असार २२, २०८२ आइतबार July 6, 2025

अन्तर्राष्ट्रिय हवाई इन्धन नेपालमा दुई गुणाभन्दा बढी महँगो, वायुसेवा निगमको मासिक १७ करोड खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा अत्यधिक नाफा राखेका कारण त्यसको भार वायुसेवा निगमलाई पर्ने गरेको छ । वायुसेवा निगमको जहाजले वार्षिक इन्धनमा मात्रै २ अर्ब खर्च गर्ने गरेको छ । अन्य विदेशी एयरलाइन्सहरूले नेपालमा उडान गर्दा थोरै मात्रै हवाई इन्धन भर्ने गरे पनि राष्ट्रिय ध्वजाबाहकले भने बाध्य भएर नेपालमै भर्नुपर्छ । अन्य देशको तुलनामा नेपालमा इन्धन भर्दा शतप्रतिशतसम्म महँगो पर्ने गर्छ ।

नेपालमा हवाई इन्धन महँगो हुँदा निगमले वार्षिक २ अर्ब ९९ लाख रुपैयाँ तेलमा मात्रै खर्च गर्नुपरेको छ । तेलमा मात्रै निगमको खर्च ४० प्रतिशत हुने गरेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेल बताउँछन् । ‘सरकारले नै पहल गरेर नाफा कम राखेर निगमलाई तेल बिक्री गरेमा ठूलो खर्च कटौती हुने थियो,’ पौडेलले भने ।

उस्तै गुणस्तरको तेल विदेशका गन्तव्यमा पौने चार लिटर अर्थात् (३.७८५४ लिटर) मलेसियाको क्वालालम्पुरमा १.३८ डलरमा पाइन्छ । तर, काठमाडौंमा भर्दा करिब ३.५८ डलरसम्म पर्छ । यो शतप्रतिशतभन्दा महँगो हो । मलेसियामा निगमले प्रतिलिटर ४३.८९ रुपैयाँमा जहाजमा तेल भर्ने गरे पनि आफ्नै मुलुकमा भने प्रतिलिटर १ सय १३ रुपैयाँसम्म तिर्नुपर्छ । पछिल्लो समय मूल्य समायोजन गरेर प्रतिलिटर ८६ रुपैयाँ ८० पैसामा झारिएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

निगमले आर्थिक वर्ष ०७६/७७ मा मात्रै ६ करोड ८३ लाख ७३ हजार ८ सय ६५ लिटर तेल भरेको थियो । यस वर्ष लकडाउनका कारण धेरै उड्न नपाउँदा तेल खपत कम भएको छ । विगतका वर्षहरूमा वार्षिक ३ अर्ब रुपैयाँ हाराहारी रकम तेलमा खर्च गर्ने गरेको छ । आयल निगमले आफ्नो नाफामा सामान्य मात्रै कटौती गर्ने हो भने वायुसेवा निगमले तेलमा हुने खर्चमा झन्डै १ अर्ब जोगिने निगम व्यवस्थापनको निष्कर्ष छ । निगमको वार्षिक खर्च ७ अर्ब हाराहारी हुने गरेको छ । तेलपछि स्पेयर्स पार्टस् तथा रिपेरिङमा निगमको खर्च हुने गरेको छ । बाँकी खर्च तलब र भत्तामा हुने गरेको छ ।

निगमले काठमाडौं विमानस्थलमा मात्रै एक वर्षमा १ करोड ३८ लाख ५५ हजार ९ सय १८ लिटर तेलमा १ अर्ब ५४ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ । त्यसैगरी, दिल्ली र बैंग्लोरमा १ करोड २५ लाख ३० हजार ४ सय ३२ लिटर तेल खरिदमा ७१ करोड ९२ रुपैयाँ खर्च गरेको छ । तर, काठमाडौंमा सोहीबराबरको तेल भर्दा डेढ अर्ब रुपैयाँ खर्च गर्नुपरेको छ । निगमले काठमाडौंमा भन्दा १३ हजार लिटर मात्रै कम भरेको थियो । भारतकै मुम्बईमा २३ लाख ८५ हजार लिटर तेलमा १३ करोड ९२ लाख ५७ हजार रुपैयाँ खर्च गरेको थियो । भारतमा निगमको प्रतिलिटर ४६ रुपैयाँ मात्रै खर्च हुने गरेको छ ।

निगमले गत वर्ष मलेसियामा २९ लाख ५१ हजार ७ सय ४८ लिटर तेलमा २० करोड ४७ लाख ३० हजार रुपैयाँ खर्च गरेको थियो । मलेसियामा निगमलाई वार्षिक सरदर ४३ रुपैयाँ प्रतिलिटर खर्च पर्ने गरेको छ । निगमले हङकङमा २९ लाख ६७ हजार ५ सय ५२ लिटर तेलमा १७ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । हङकङमा निगमलाई वार्षिक सरदर प्रतिलिटर ४४ रुपैयाँ पर्ने गर्छ । निगमले बैंककमा ८ लाख ३५ हजार लिटर तेलमा १० करोड २ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । त्यसैगरी, कतारको दोहामा १ करोड ४० लाख ३६ हजार लिटर तेल भरेको छ । जसको मूल्य ८५ करोड ३१ लाख ६२ हजार रुपैयाँ मात्रै खर्च गरेको थियो । निगमले दोहामा सरदर वार्षिक प्रतिलिटर ४४ रुपैयाँ खर्च गरेको छ ।

निगमले दुबईमा गत वर्ष १ करोड १४ लाख ३० हजार लिटर तेल भरेको थियो । जसमा ५९ करोड १ लाख ९९ हजार रुपैयाँ खर्च गरेको छ । दुबईमा निगमको वार्षिक सरदर प्रतिलिटर ४४ रुपैयाँ ७६ पैसा पर्ने गर्छ । निगमले गत वर्ष जापानको नारितामा ७३ लाख ८० हजार लिटर तेल भरेको थियो । जसमा निगमले ६२ करोड ८६ लाख रुपैयाँ खर्च गरेको थियो । निगमले जापानमा प्रतिलिटर ४५ रुपैयाँ २१ पैसा खर्च गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय इन्धनमा अझै प्रतिलिटर ४६ रुपैयाँ फाइदा

नेपाल आयल निगमको अन्तर्राष्ट्रिय एयरलाइन्सको इन्धनमा प्रतिलिटर ४६ रुपैयाँ नाफा रहेको छ । आयल निगमले अहिले पनि प्रतिलिटर ८७ रुपैयाँ लिने गरेको छ । गत वैशाखमा प्रतिलिटर १ सय रुपैयाँ रहेको थियो । केही रकम घटाए पनि नाफा बढी राख्दा नेपाल वायुसेवा निगमलाई मार पर्ने गरेको छ । ‘नाफा मात्रै कम लिँदा पनि धेरै समस्याबाट नेपाल वायुसेवा निगमले पार पाउने थियो,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने । निगमको ठूलो खर्च तेलमा हुने गरेकाले तेलको मूल्य थोरै मात्रै घटाउँदा पनि करोडाैँ रुपैयाँ बचत हुने पौडेल बताउँछन् ।

आन्तरिकमा हवाई इन्धन घट्दा यात्रुलाई राहत

लकडाउनपछि एयरलाइन्स कम्पनीहरूको दबाबले नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा भारी कटौती गरेको थियो । गत चैतसम्म हवाई इन्धनको मूल्य प्रतिलिटर ९५ रुपैयाँ रहेकोमा अहिले घटाएर ६५ रुपैयाँ कायम गरेको छ । जसका कारण एयरलाइन्स कम्पनीहरूसँगै यात्रुलाई समेत राहत भएको छ । अहिले हवाई इन्धनको मूल्य घट्दा एयरलाइन्ससँगै यात्रुलाई पनि राहत भएको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बताउँछन् । ‘तेलबाट बढी नाफा कमाउनेभन्दा पनि तेलको मूल्य घटाएर अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सहयोगी बन्नुपर्छ,’ बस्नेतले भने ।

चिनियाँ जहाज व्यवस्थापनमा निगमको चार विकल्प

नेपाल वायुसेवा निगमले चिनियाँ जहाज चीनलाई फिर्ता गर्नेसहितका चार व्यवस्थापनका विकल्प अगाडि सारेको छ । गत १५ साउनदेखि ग्राउन्डेड गरिएको जहाजको व्यवस्थापनमा अर्थ मन्त्रालयले प्रश्न उठाएपछि निगमले चार विकल्पसहितको प्रस्ताव पर्यटन मन्त्रालयमा पठाएको हो । पर्यटनले सोही विकल्पको प्रस्ताव अर्थ मन्त्रालय पठाउनेछ ।

अर्थले मागेबमोजिम चार विकल्प दिएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । चिनियाँ जहाजको सम्बन्धमा विगतदेखि नै प्राविधिक समितिहरूले दिएको प्रतिवेदनका आधारमा निर्णय लिएको पौडेलले बताए । ‘चारमध्ये जुन विकल्प भए पनि हुन्छ, तर निर्णय हुन आवश्यक छ,’ पौडेलले भने ।

निगमले पहिलो विकल्पका रूपमा चीनबाट ल्याइएका पाँच जहाज चलाउन नसकिएको भन्दै कम्पनीलाई नै फिर्ता गर्ने बताएको छ । जहाज विक्रेता कम्पनी एभिक इन्टरनेसल होल्डिङ कर्पोरेसनलाई वाई–१२ र एमए–६० जहाजको फेयर मार्केट भ्यालुका आधारमा विमानहरू फिर्ता गरी व्यवस्थापन गर्ने विषय उल्लेख छ । चीन सरकारले सरल ऋण र अनुदानमा उपलब्ध गराएका ६ जहाजमध्ये एक थान वाई १२ ई जहाज नेपालगन्जमा दुर्घटना भएको थियो । उक्त दुर्घटना भएको जहाज काम नै नलाग्ने निष्कर्ष निगमको छ ।

निगमले १६ असारमा निर्णय गर्दै चिनियाँ जहाज पर्यटन मन्त्रालयलाई व्यवस्थापन गरिदिन आग्रहसहित पत्राचार गरेको थियो । निगमको प्रस्तावका लागि निर्णय गर्नका लागि पर्यटनले अर्थ मन्त्रालयको राय मागेको थियो । अर्थले प्रतिउत्तरमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर स्पष्टीकरण मागेको थियो । अर्थले मागेको स्पष्टीकरणमा जवाफ दिँदै निगमले चार विकल्प दिएको हो ।

निगमले दोस्रो विकल्पका रूपमा टेन्डर गरी बिक्री गर्न सकिने उल्लेख छ । साथै, तेस्रो विकल्पका रूपमा लिज प्रक्रियाबाट अन्य कम्पनीहरूलाई जहाज दिन सकिने विषय पनि निगमले अगाडि सारेको छ । यसैगरी, चौथो विकल्पका रूपमा नयाँ जहाज खरिद गर्दा डाउन पेमेन्टका रूपमा प्रयोग गर्ने विकल्पसमेत पेस गरेको छ ।आजको नयाँ पत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार