असार २२, २०८२ आइतबार July 6, 2025

नेकपा विवाद: शक्ति सञ्चय गर्न गुटगत भेलाको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भेला आयोजना गर्ने तयारी गरेको छ । दाहाल पूर्वमाओवादीलाई मिलाउने प्रयासमा छन् । ओली समूहले भने दुई चरण आन्तरिक भेला गर्ने तयारी गरेको छ ।

नेपाल समूहले धेरै अघिदेखि आन्तरिक भेलाको तयारी गरको भए पनि केन्द्रीय कमिटी बैठक नजिक आएकाले त्यसलाई रोकेको छ । तर केन्द्रीय सदस्यहरूसँग समन्वय तथा छलफल भने भइरहेको स्रोतले जनाएको छ । ‘आन्तरिक रूपमा कुराकानी भइरहेको छ । पार्टीका बैठकहरू नियमित नहुँदा समस्या आउने र जनप्रतिनिधिहरूबीच पनि समन्वय अभाव हुने भएकाले छलफल र भेटघाट सामान्यजस्तै बनेको छ,’ नेपाल समूहका एक नेताले भने । कतिपय नेताहरूले दुई दिनअघि वरिष्ठ नेता नेपाल पर्सा पुग्नुलाई पनि गुटगत भेलाको तयारीका रूपमा अथ्र्याएका छन् । नेता नेपालले आफ्ना कुरा र विषय सुनुवाइ नभए देशव्यापी रूपमा कार्यकर्तामाझ जाने बताउँदै आएका छन् । सचिवालय बैठक वा अन्य सन्दर्भमा पनि नेपालले पार्टी विधिपद्धतिअनुसार सञ्चालन नभएको, आफ्नो समूहलाई पेलेको जस्ता मुद्दा लिएर कार्यकर्तामाझ जाने बताउँदै आएका छन् ।

६ दिनअघि स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले चितवनको राप्ती नगर कमिटीमा गरेको सम्बोधनलाई ओली समूहले गुट भेला आयोजना गरेको भनी आरोप लगाएको छ । त्यहाँ ओली पक्षका केही कार्यकर्ताले पाण्डेमाथि दुव्र्यवहारसमेत गरेका थिए । त्यस्तै पोखरा पुगेका पाण्डेमाथि त्यहाँ आफूनिकट कार्यकर्तासँग मात्र भेटघाट गरेको आरोप लगाइएको छ । केही दिनअघि पार्टी उपाध्यक्ष वामदेव गौतम दाङ पुगेका थिए । निजी तथा पारिवारिक काममा दाङ गएका गौतममाथि ओली समूहले गुट भेला गरेको आरोप लगाएको छ ।

दाहालले पनि पछिल्लो समय आफूनिकट नेताहरूसँगको भेटघाट र छलफललाई तीव्रता दिएका छन् । उनले खासगरी रामबहादुर थापालाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् । थापा ओली नेतृत्वको सरकारलाई हटाउन नहुने र पार्टी विभाजन गरेर जान नहुने अडानमा रहँदै आएका छन् । थापाले पार्टी एकता मजबुत पार्न भन्दै चारबुँदे प्रस्ताव अघि सारेपछि दाहालले उनीसँग यसै साता मात्र दुईपटक छलफल गरिसकेका छन् । त्यस्तै थापा समूहका पम्फा भुसाल र देव गुरुङलाई पनि आफ्नो पक्षमा पार्न दाहालले कसरत गरिरहेका छन् ।

दाहालले टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, मणि थापालगायतलाई पनि फकाएर भड्काउमा नलाग्न आग्रह गर्दै आएका छन् । केन्द्रीय कमिटी बैठकलगत्तै दाहालले आफ्नो समूहको भेला भेटघाट र छलफलको तयारी गरिरहेको स्रोतको दाबी छ ।

ओली समूहले भने निरन्तर आफ्ना गतिविधि अघि बढाइरहेको छ । केन्द्रीय सदस्यहरू, पार्टी प्रदेश कमिटी र जिल्ला तहका नेताहरूसँग ओली समूहका नेताहरूको निरन्तर छलफल र भेटघाट हुने गरेको छ । दाहाल–नेपाल समूहले त मदन भण्डारी फाउन्डेसनका नाममा ओली पक्षले गुट भेला गरेको आरोप लगाइरहेको छ । केही समययता काठमाडौंलगायत विभिन्न जिल्लामा ओली समूहका केही नेताले फाउन्डेसनका नाममा राजनीतिक प्रशिक्षण दिएको आरोप दाहाल–नेपाल समूहले लगाएको छ । ‘फाउन्डेसनका नाममा हुने कुनै कार्यक्रम नरोक्नू भन्ने हामीलाई निर्देशन छ,’ ओली समूहका एक नेताले भने । यसअघिका केही कार्यक्रममा सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।

आगामी चैत २५ देखि ३० सम्म पार्टी महाधिवेशन मिति तय गरिएको भए पनि ओली, दाहाल र नेपालले महाधिवेशनका लागि बहस खुला  नगरी आआफ्नो समूहको शक्ति सञ्चयका लागि गुटगत भेलाको तयारी गरेका हुन् । ‘नेताहरूले आ–आफ्ना समूहको आन्तरिक भेला तयारी गरिरहेको खबर केन्द्रीय कार्यालयमा आउँछ ।

देशभरका कार्यकर्ताले केन्द्रबाट हाम्रो कार्यक्रममा कोको नेता आउँछन् भनेर सोध्ने गर्छन् तर पार्टी कार्यालयमा भने त्यसबारे जानकारी हुँदैन,’ केन्द्रीय कार्यालय स्रोतले भन्यो । स्रोतका अनुसार केन्द्रीय कार्यालयका नाममा दाहालले प्रकाशित गरेको राजनीतिक प्रतिवेदनबारे अझै केन्द्रीय कार्यालयलाई जानकारी छैन । कार्यकारी अध्यक्ष दाहालले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यालयको जानकारीबिना नै प्रकाशन गरेर आफूनिकट नेताहरूमार्फत सातवटै प्रदेशमा पठाएका छन् । नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार