कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

नैतिकताको कसीमा ‘न्यायमूर्ति’

नेपालमा रकम जम्मा गर्नुपर्ने भए सानिमा बैंकमा रहेको कविता पाण्डेको खातामा जम्मा गर्न सकिने विकल्प पनि उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । न्यायपालिकाको सर्वोच्च निकायका ‘न्यायमूर्ति’हरूमाथि फेरि अर्को गम्भीर नैतिक प्रश्न उठेको छ । देशको सर्वोच्च न्यायालयको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश र न्यायाधीशको नाम बिचौलियासँग जोडिएपछि न्यायमूर्तिहरू स्वयं नैतिकताको कसीमा उभिएका हुन् ।

प्रकरणमा न्यायमूर्ति मात्रै होइन, सत्तारूढ दलकै सांसदसमेत रहेका पूर्वएआइजी विश्वराज पोखरेलको नाम पनि जोडिएको छ । प्रहरी हिरासतमा रहेका बिचौलिया भनिएका इनम सापकोटाको मोबाइल डेटाबाट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पोखरेलको नाममा अमेरिका र नेपालका बैंकहरूमा घुस रकम जम्मा गर्ने गरिएको गम्भीर प्रमाण फेलापरेको हो ।

यसैगरी, सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयाल र बिचौलिया सापकोटाबीच भएको ह्वाट्सएप संवादमार्फत विवादास्पद कारोबारी समूहका रोहित गुप्तालाई दुई करोड रुपैयाँ धरौटी मागेको विषय र हिमालयन होटेलमा भेट्ने प्रस्ताव गरिएको कुरा बाहिर आएको छ ।

विचाराधीन मुद्दामा बिचौलिएसँग न्यायाधीशको संवाद र होटेलमा भेटघाट तय गर्नुलाई न्यायिक आचरणविपरीत गतिविधिका रूपमा हेरिएको छ । सर्वोच्च न्यायालय नागरिकले आफूलाई परेको अन्यायविरुद्ध न्याय खोज्ने अन्तिम आश्रयस्थल हो । तर, विचाराधीन मुद्दाका विषयमा न्यायाधीश र विवादास्पद पृष्ठभूमिका व्यक्तिबीच संवाद भएको विवरण सार्वजनिक हुनुले न्यायिक निष्पक्षतामाथि प्रश्न उठाएको छ । यद्यपि, प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयाल दुवैले आरोपको अस्वीकार गर्नुभएको छ । सांसद पोखरेलले पनि आफूले सापकोटालाई नचिनेको र उनीसँग कुनै सम्बन्ध नरहेको दाबी गर्नुभएको छ । नेपाल प्रहरीले अनुसन्धानसँग सम्बन्धित सामग्री सञ्चार माध्यममा सार्वजनिक भएको विषयमा विज्ञप्ति जारी गरेको छ । अनुसन्धानको गोपनीयता र निष्पक्षता कायम राख्नुपर्ने भन्दै प्रहरीले प्रकाशित विवरणको आधिकारिकता पुष्टि गर्न प्रहरीले आग्रह गरेको हो ।

के हो प्रधानन्यायाधीश र न्यायाधीश जोडिएको प्रकरण ?

थुनामा रहेका बिचौलिया भनिएका सापकोटाको मोबाइलबाट प्राप्त विवरणका आधारमा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुँयालसँग सम्बन्धित फरक-फरक विवरण सार्वजनिक भएका छन् । नयाँ पत्रिका दैनिक र दियोपोस्ट अनलाइनमार्फत सार्वजनिक छुट्टाछुट्टै विवरणमा प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद तथा पोखरेलको नाम जोडेर रकम जम्मा गर्न भनिएको छ । सापकोटाको मोबाइलमा रहेको विवरणमा प्रधानन्यायाधीश शर्मा, सांसद पोखरेल र सशस्त्र प्रहरीका तत्कालीन अतिरिक्त महानिरीक्षक वंशी दाहालको नाम उल्लेख छ । रकम जम्मा गर्न अमेरिकामा रहेको बैंक अफ अमेरिकामा सापकोटाका नातेदार नीराजन पाण्डेको खाताको विवरण दिइएको समाचारमा जनाइएको छ । नेपालमा रकम जम्मा गर्नुपर्ने भए सानिमा बैंकमा रहेको कविता पाण्डेको खातामा जम्मा गर्न सकिने विकल्प पनि उल्लेख छ ।

रकमको तलतिर मनोजकुमार शर्मा (चिफ जस्टिस), ओखलढुंगाबाट निर्वाचित सांसद तथा पूर्वएआइजी विश्वराज पोखरेल (ओखलढुंगा) र सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालको नाम उल्लेख छ । म्यासेजमा पठाइएको विवरणमा रकम जम्मा गर्ने दुईवटा विकल्पहरू दिइएको छ । अमेरिकामा ‘डिपोजिट गरेमा’ भन्ने सर्तमा बैंक अफ अमेरिकामा नीराजन पाण्डेको नाममा सात हजार पाँच सय अमेरिकी डलर डिपोजिट गर्नु भनिएको छ । नेपालमा डिपोजिट गर्ने भएमा सानिमा बैंकमा रहेको कविता पाण्डेको खातामा अमेरिकी डलर सात हजार पाँच सय बराबर हुने नेपाली रकम जम्मा गर्नु भनिएको छ । इनमसँगको सूचना आदानप्रदान गरेको आरोपमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सरकारले बर्खास्तसमेत गरिसकेको छ । पूर्व-प्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्‍याएका बेला दाहाल राति नै भेट्न पुगेका थिए ।
न्यायाधीश फुँयालसँग सम्बन्धित प्रकरण भने विचाराधीन मुद्दाको विषयमा भएको संवादसँग जोडिएको छ ।

सार्वजनिक गरेको ह्वाट्सएप विवरणअनुसार, सापकोटाले रोहित गुप्ताको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनको स्क्रिनसट पठाउँदै उनलाई थुनामै राख्न र निवेदन खारेज गर्न आग्रह गरेका थिए । सापकोटाले त्यसक्रममा प्रधानमन्त्रीको पनि चासो रहेको दाबी गरेका थिए । त्यसपछि उनले गुड मर्निङ भन्दै ‘यसलाई रोक्नु है हजुर, यसमा प्रधानमन्त्रीको पनि चासो छ, खारेज नै गर्दिनुहोला’ भनेर म्यासेज गरेका छन् । लगत्तै उनले ह्वाट्सएपमा फोन गरेका छन् । उक्त फोन नउठेपछि फुँयालले जवाफी सन्देश लेखेको देखिन्छ । सापकोटाको ‘मिस्ड कल’को जवाफ दिँदै न्यायाधीश फुँयालले लेख्नुभएको छ, ‘मैले यो ढिलो देखेँ । उनलाई (रोहित गुप्ता) छाड्नुपर्ने आधारै रहेछ । हामीले उनलाई दुई करोड धरौटी मागेका छौँ । गोल्छालाई (शेखर गोल्छा) एक करोड मागिएको रहेछ ।’ गुप्तालाई धरौटीमा छाड्ने आदेश राखिएको सर्वोच्चको वेबसाइटको लिंक पनि उहाँले सापकोटालाई म्यासेज गर्नुभएको छ । त्यसपछि फुँयालले भोलिपल्ट हिमालयन होटलमा भेट्ने प्रस्ताव गर्नुभएको छ । जवाफमा सापकोटाले ‘हुन्छ’ भनेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा विशेष अदालतले गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको थियो । न्यायाधीश फुँयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले भदौ १७ मा गुप्तालाई दुई करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । यो विवाद विशेष अदालत हुँदै सर्वोच्च पुगेको थियो । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले फिक्सर दीपक भट्ट समूहविरुद्ध मुद्दा दायर गरेको थियो । विशेषले साउन २८ गते गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

बिचौलिया सापकोटा भने थुनामा छन् । यी दुवै विवरण सापकोटाको मोबाइल नियन्त्रणमा लिएपछि सार्वजनिक भएको देखिन्छ । पूर्व–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षा दिने भन्दै ११ असोजमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएपछि न्यायालयभित्र विभिन्न विवाद देखिएका छन् । बिचौलिया इनम सापकोटालाई पनि ११ असोजमा पक्राउ गरिएको थियो । सापकोटा र उच्च पदस्थ अधिकारीहरूबीच भएको कुराकानीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

छानविन गर्न नेपाल बारको माग

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएका प्रधानन्यायाधीश र न्यायाधीशमाथि छानविन गर्न माग गरेको छ । बारले बिहीबार विज्ञप्ति जारी गर्दै संवेदनशील विषयका सम्बन्धमा सत्यतथ्य, निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानविन हुन आवश्यक रहेको बताएको हो । ‘पछिल्ला दिनहरूमा सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटसम्बन्धी विवरण विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएका छन् ।

त्यसैगरी, प्रधानन्यायाधीश समेतलाई जोडेर समाचारहरू प्रकाशित भएका छन् । सार्वजनिक भएका यी विवरणले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यममा आएको न्यायपालिकासँग सम्बन्धित अति संवेदनशील समाचारसँग सम्बन्धित पदीय व्यक्तित्वहरूले आ-आफ्नो आचारसंहितामा रहन आवश्यक देखिन्छ, साथै उच्च पदस्थ पदाधिकारीले उच्च नैतिकता प्रदर्शन गर्न अपरिहार्य भएको समयको माग रहेको छ’, बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ कार्तिक १३, शुक्रबार
आज एनपीएलका खेल नहुने, भोलि दुई खेलमा चार टोली प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक १३, शुक्रबार
कृषि जेटिए मेघा रावलको फूलखेती
२०८३ कार्तिक १३, शुक्रबार
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
इनम प्रकरणले न्यायपालिका र प्रहरीमा हलचल, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट बैठक
२०८३ कार्तिक १३, शुक्रबार
भकिम्लीका किसान व्यावसायिक गाईपालनमा
२०८३ कार्तिक १३, शुक्रबार
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
२०८३ कार्तिक १३, शुक्रबार