काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोविन्द अधिकारी पक्राउ परेका छन्।
कास्की प्रहरीले पोखराबाट अधिकारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गोरखाको पत्राचार बमोजिम मंगलबार गोरखा पठाएको छ। कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार, गृहमन्त्री गुरुङविरुद्ध आपत्तिजनक स्टाटस लेखिएको भन्दै गोरखाबाट पक्राउ गरी पठाइदिन औपचारिक पत्राचार भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
केही दिनअघि मतदाता भेटघाट तथा सचिवालय उद्घाटनका क्रममा गोरखा पुगेका गृहमन्त्री गुरुङलाई लक्षित गर्दै अधिकारीले फेसबुकमा ‘लखेटेको’ आशयको स्टाटस पोष्ट गरेका थिए। सोही कसुरमा उजुरी परेपछि उनलाई कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टीले भने सामाजिक सञ्जालमा विचार वा स्टाटस राखेकै भरमा नेता अधिकारीलाई पक्राउ गरिनु लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको ठहर गरेको छ। पार्टीले उनको तत्काल तथा बिनाशर्त रिहाइको माग गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया