कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

वेस्ट बैंकमा पत्रकार र कूटनीतिज्ञमाथि आक्रमण, १० जना पक्राउ

अभियानमा इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेट र इजरायली सेनासमेत सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम । कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी पत्रकार र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित गरी भएका हिंसात्मक घटनाको अनुसन्धानका क्रममा इजरायली प्रहरीले १० जना संदिग्धलाई पक्राउ गरेको छ ।

इजरायली प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा सप्ताहन्तमा भएका घटनाको अनुसन्धानका क्रममा पक्राउ गरिएको जनाएको छ। घटनामा द वाशिंगटन पोस्ट की फोटो पत्रकार हेइडी लेभिन र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित गरी छुट्टाछुट्टै आक्रमण भएका थिए।

लेभिन वेस्ट बैंकमा प्यालेस्टिनी किसानहरूले जैतुनको बाली भित्र्याइरहेको अवस्थाको तस्बिर खिचिरहेका थिए । त्यस्तै, युरोपेली कूटनीतिज्ञहरूको टोली वेस्ट बैंकको तैबेह गाउँमा त्यहाँको अवस्थाबारे जानकारी लिन पुगेको थियो ।

समाचारअनुसार, जैतुनको बाली भित्र्याउन खोजिरहेका प्यालेस्टिनी किसानमाथि इजरायली बस्तीका बासिन्दाहरूले लगभग दैनिक जसो आक्रमण गरिरहेको विवरण सार्वजनिक भएपछि कूटनीतिज्ञहरू अवस्थाको मूल्यांकन गर्न त्यहाँ पुगेका थिए ।

इजरायली प्रहरीका अनुसार, ‘अपरेसन ओलिभ लिफ’ नामक संयुक्त अभियानअन्तर्गत पक्राउ गरिएको हो । उक्त अभियानमा इजरायलको आन्तरिक सुरक्षा निकाय शिन बेट र इजरायली सेनासमेत सहभागी थिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको पहिचान सार्वजनिक गरेको छैन । यद्यपि, स्थानीय सञ्चारमाध्यमहरूले उनीहरू इजरायली बस्तीका बासिन्दा भएको जनाएका छन् ।

प्रहरीका अनुसार, मध्य वेस्ट बैंकका विभिन्न बस्तीसम्बन्धी चौकीहरूमा अभियान सञ्चालन गरिएको थियो । त्यसक्रममा घटनासँग संदिग्धहरूको सम्बन्ध पुष्टि गर्न सक्ने प्रमाण तथा केही सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका व्यक्तिहरूमाथि लगाइएका आरोप र घटनासम्बन्धी थप विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया