असोज ११, २०८३ आइतबार September 27, 2026

नेपाली राष्ट्रिय फुटबल टोलीका ४ जना खेलाडीलाई कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका चार जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवारदेखि प्रशिक्षणमा बोलाइएका ३४ जना खेलाडीमध्ये चार जना कोरोनाबाट संक्रमित भएको बताएको छ ।

कोरोना देखिएका चारै जना खेलाडी सेल्फ आईसोलेशनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए ।

नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले बताएको छ ।

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ ।

मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।   रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया