काठमाण्डौंः चिनी उद्योगीले उखु किसानको बक्यौता भुक्तानी नगरेपछि उखु किसानले पुनः आन्दोलनमा जाने घोषणा गरेका छन् । चिनी उद्योगले उखु किसानलाई बुझाउनुपर्ने बक्यौता रकम छठलगत्तै नपाए २७ मंसिरदेखि पुनः आन्दोलनमा जाने घोषणा गरेका हुन् ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानले बक्यौता रकम नपाएकाले आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताएका छन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले विगतमा भएको सहमतिसमेत अहिलेसम्म कार्यान्वयन नभएको बताए । उनले भने, ‘सरकारसँग भएको सहमतिअनुसार गत २५ माघभित्रै सबै बक्यौता पाउनुपर्ने थियो । तर, सम्झौता भएअनुसार हामीले बक्यौता पाएका छैनौं । छठसम्म बक्यौता नपाए २७ मंसिरबाट काठमाडौंको माइतीघर मण्डलामा सबै किसान आएर आन्दोलन गर्नेछौं ।’
उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रायले किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मूकदर्शक भएको बताए । उनले सरकार नै मूकदर्शक भएपछि आन्दोलनमा जानुपर्ने बाध्यता भएको बताए । उनले चिनी उद्योगीबाट अझै ५० करोडभन्दा बढी रकम लिन बाँकी रहेको बताए ।
तीन वर्ष चिनी उद्योगीले किसानको बक्यौता रकम नदिएपछि काठमाडौंमै आएर आन्दोलन गरेका थिए । आन्दोलनपछि १८ पुस २०७६ मा मन्त्रालयले उखु किसानसँग ५ बुँदे सम्झैतासमेत गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावरण बनाउने र मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष पुग्नै लाग्दा किसानहरूले अझै उखुको पैसा पाएका छैनन् ।
यसैगरी, उखु किसानको ४१ रुपैयाँ करोड भुक्तानी नगरी उद्योग बन्द भएपछि किसानले दसैंअघि नै बाँकी भुक्तानी गर्ने पर्ने माग गत २६ कात्तिकमा संसदीय समितिमा ज्ञापनपत्रसमेत बुझाएका थिए । गत ११ साउनबाट बन्द भएको श्रीराम सुगर मिल्स गरुडा (रौतहट)ले उखु किसानको ४१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानले समितिलाई जानकारी गराएका थिए ।
मिल बन्द भएपछि उखु किसान र उद्योगका श्रमिकसमेत मारमा परेको भन्दै उद्योगको पुनर्संरचना र बक्यौता रकम भुक्तानीको मागसहित किसानले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका थिए । उखु उत्पादक संघ रौतहटले गत २६ कात्तिकमा प्रतिनिधिसभा संघीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा श्रीराम सुगर मिलसँग सम्बन्धित उखु किसान, श्रमिक र उद्योगको समस्या समाधान गरिदिन भन्दै निवेदन गरेका थिए ।
त्यो समयमा संघले मुख्यगरी तीन वटा मागसहित समितिलाई ज्ञापनपत्र बुझाएको थियो । जसमा उखु किसानले तत्काल पाउनुपर्ने ४१ करोड रुपैयाँ रकम दसैंअगाडि नै पाउनुपर्ने, उद्योगका श्रमिक र कर्मचारीले पाँच महिनाको तलबभत्ता तथा डेढ वर्षको सञ्चय कोष गरी करिब ४ करोड रुपैयाँ र अन्य सेवासुविधा दसैंअगाडि नै पाउनुपर्ने र उद्योग पुनः सञ्चालन हुनुपर्ने माग राखिएको थियो । तर, सरकारले उखु किसानका उक्ता मागहरू पूरा गर्ने पहलसमेत नगरेर मूकर्दशक बन्दा उखु किसानले पुनः आन्दोलनमा जाने चेतावनी दिएका हुन् । राजधानी दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया