काठमाडौं : सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज (शनिबार) प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझदारीका कारण उत्पन्न परिस्थितिले पार्टी एकतामै संकट देखापरिरहेका बेला ओलीले सचिवालयमा आफ्नो तर्फबाट प्रस्ताव पेस गर्ने कार्यसूची छ। अध्यक्षद्वयको सहमतिमा साझा प्रस्ताव ल्याउने परम्पराविपरीत कार्यकारी अध्यक्ष दाहालले ओलीलाई आरोपित गरी कात्तिक २८ गते छुट्टै प्रस्ताव ल्याएका थिए।
उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीको प्रस्ताव तयार भइसकेको जानकारी दिए। ‘प्रधानमन्त्रीले आफ्नो प्रस्ताव तयार पारिसक्नुभएको छ। प्रधानमन्त्रीले आफैं आफ्नो प्रस्ताव तयार पार्ने कुरा गर्नुभएको थियो’, उपप्रधानमन्त्री पोखरेलले अन्नपूर्ण पोस्ट्सित भने, ‘अर्का अध्यक्षले लगाउनुभएको आरोपपत्रको खण्डन गर्ने र सहमतिमा पार्टीलाई एकताबद्ध बनाएर कसरी अगाडि लैजाने भन्ने विषय समेटिएर उहाँको प्रस्ताव आउँछ।’
ओलीको प्रस्ताव सरकार र पार्टी सञ्चालन, पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुर्याउने र एकतालाई अक्षुण्ण राख्ने साथै पहिला नै तोकेअनुसार महाधिवेशनको टुंगो लगाउनेजस्ता विषयमा केन्द्रित छ। आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त, पार्टीले सरकारका काममा सहयोग गर्न नसकेका विषयदेखि समग्र कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै अबको महाधिवेशनसम्म जाने विधि र बाटोका विषय पनि आउने बालुवाटार स्रोतले बताएको छ। प्रधानमन्त्रीले महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको विषयलाई पनि आफ्नो प्रस्तावमा महŒव दिएर उठाउन लागेका छन्। ओलीले आफ्नो प्रस्ताव उपप्रधानमन्त्री पोखरेल, संसदीय दलका नेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायतसँग छलफल र परामर्शका आधारमा तयार पारेका हुन्।
दाहालले यसअघि ओलीले प्रमुख रूपमा गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसपछि ३ मंसिरमा बसेको बैठकमा ओलीले झुटा लाञ्छना नसहने स्पष्ट पार्दै जवाफ दिने बताएका थिए। दाहालले बैठकमा राखेको प्रस्ताव ‘प्रस्ताव’ नै नभएको ओलीको तर्क थियो।
उनले दाहालले ल्याएको प्रस्तावमा उल्लिखित सम्पूर्ण आरोप, अभियोग, लाञ्छना, तिरस्कार, अपमान सबैलाई खारेज गर्ने बताएका थिए। आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई पूर्ण रूपमा अस्वीकार गर्ने भन्दै उनले यथोचित जवाफ लिखित रूपमै दिने बताएका थिए।
‘आरोप या त सदर ठहरिनुपर्यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्यो। यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्यो, यसको जवाफदेही लिनुपर्यो,’ ३ मंसिरको बैठकमा ओलीले भनेका थिए, ‘यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्न मात्रै बैठक हुन सक्छ। यदि, यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ।’
अडान यथावत्
बैठकको अघिल्लो दिन शुक्रबारसम्म दुई अध्यक्षबीच संवाद भएको छैन। दुवै पक्ष आ–आफ्नो आन्तरिक तयारीमै छन्।
दुवैका अडान यथावत् छन्। प्रधानमन्त्रीले आफ्नो सरकारी निवासमा उपप्रधानमन्त्री पोखरेल, संसदीय दलका उपनेता नेम्बाङ, महासचिव विष्णु पौडेललगायतसँग छुट्टाछुट्टै छलफल गरे। दाहालले पनि आफ्नो निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतसँग छलफल चलाए। ओली पक्षले दाहालको प्रस्ताव पार्टी केन्द्रीय कार्यालयलाई जानकारीबिनै अनधिकृत रूपमा तल्लो तहसम्म वितरण गरेर विधि र पद्धति उल्लंघन गरेको आरोप लगाएको छ।
विधि र पद्धतिका विषय उठाउने दाहाल–नेपाल पक्षले अब विधि पद्धतिका कुरा गर्ने नैतिक अधिकारसमेत नराखेको ओली पक्षको बुझाइ छ। यसलाई शनिबारको सचिवालय बैठकमा उठाउने तयारी छ। दाहाल–नेपाल पक्षले भने ३ मंसिरको सचिवालय बैठकमा ओलीले दिएको मन्तव्य जस्ताको तस्तै पार्टी सचिवालय सदस्यहरूलाई जानकारीसम्म नदिई गोप्य ढंगले अनधिकृत रूपमा रेकर्ड गराएर आफ्नो सचिवालयमार्फत अडियो उतारेर सञ्चारमाध्यमबाट सार्वजनिक गरेको विषयमा प्रश्न उठाउने तयारी गरेको छ।
पूर्वएमाले फकाउँदै प्रधानमन्त्री
प्रधानमन्त्री ओली तत्कालीन एमाले पक्षधर नेतालाई आफूभित्रै गोलबद्ध गर्ने प्रयासमा जुटिरहेका छन्। त्यसक्रममा उनले आफूसँग असन्तुष्ट रहेका र अर्का अध्यक्ष दाहालसँग नजिकिएका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतलाई फकाउने प्रयास गरिरहेका छन्। उनले शुक्रबार वरिष्ठ नेता नेपालकहाँ स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पठाए। नेपाललाई पार्टीको अध्यक्ष या महाधिवेशन आयोजक समिति संयोजक बनाउन आफू तयार रहेको सन्देश यसअघि ओलीनिकट नेताहरूले नपठाएका होइनन्। तर, नेपालले पार्टी बैठकमै सबै विषय छलफलमा ल्याउन भन्दै ओलीको प्रस्तावमा सहमति जनाएका छैनन्।
स्वास्थ्यमन्त्री ढकालले नेपाललाई महाधिवेशनबाट नेतृत्व लिन आग्रह गरेका छन्। ‘महाधिवेशनमा अध्यक्षमा भिड्ने तपार्इं र प्रचण्ड नै हो। हाम्रो सहयोग तपार्इंलाई नै हुन्छ’, उनले भनेका थिए। अहिले महाधिवेशनसम्म पर्खन आग्रह गर्दै ढकाल नेपालकहाँ पुगेका थिए। झण्डै दुई घण्टा नेपालसँग ढकालले छलफल गरेका थिए।
उपप्रधानमन्त्री पोखरेलले शुक्रबार साँझ भैंसेपाटी पुगेर गौतमसँग झण्डै दुई घण्टा छलफल गरेका थिए। यस अगाडिका विवादमा पनि निर्णायक अवस्थामा गौतमले ओलीलाई साथ दिँदै आएका थिए। पार्टीका अध्यक्ष (ओली)का तर्फबाट गर्ने कतिपय कार्यकारी अधिकारसमेत गौतमलाई जिम्मा दिन तयार भएको, सरकारको भूमिकामा जान तयार रहे पनि प्रधानमन्त्री सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीलाई सहयोग गरी पार्टी एकता जोगाउन आग्रह गर्दै पोखरेल भैंसेपाटी पुगेका थिए। अन्नपूर्णपोष्टबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया