श्रावण २८, २०८३ बिहिबार August 13, 2026

संसद् अधिवेशन अझै अन्योलमा : ६ महिने संवैधानिक प्रावधानको फाइदा उठाउँदै सरकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संसद् अधिवेशनका लागि संवैधानिक बाध्यताको समय नजिकिँदै गर्दासमेत सातौँ अधिवेशन कुन मितिबाट सञ्चालन हुने हो भन्ने अन्योल कायमै छ । सत्तारुढ दलभित्रको विवाद र विपक्षी दलको लगातारको मागले अधिवेशनलाई चासोपूर्वक हेरिएको छ । तर, अधिवेशन आह्वानलाई लिएर सरकारको अग्रसरता भने सुस्त छ । त्यसैले विपक्षी दलका मात्र होइन, सत्तारुढ दलकै सांसदलाई पनि सरकारको नियतमाथि शंका उठेको छ ।

एउटा अधिवेशनको अन्त्य र अर्काे अधिवेशन सञ्चालनबीचको समयावधि ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान छ । यसअनुसार संसद्को छैटौँ अधिवेशन अन्त्य भएको ६ महिना पुग्न १९ दिन बाँकी छ । त्यसकारण पुस १७ सम्म सातौँ अधिवेशन सञ्चालन भइसक्नुपर्छ । तर, सरकारले अहिलेसम्म संसद्सँग पनि छलफल गरेको पाइँदैन । पार्टीभित्रको विवाद संसद्मा प्रवेश गर्ने भय प्रधानमन्त्री केपी ओलीमा छ ।

यतिसम्म कि अधिवेशन आह्वानबारे प्रधानमन्त्री र सभामुखबीच अहिलेसम्म कुनै छलफल भएको छैन । सभामुख अग्नि सापकोटालाई पनि १७ पुससम्म संवैधानिक रूपले पनि अधिवेशन बोलाइसक्नुपर्छ भन्ने थाहा छ । तर, यसमा सरकारको भूमिका धेरै हुने भएकाले बाँकी कुरा जानकारी छैन । त्यसैले आइतबार सम्पन्न संसद् सेवा दिवस कार्यक्रममा उनले भने, ‘ढिलोमा १७ गतेसम्म अधिवेशन बोलाइसक्नुपर्ने बाध्यता छ । अब नयाँ ढंगले चलाउनुपर्छ । हामी अलि बढी औपचारिक ढंगले चलिरहेका छौँ ।’

सत्तारुढ दलकै प्रमुख सचेतक देव गुरुङ आगामी अधिवेशन सञ्चालनलाई लिएर ठोस छलफल नभएको बताउँछन् । त्यसैले, कहिलेबाट अधिवेशन सञ्चालन होला भन्ने उनलाई पनि जानकारी छैन । ‘अहिलेसम्म अधिवेशन सञ्चालनलाई लिएर केही कुरा भएको छैन । तैपनि सामान्यतया संविधानतः दुईवटा अधिवेशनको बीचमा ६ महिनाभन्दा बढी समय गराउन मिल्दैन । पुसको दोस्रो हप्तासम्म अधिवेशन सञ्चालन गरिसक्नुपर्छ । पुसको दोस्रो हप्ताबाट संसद् सञ्चालन गर्नका लागि पुसको पहिलो हप्ता अधिवेशन डाक्नुपर्छ । सरकारले पुस पहिलो हप्तासम्म अधिवेशन आह्वान गर्नका लागि सिफारिस गरिसक्नुपर्छ ।’

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले अधिवेशन सञ्चालनबारे सरकार गम्भीर नभएको आरोप लगाए । आफूहरूले सरकारलाई प्रत्यक्ष वा विभिन्न माध्यमबाट सदन बैठक आह्वान गर्न माग गरेको बताए । ‘अहिले आमनागरिकको जीवनरक्षाका लागि सरकार गम्भीर छैन । मुलुकमा अन्योलजस्तो छ । संविधानमाथि पनि सडकमा प्रश्न उठाइएको छ,’ खाणले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी सबल बनाउने, संविधानलाई कसरी सफल कार्यान्वयन गर्ने, त्यतातिर गम्भीरतापूर्वक बहस गर्ने थलो संसद् हो । जनतालाई त्यसले आडभरोसा पनि दिन्छ । सरकारलाई दबाब दिइरहेका छन् भन्ने ठूलो विश्वास र भरोसा पनि सदनमा व्यक्त विचारले जनतामा पैदा गर्दछ । यस्तो अवस्थामा हामीले प्रधानमन्त्री, सरकारलाई प्रत्यक्ष भेटेर वा विभिन्न माध्यमबाट सदनको बैठक आह्वान गर्नुस् भनिरहेका छौँ । तर, सरकार त्यति गम्भीर हुन सकेको छैन ।’

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले अधिवेशन सञ्चालनबारे तयारी भइरहेको बताइन् । ‘अधिवेशन सञ्चालनबारे छलफल हुँदै छ । कति गतेबाट सुरु गर्ने भन्ने मात्रै टुंगो लागेको छैन । संसद् सचिवालयले पूर्वतयारी गरिसकेको छ । तर, यो दिनदेखि सञ्चालन हुने भन्नेबारेचाहिँ टुंगो भएको छैन ।’

संसद् सचिवालयले हरेक सांसदलाई दुई मिटरको दूरीमा बसाएर सदन सञ्चालन गर्ने गरी तयारी गरेको छ । एक सांसद र अर्काे सांसदको बीचमा दुईवटा कुर्सी खाली रहनेछ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘दूरी कायम गरेर सुरक्षित साथ अधिवेशनलाई अघि बढाउने गरी तयारी गरिसकिएको छ । अहिले सदनमा जताबाट नाप्दा पनि दूरी दुई मिटर हुने गरी व्यवस्था गरिएको छ । अगाडि–पछाडि जताबाट नाप्दा पनि दुई मिटरभन्दा बढी हुन्छ । एक सांसद र अर्काे सांसदको बीचमा दुईवटा सिट खाली हुन्छ ।’

सांसदहरूलाई दूरी कायम गरेर बस्नका लागि कुर्सी थपिएका छन् । सिट व्यवस्थापन गर्दा दर्शकदीर्घा बस्ने ठाउँ खाली गरिएको छ । बाल्कोनी र तल हलका खाली भाग पनि सांसद बस्नका लागि व्यवस्थापन गरिएको छ । सांसदलाई सुरक्षित गर्नका लागि सचिवालयले तापक्रमयन्त्र जोड्नुका साथै स्यानिटाइजरको पनि व्यवस्था गरिसकेको छ । प्रवक्ता पाण्डे भन्छन्, ‘कोरोना प्रकोपको वृद्धि सँगसँगै हिउँदे अधिवेशन व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि सचिवालयले मापदण्ड बनाएर काम गरेको छ ।’

संसद्को छैटौँ अधिवेशन २६ वैशाखमा सुरु भई १८ असारमा सकिएको थियो । नेकपाभित्र तीव्र शक्तिसंघर्ष भएपछि प्रधानमन्त्री ओलीले पार्टीभित्र र सभामुखसँग समेत छलफल नगरी अधिवेशन अन्त्यका लागि सिफारिस गरेका थिए ।

विपक्षीलाई पनि छैन अधिवेशनको हतार

सामान्यतया संसद्लाई विपक्षीको थलो मानिन्छ । तर, अधिवेशन बोलाउने विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका कमजोर देखिएको छ । औपचारिकताका लागि बैठक बोलाउन आह्वान गरे पनि कांग्रेसले सरकारमाथि निर्णायक दबाब भने बनाएको छैन ।

प्रधानमन्त्री ओलीकै निमन्त्रणामा कांग्रेस सभापति शेरबहादुर देउवाले पटक–पटक गरेका भेटघाटमा राजनीतिक नियुक्तिको भागबन्डाका विषयमा छलफल भए पनि देउवाले संसद् बैठक बोलाउन माग गरेका छैनन् । संसद् बैठक बोलाउने विषयमा देउवाले औपचारिक रूपमा बोलेकासमेत छैनन् ।

यसबीचमा सत्तासाझेदारीदेखि संवैधानिक निकायमा नियुक्तिसम्मका विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच पटक–पटक संवाद भएका छन् । वैशाखयता मात्रै संवैधानिक आयोगमा नियुक्ति र समसामयिक राजनीतिक छलफलका लागि ओली र देउवाबीच सातपटक भेट भएको छ । ओली र देउवाबीच १२ वैशाख, १७ असार, ८ साउन, ९ साउन, १ भदौ, ७ मंसिर र २६ मंसिरमा संवैधानिक आयोगमा नियुक्ति र राजनीतिक मुद्दामा छलफलका लागि भन्दै भेट भएको छ ।

संकटका वेला सरकारले जनपक्षीय काम गर्न नसकेको कांग्रेसको आरोप छ । तर, जनताका मुद्दा उठाउने थलो संसद्को अधिवेशन बोलाउनेबारे भने ठोस पहल गर्न सकेन, जब कि संसद्को एकचौथाइ सांसदले आह्वान गरे बैठक बोलाउन सकिने संवैधानिक व्यवस्था छ । एकचौथाइ सदस्य पु¥याएर अधिवेशन आह्वान गर्ने गृहकार्यमा लागे पनि त्यसको प्रस्ट स्वरूप नभएकाले अघि बढ्न नसकेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बताए । ‘सदनको बैठक बोलाउनका लागि सदनमा भएका एकचौथाइ सदस्यले दस्तखत गरेर हामीले आह्वान ग¥यौँ भने पनि हुन्छ । तर, अहिले कांग्रेससँग एकचौथाइ सदस्य छैनन् । त्यसका लागि पनि हामीले गृहकार्य गरेको हो । अन्य राजनीतिक दलसँग पनि संवाद गरिएको हो । तर, यसमा प्रस्ट स्वरूप नभएकाले अगाडि बढ्न सकेको छैन,’ उनले भने ।

कांग्रेसले २३ मंसिरमा बैठक बोलाउने विषयमा संसद् खुलाउन सर्वदलीय बैठकमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो भने त्यसअगाडि १९ मंसिरमा पदाधिकारी र पूर्वपदाधिकारी बैठकबाट अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको थियो । यसबाहेक १४ असोजमा विशेष अधिवेशन माग गर्ने पदाधिकारी र पूर्वपदाधिकारी बैठकको अनौपचारिक निर्णय थियो । १८ असारमा हठात्मा संसद् अधिवेशन अन्त्य गरेकोमा विज्ञप्तिमार्फत कांग्रेसको आपत्ति जनाएको थियो ।

केन्द्रीय समितिमा यसबारे निर्णय पनि भएको छैन । पार्टीभित्रका प्रतिपक्षी र युवा नेताले संसद् अधिवेशन नभए, विशेष अधिवेशन बोलाउने विषयमा पार्टीले पहल लिनुपर्ने पटक–पटक माग गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १२ असोजमा देउवालाई बुझाएको २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ, ‘प्रमुख विपक्षी पार्टीको जिम्मेवारीअनुरूप संसद् र सडकबाट सरकारका गतिविधिमाथि खबरदारी गर्नुपर्ने भूमिकाबाट पार्टी नेतृत्व कर्तव्यच्युत भएको छ ।’ पौडेल समूहको ज्ञापनपत्रपछि त्यसमाथि छलफल गर्न बसेका अनौपचारिक बैठकमा पनि नेताहरूले सरकारले संसद् हठात्मा बन्द गरेर गल्ती गरेको भन्दै संसद् महाधिवेशनको माग गर्नुपर्ने बोलेका थिए । तर, २८ कात्तिकमा बसेको केन्द्रीय समितिले भने त्यसबारे कुनै निर्णय गरेन ।

तनहुँमा नेता पौडेलमाथि आक्रमणको घटनापछि १९ मंसिरमा देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका थिए । सो बैठकले भने अविलम्ब संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । २३ मंसिरमा बसेको सर्वदलीय बैठकमा सभापति देउवाले बोलेनन् । पार्टीका तर्फबाट बोल्ने अन्य नेताले संसद् अधिवेशनको कुरा उठाएका थिए । नयाँ पत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान
२०८३ श्रावण २८, बिहिबार
एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन
२०८३ श्रावण २८, बिहिबार
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
२०८३ श्रावण २८, बिहिबार
राष्ट्रिय सभा बैठक : ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग सांसदको माग
२०८३ श्रावण २८, बिहिबार
पोखरालाई पर्यटनसँगै ‘आइटी हब’ बनाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
२०८३ श्रावण २८, बिहिबार
सरकारी पूजा सामग्रीसहित डोटीबाट बडीमालिकातर्फ निस्कियो ‘पेटारो’
२०८३ श्रावण २८, बिहिबार
पश्चिमी देशमाथि आक्रमण गर्ने पुटिनको चेतावनी
२०८३ श्रावण २८, बिहिबार