कार्तिक २, २०८३ सोमबार October 19, 2026

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनद्वारा निन्दा

कट्टर वामपन्थी नेता जिन–लुक मेलेनचोनद्धारा अवस्था नियन्त्रणबाहिर जान सक्ने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पेरिस। फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले तोडफोड, लुटपाट र आगजनीको निन्दा गर्दै आवश्यक परे प्रदर्शन र्‍यालीमा प्रतिबन्ध लगाउने बताउनुभएको छ । तर उहाँले आपत्कालीन अवस्था वा कर्फ्यु घोषणा गर्नुभएको छैन ।

गृह मन्त्रालयका अनुसार शनिवारको प्रदर्शनका क्रममा करिब दुई हजार चार सय जना पक्राउ परेका छन् भने झन्डै एक हजार प्रहरी तथा सैनिक प्रहरी घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्था गम्भीर छ । प्रदर्शनका क्रममा नगरपालिकाका भवनमा आगजनी तथा सयौँ व्यवसायमा लुटपाट र तोडफोड भएको छ ।

म्याक्रोनले वैध माग राखेर प्रदर्शन गर्ने र हिंसा तथा लुटपाटमा संलग्न हुनेहरूबिच भिन्नता गर्नुपर्ने बताउनुभयो । उहाँले सहरहरूमा अनियन्त्रित हिंसा फैलाउने अपराधी तथा अतिवामपन्थी समूहविरुद्ध कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आइतबार पेरिसमा प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र स्तब्ध पार्ने ग्रेनेड प्रहार गरेको थियो । अधिकारीहरूका अनुसार प्रहरीमाथि बोतल र ढुङ्गा प्रहार भएको थियो । राजधानीमा १०८ जना पक्राउ परेका छन् भने रिपब्लिक स्क्वायर आसपास कम्तीमा पाँच पसल लुटिएका छन् । लियोनमा पनि पसल लुट्ने प्रयासका क्रममा झडप भएको छ ।

आगामी राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भएको हिंसाले राजनीतिक बहससमेत चर्काएको छ । दक्षिणपन्थी नेसनल र्‍याली पार्टीकी नेतृ मरिन ले पेनले घटनाले म्याक्रोनको प्रशासन कमजोर र दिशाहीन भएको देखाएको टिप्पणी गर्नुभएको छ । कट्टर वामपन्थी नेता जिन–लुक मेलेनचोनले पनि अवस्था नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिनुभएको छ । म्याक्रोनले भने हिंसाको सट्टा बहसमा आधारित निर्वाचन हुनुपर्ने बताउनुभयो ।

प्रदर्शनमा मजदुर सङ्गठन, ‘यल्लो भेस्ट’ आन्दोलनका सहभागी र विद्यार्थी सहभागी भएका थिए । उनीहरूले जीवनयापनको बढ्दो लागत तथा युवाहरूको भविष्यप्रतिको चिन्ता व्यक्त गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हिंसाका लागि आप्रवासनलाई दोष दिनुभएको छ ।

म्याक्रोनले प्रभावित व्यवसायलाई सहयोग गर्ने र सुरक्षा निकायको कारबाहीबारे पारदर्शिता अपनाउने बताउनुभयो । उहाँले गृहमन्त्री लरेन्ट नुनेजलाई विशेषगरी सुरक्षा सूचना सङ्कलन र घटनाको पूर्वानुमानमा देखिएका कमजोरीबाट आवश्यक पाठ सिक्न निर्देशन दिनुभएको छ ।

लिमोजिसमा १९औँ शताब्दीमा निर्मित नगरपालिकाको भवन आगलागीमा नष्ट भएको छ भने लियोनको पर्यटक सूचना कार्यालयमा पनि आगजनी गरिएको छ । सेन्ट–एटिनेमा भिड नियन्त्रणका क्रममा प्रयोग गरिएको ग्रेनेड लागेर १७ वर्षीय किशोरको दाहिने हात उडेको छ । मुलहाउसमा १७ वर्षीया किशोरीले आँखाको दृष्टि गुमाएको अभियोजनकर्ताहरूले बताएका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक २, सोमबार
हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
२०८३ कार्तिक २, सोमबार
सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती
२०८३ कार्तिक २, सोमबार
श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
२०८३ कार्तिक २, सोमबार
फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार
सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
२०८३ कार्तिक २, सोमबार
दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो
२०८३ कार्तिक २, सोमबार