हैसियतसँग असङ्गत गतिविधिमा सङ्लग्न थिए ।

त्यसैगरी, युरोपमा सुरक्षा तथा सहयोग सङ्गठन (ओएससीई) मा रहेको रूसी प्रतिनिधिमण्डलका एक सदस्य पनि यस्तै गतिविधिमा सङ्लग्न रहेको मन्त्रालयले जनाएको छ । ती चारै जनालाई अस्वीकृत व्यक्ति घोषणा गर्दै अस्ट्रियाको भू–भाग छाड्न निर्देशन दिइएको छ ।

भियनास्थित रूसी दूतावासले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त निर्णयको आलोचना गर्दै यसको उपयुक्त जवाफ दिइने चेतावनी दिएको छ ।

दूतावासले अस्ट्रियाले रुसविरोधी पश्चिमी नीतिलाई विचारहीन रूपमा पछ्याइरहेको आरोपसमेत लगाएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि युरोपका विभिन्न देशले रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएका छन् । यससँगै पश्चिमी मुलुकहरूले रुसमाथि व्यापक आर्थिक तथा अन्य प्रतिबन्धहरू पनि लगाएका छन् ।

यसै वर्ष सेप्टेम्बरमा हङ्गेरीले प्रधानमन्त्री पिटर मग्यारको नेतृत्वमा रूसी कूटनीतिक नियोगका १० सदस्यलाई देशबाट निष्कासन गरेको थियो । हङ्गेरीले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न उक्त कदम चालिएको जनाएको थियो ।

अस्ट्रियाले पनि सन् २०२२ यता पटक–पटक रूसी कूटनीतिज्ञहरूलाई निष्कासन गर्दै आएको छ । यद्यपि, अन्य केही युरोपेली देशको तुलनामा त्यहाँ निष्कासन गरिएका कूटनीतिज्ञको सङ्ख्या कम रहेको छ ।

अस्ट्रिया युरोपेली सङ्घको सदस्य भए पनि सैन्य रूपमा तटस्थ राष्ट्र हो र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्य होइन । देशको तुलनात्मक रूपमा कमजोर जासुसीसम्बन्धी कानुनी व्यवस्थाका कारण भियनालाई रूसी गुप्तचर गतिविधिको प्रमुख केन्द्रका रूपमा समेत चित्रण गरिँदै आएको छ । (रासस/एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञ निष्कासित, रुसले दियो जवाफी कदम चाल्ने चेतावनी
२०८३ कार्तिक ७, शनिबार
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
२०८३ कार्तिक ७, शनिबार
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार