असार २२, २०८२ आइतबार July 6, 2025

कोरोनाका नाममा ब्रह्मलुट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोनाले नियन्त्रणका नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गर्न थालेका छन् । यसको पछिल्लो उदाहरण बनेका छन्, सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरपालिका । यी दुई नगरपालिकाकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा व्यापक अनियमितता पाइएको हो ।

बोदेबरसाइन नगरपालिकाले सार्वजनिक गरेको कोरोना संक्रमण नियन्त्रण खर्च विवरणअनुसार लाइफबोय साबुनको प्रतिगोटा मूल्य तीन हजार उल्लेख गरेको छ । यस नगरपालिकाले क्वारेन्टिन व्यवस्थापनका नाममा खरिद गरिएका सामग्रीको मूल्य बढाएर खर्च उल्लेख गरेको पाइएको छ ।

गत्त बुद्यबार यस नगरपालिकाले कुल दुई करोड २१ लाख रुपैयाँको कोरोना संक्रमण नियन्त्रण खर्च विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । ९५ पिस लाइफबोय साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । यो खर्च विवरणमाथि सर्वसाधारणले अलोचना गरेपछि नगरप्रमुख आतेशकुमार सिंह यादवले प्रस्टीकरण दिँदै ९५ थान होइन, ९५ कार्टुन साबुनको विवरण हुनुपर्नेमा प्रिन्ट मिस्टेक भएको बताए । यादवकै भनाइ मान्ने हो भने पनि एक कार्टुनमा एक सय ४४ थान साबुन हुन्छ । नगरपालिकाले ९५ कार्टुन साबुन किनेको हो भने एक थान साबुनको २६ रुपैयाँ तिरेको छ  । तर, नगरपालिकाले चैत २६ पुनः १० कार्टुन (१,४४० थान) साबुन किन्दा चार लाख ३१ हजार नौ सय ५५ रुपैयाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यो हिसाबले नगरपालिकाले एक थान साबुनमा दुई सय ९९ रुपैयाँ भुक्तान गरेको विवरण तयार पारेको छ ।

नगरपालिकाले चैत ३१ गते ६ हजार नौ सय १२ थान साबुन खरिद गर्दा दुई लाख ३८ हजार ६ रुपैयाँको बिल बनाएको छ । यो हिसाबले भने एक थान साबुनको २९ रुपैयाँ पर्न जान्छ । अनियमितता लुकाउन गोलमाल हिसाब सार्वजनिक गर्ने बोदेबरसाईन नगरपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको अनुसन्धानमा परेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोली यस नगरपालिकामा छापा मारेर कोरोना नियन्त्रणको नाममा भएको अनियमित खर्चको कागजात जफत गरेर लगेका छन् ।

कोरोना महामारी नियन्त्रणका नाममा दुई करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्चमा व्यापक अनियमितता रहेको नगरपालिकाका कर्मचारी नै स्वीकार्छन् । स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, ग्लोब्स लगायतका सामग्री खरिदमा ब्यापक भ्रष्टाचार भएको एक कर्मचारीले नागरिकसँग बताए । बिल, भरपाई, चेक, भौचरमा कहिँकतै मेल खादैन ।

यस नगरपालिकाले वैशाख २८ गते खरिद गरेको ७५ थान पिपिई गाउनको मूल्य २७ लाख ५२ हजार पाँच सय उल्लेख गरेको छ । प्रस्तुत हिसाबअनुसार एक सेट पिपिईको मूल्य ३६ हजार सात सय रुपैयाँ पर्न जान्छ । एक थान सर्जिकल मास्कको मूल्य झन्डै ८० रुपैयाँ उल्लेख गरेको छ । एक थान ग्लोब्सको मूल्य सात सय उल्लेख छ । १५ थान सिरानीको खोलका लागि २२ हजार पाँच सयको खर्च सार्वजनिक गरेको छ । यस हिसाबले सिरानीको एउटा खोलको मूल्य १५ सय रुपैयाँ पर्न जान्छ । नगरपालिकाको लेखा शाखाले तयार पारेको खर्च विवरणमा प्रशासकीय अधिकृत घनश्याम यादवले छाप र हस्ताक्षरसहित प्रमाणित गरेका छन् ।

कोरोना महामारी नियन्त्रणको खर्चमा भएको अनियमितता छताछुल्ल भएपछि नगरपालिकाले सबै सामानको मूल्य घटाएर कुल एक करोड २७ लाख २९ हजारको संशोधित खर्च विवरण सार्वजनिक गरेको छ । थानलाई कार्टुन बनाइएको छ । संशोधित खर्च विवरणमा चियापानीमा मात्र १४ लाख ५१ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । चैत २६ गत्ते लाइफबोय साबुन १४ सय ४० थान खरिद गर्दा चार लाख ३१ हजार नौ सय ५५ खर्च भएको देखाइएको थियो भने पछि सच्याएर ३८ हजार दुई सय ३० रुपैयाँ देखाइएको छ । चैत २१ गत्ते सगरमाथा ट्रेडर्स राजविराजबाट दुई लाख सात हजारमा ६ हजार आठ सय १२ पिस साबुन खरिद गरिएको विवरणलाई सच्याएर एक लाख ८३ हजार आठ सय ५९ रुपैयाँ खर्च देखाइएको छ ।

सिरहा नगरपालिकाले साउन २० गत्ते सार्वजनिक गरेको कोरोना संक्रमण नियन्त्रणको खर्च बिवरणअनुसार एक थान तकिया खोलको २८ सय ७६ रुपैयाँ ३५ पैसा, एक थान तन्नको ८ हजार ७१ रुपैयाँ २५ पैसा उल्लेख छ । यसै बिवरणको आधारमा स्थानीयले गरेको उजुरीको आधारमा अख्तियार नगरपालिकाबाट कागजात लिएर गएका छन् । अख्तियारले छानबिनका लागि कागजात लिएर गएपछि नगरपालिकाले पुनः अर्को खर्च विवरण सार्वजनिक गरेर कारवाही छल्ने प्रयत्न गर्यो । साउन २० गते सार्वजनिक गरिएको खर्च विवरणअनुसार १ सय ११ थान तकिया खोलको तीन लाख १९ हजार २ सय ७५ उल्लेख गरिएको छ । साउन २८ गत्ते सच्याएर ३१ हजार ९ सय २६ रुपैयाँ ५० पैसा बनाइएको छ । ५ सय ५८ थान तन्नाको ४५ लाख ३७ हजार ७५ सार्वजनिक गरिएकोमा ४ लाख ६० हजार ७ सय ७२ रुपैयाँ २२ पैसा सच्याइएको छ ।

पहिला जोखिम भत्ता(कर्मचारी खर्च) १३ लाख ५४ हजार सार्वजनिक गरिएको थियो । यो शिर्षकमा खर्च ५७ लाख ६० हजार ५ सय ५२ रुपैयाँ पुर्याइएको छ । लामखुट्टे मार्ने औषधि छर्किने कार्यका लागि मजदुरहरूको पारिश्रमिक रकम भुत्तानी शीर्षक थपेर १८ लाख ३६ हजार ४ सय ५० रुपैयाँ खर्च देखाइएको छ । पहिला ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च सार्वजनिक गरेकोमा पछि ५ करोड ९१ लाख १८ हजार २ सय ९७ रुपैयाँ ७७ पैसा पुर्याइएको छ ।

यता, सखुवानन्कारकट्टी गाउँपालिकाले कोरोनाको नाममा १ करोड ३४ लाख ३१ हजार १ सय ३९ रुपैयाँ खर्चको एकमुष्ट हिसाब प्रशासनलाई बुझाएको छ । अख्तियारले खर्च बिवरणको आधारमा धमाधम कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएपछि यस गाउँपालिकाले खर्चको श्रेस्ता मिलाउँदै अनियमितता ढाकछोप गर्न जुटेको छ । यस गाउँपालिकामा खर्च बिवरणको कागजात नियन्त्रणमा लिइए भ्रष्टाचारको चाङ फेला पर्ने गाउँपालिकाका कर्मचारीहरूकै दाबी छ । खर्चको पूर्ण विवरण लुकाएर विनाशीर्षक गोलमटोल हिसाब प्रशासनलाई बुझाएर गाउँपालिका अनियमितता लुकाउन खोजेको ती कर्मचारीले बताए ।

यस गाउँपकिलाका वडा नम्बर ३ का अध्यक्ष महेन्द्रप्रसाद यादवकाअनुसार कोरोनाको खर्च विवरण उनीहरूलाई समेत दिइएको छैन् । कुन शीर्षकमा कति खर्च भयो र कहाँबाट कति मूल्यमा कुन सामान खरिद भयो भन्ने हिसाब विवरण आफूहरूले माग्दा पनि नपाएको अध्यक्ष यादवले बताए । कोरोनाको नाममा स्थानीय तहले मच्चाएको लुट विवरण छताछुल्ल हुँदै गएको छ । शीर्षक खुलाएर खर्च सार्वजनिक भए अनियमितताको पोल खुल्छ भनेर सखुवानन्कारकट्टी गाउँपालिका जस्तै यहाँ अधिकांश पालिका विवरण लुकाउनमा व्यस्त छन् । नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार