कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

जेलेन्स्की र रुबियोबीच रक्षा सहयोग तथा शान्ति प्रयासबारे छलफल

जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि दुवै नेताबीच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच मङ्गलबार टेलिफोन वार्ता भएको छ । वार्तामा युक्रेनलाई रक्षा सहयोग उपलब्ध गराउने तथा रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाउने विषयमा छलफल भएको जेलेन्स्कीले बताएका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै वार्ताका क्रममा ब्यालेस्टिक मिसाइल रोक्ने प्रतिरक्षा प्रणाली उपलब्ध गराउने, रुसी ब्यालेस्टिक मिसाइल आक्रमणबारे पूर्वसूचना दिने व्यवस्था गर्ने तथा स्टारलिङ्क र स्टारसिल्ड सेवा पुनः सञ्चालनमा ल्याउने आवश्यकताबारे कुराकानी भएको जानकारी दिएका छन् ।

त्यसैगरी, जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासलाई अघि बढाउने विषयमा पनि दुवै नेताबीच छलफल भएको उनले उल्लेख गरे । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न देखाएको तत्परता र स्पष्ट अडानका लागि रुबियोलाई धन्यवाद दिएका छन् । उनले टेलिफोन वार्तालाई ‘अर्थपूर्ण’ र ‘रचनात्मक’ भएको बताए ।

दुवै नेताले पछिल्लो अवस्थाबारे जानकारी आदानप्रदान गर्न छिट्टै पुनः कुराकानी गर्ने सहमति पनि जनाएका छन् । यसअघि आइतबार जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनरसँग शान्ति प्रक्रियाका विषयमा छलफल गरेका थिए । रुस–युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक पहल जारी रहेका बेला युक्रेनले आफ्नो रक्षा क्षमता सुदृढ गर्न अमेरिकासँग सहयोग मागिरहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया