कार्तिक २, २०८३ सोमबार October 19, 2026

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक अनुष्ठान तथा भोजभतेरमा दुनाटपरीको प्रयोग हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

पाल्पा, २ कात्तिकः वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२ का सात महिलाले दुनाटपरी उद्योग सञ्चालन गरेका छन् । परम्परागत सीपलाई व्यावसायिक रूप दिएपछि उनीहरूका लागि रोजगारी र आम्दानीको अवसर सिर्जना भएको छ ।

चार लाख लगानीमा सञ्चालन गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’बाट दैनिक एक हजार दुनाटपरी उत्पादन हुँदै आएको उद्योगकी अध्यक्ष कल्पना पौडेलले बताउनुभयो । उहाँका अनुसार उद्योगबाट मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको छ ।

गाउँघरमा महिलाहरू भेला भएर सालका पातबाट दुनाटपरी बनाउने परम्परालाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक उत्पादन सुरु गरिएको पौडेलले बताउनुभयो । मेसिनबाट बनाइएका दुनाटपरी हातले बनाइएकाभन्दा आकर्षक र बलिया हुने उहाँ बताउनुहुन्छ ।

“दुनाटपरी उत्पादनले महिलालाई आम्दानीको अवसर दिएको छ । यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न पनि सहयोग पु¥याएको छ,” उहाँले भन्नुभयो ।
गाउँका वनमा सालका रूख प्रशस्त भए पनि पात संकलन गर्ने जनशक्ति अभाव हुँदा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको पौडेलले बताउनुभयो । पात संकलन गरेर मात्रै पनि दैनिक रु पाँच सयदेखि रु एक हजारसम्म कमाउन सकिन्छ ।

“लाफा बनाउने र टपरी उत्पादन गर्ने कामबाट पनि राम्रै आम्दानी भइरहेको छ । घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा दुनाटपरी बनाएर बिक्री गर्दा घरखर्च चलाउन सहयोग पुगेको छ,” पौडेलले भन्नुभयो ।

उद्योग सञ्चालनमा आएपछि पहिले घरमै समय बिताउने महिलाहरू नियमित रूपमा उत्पादनमा संलग्न हुन थालेका छन् । सामूहिक रूपमा काम गर्दा सीप आदानप्रदान हुनुका साथै आम्दानीको अवसर पनि सिर्जना भएको सञ्चालक मञ्जु रेग्मीले बताउनुभयो ।

उद्योगबाट उत्पादित सानो दुनाको खुद्रा मूल्य प्रतिगोटा रु दुई र थोकमा १०० वटाको रु १९० मा बिक्री हुने गरेको छ । चारकुने टपरी खुद्रामा प्रतिगोटा रु सात र थोकमा रु छ मा बिक्री गरिन्छ । लाफा खुद्रामा रु १३ र थोकमा रु ११ मा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो ।

उत्पादित दुनाटपरीको माग स्थानीय बजारमा मात्रै सीमित छैन । बाहिरी जिल्लाबाट पनि माग आउने गरेको रेग्मीले बताउनुभयो । बजारका चाट पसल तथा पूजासामग्री पसलसँग सम्पर्क गरेर उत्पादन बिक्री गर्ने गरिएको छ ।

“सुरुआती चरणमै धेरैले उत्पादन मन पराउनुभएको छ । गाउँगाउँबाट दिदीबहिनीहरूले पात ल्याउनुहुन्छ । बर्खामा पात पाउन कठिन हुने भएकाले अहिले नै संकलन गरेर गोदाममा राखेका छौँ,” रेग्मीले भन्नुभयो । यो उद्यममा लागेपछि महिलाको आयस्रोत बढेको छ । पहिले टपरी बुन्न सिकेका महिलाहरू अहिले मेसिनको सहायताले आफैँ दुनाटपरी उत्पादन गर्न सक्षम भएका छन् ।

बजारमा दुनाटपरीको माग बढ्दै गए पनि कच्चा पदार्थ र मेसिनको अभावमा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको उद्यमीहरू बताउँछन् । सालका रूख प्रशस्त भएका वन क्षेत्रमा पात संकलन गर्ने जनशक्ति अभाव हुँदा उत्पादन प्रभावित हुने गरेको छ ।

उद्योगकी सचिव कल्पना पोखरेल खनालले वडा कार्यालयबाट एउटा मेसिन सहयोग प्राप्त भए पनि बजारको मागअनुसार उत्पादन बढाउन थप सहयोग आवश्यक रहेको बताउनुभयो । स्थानीय सरकारले थप मेसिन उपलब्ध गराउनुका साथै कच्चा पदार्थ व्यवस्थापनमा सहयोग गरे उद्योग विस्तार गर्न सहज हुने उहाँको भनाइ छ ।

“पहिले घरमा बसेर दिन बित्थ्यो, अहिले दिदीबहिनीहरू भेला भएर काम गर्दा आम्दानी पनि भएको छ । वनमा खेर जाने पात र खाली समयको सदुपयोग गरेर एक जनाले मासिक रु पाँच हजारसम्म कमाउने गरेका छन्,” खनालले भन्नुभयो ।

उद्योगबाट हुने आम्दानीले महिलालाई घरखर्च चलाउन र आफ्ना आवश्यकता पूरा गर्न सहयोग पुगेको छ । प्लास्टिकका भाँडाको प्रयोग घटाउन तथा वातावरणमैत्री सामग्रीको प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्ने खनालको सुझाव छ ।

विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक अनुष्ठान तथा भोजभतेरमा दुनाटपरीको प्रयोग हुँदै आएको छ । दुनाटपरी उत्पादनबाट परम्परागत सीप र संस्कृतिको संरक्षणका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न मद्दत पुगेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक २, सोमबार
हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
२०८३ कार्तिक २, सोमबार
सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी गर्दै छन्त्याल दम्पती
२०८३ कार्तिक २, सोमबार
श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
२०८३ कार्तिक २, सोमबार
फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार
सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
२०८३ कार्तिक २, सोमबार
दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो
२०८३ कार्तिक २, सोमबार