काठमाडौं। लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद्को बैठक आज अपरान्ह ३:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने भएको छ।
मन्त्रिपरिषद्को नियमित तथा प्रशासनिक कार्यसूचीका साथै हालै सतहमा आएको बहुचर्चित बिचौलिया इनम (इमन) सापकोटा र उच्च न्यायिक निकायका न्यायाधीशहरूबीचको विवादास्पद संवाद एवम् सञ्जाल प्रकरणले उब्जाएको परिस्थितिबारे समेत बैठकमा छलफल हुनसक्ने अनुमान गरिएको छ।
विवादास्पद बिचौलिया इनम सापकोटा पक्राउ परेपछि उनीसँग भएका विद्युतीय उपकरण, ह्वाट्सएप संवाद तथा अडियो-भिडियो सम्बन्धी प्रमाणको अनुसन्धानका क्रममा सर्वोच्च अदालतका न्यायाधीशहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू र राजनीतिक वृत्तका व्यक्तिहरूसँगको अस्वाभाविक सम्पर्क बाहिरिएको थियो।
अदालतका मुद्दाहरूमा बिचौलियाको काम गरी अवैध सम्पत्ति आर्जन गरेको आरोपमा सापकोटामाथि हाल प्रहरीले म्याद थप गरी सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाही अगाडि बढाएको छ।
यस प्रकरणमा सर्वोच्चका न्यायाधीशहरू र बिचौलियाबिच मुद्दा सेटिङ तथा संवाद भएको आरोप सार्वजनिक भएपछि न्यायपालिका र प्रशासनिक वृत्तमा ठूलो हलचल मच्चिएको छ। यद्यपि, सम्बन्धित न्यायाधीशहरूले विज्ञप्ति जारी गर्दै आफूहरूमाथि लागेका आरोपहरू अस्वीकार गरेका छन् र निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकरण गम्भीर बनेपछि प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) समेत बसेर सत्यतथ्य छानबिनको माग गरिएको थियो।
राजनीतिक वृत्तमा विवादित न्यायाधीशहरूमाथि महाभियोग वा छानबिनको विषय उठिरहेकाले सरकारले संसदीय समन्वय र आगामी कदमबारे अनौपचारिक समीक्षा गर्ने बताइएकाे छ।
लामो समयदेखि मन्त्रिपरिषद् बैठक नबसेकाले रोकिएका विभिन्न मन्त्रालयका दैनिक प्रशासनिक प्रस्तावहरू, पदोन्नति, नियुक्ति तथा समसामयिक राजनीतिक-आर्थिक विषयहरूमा समेत महत्त्वपूर्ण निर्णय लिइनेछ।
राज्यका प्रमुख अङ्गहरू र सुरक्षा निकायसम्म सञ्जाल फैलाएको आरोप लागेका बिचौलिया सापकोटा प्रकरणले राजनीतिक तथा प्रशासनिक रूपमा उच्च चासो पाएको समयमा बस्न लागेको यो मन्त्रिपरिषद् बैठकलाई विशेष अर्थका साथ हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया