असार ५, २०८३ शुक्रबार June 19, 2026

हिउँदे अधिवेशनको मुखमा ल्याइएको अध्यादेश बदरयोग्य छ : देव गुरुङ (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अध्यादेश अपर्झट आयो । सत्तारुढ दलको प्रमुख सचेतकको हिसाबले तपाईंले यसलाई कसरी लिनु भएको छ ?

अध्यादेश आयो भन्ने कुरा आएको छ तर हेर्न पाइएको छैन । पहिले पनि उहाँहरुले ल्याउनु भाथ्यो । यो अध्यादेशबाट शासन गर्ने शैली अत्यन्तै अलोकतान्त्रिक विधि हो । त्यसमाथि सदनको हिउँदे अधिवेशनमा संघारमा आइसक्यो । सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्याउनु बेठीक छ । यो सर्वसत्तावादी र एकाधिकारवादी मूल्यमान्यता र चिन्तन प्रणालीको उपज हो ।

आजको संवैधानिक परिषद्को बैठकमा सभामुख जानु भएन । अनि आजै अध्यादेश पनि आयो । यसमा कसको के बाध्यता पर्‍यो ?

कतिपय संवैधानिक संकट आएका बेला र कानुनले कभर नगर्ने कुरामा र सदनको बैठक नभएको बेला अपवादका रुपमा अध्यादेश आउनै सक्दैन भन्ने होइन । तर अहिले संवैधानिक परिषद्को बैठक नगरी नहुने के आपत आइपरेको छ ? दुई तीन वर्षसम्म खाली रहेका पदहरु अहिले नै भर्नुपर्ने के पर्‍यो ? सदनका दुई अधिवेशनका बीच ६ महिनाभन्दा बढी ग्याप गराउनु हुँदैन । यस हिसाबले असारको १८ गते स्थगीत भएको बैठक पुस १७ मा बस्नुपर्छ । १० दिनजति सांसदहरुलाई बाटोको म्याद दिनुपर्‍यो । यसैले अहिले हिउँदे अधिवेशनको मुखमा अध्यादेश ल्याउनु कुनै पनि हिसाबले उपयुक्त छैन । यस किसिमको व्यवहारबाट संविधान र लोकतान्त्रिक मूल्यको रक्षा हुँदैन । त्यसैले यो बदरयोग्य छ ।

नेकपामा दुई अध्यक्षको विवाद पनि छ । पार्टी बैठक पनि जारी भइरहेका बेला आएको अध्यादेशले फुटको संभावनालाई झन् बढाउँछ भन्ने टिप्पणीहरु पनि सुनिन्छन् । तपाई के भन्नुहुन्छ ?

यसबाट पार्टी बैठकलाई त झनै निषेध गर्ने प्रवृति देखियो । बैठक चलिरहेको छ तर बैठकमा छलफल नहुने, निर्णय नहुने तर अर्कोतिरबाट अध्यादेश जारी हुने । यसले त कस्तो मूल्य मान्यता स्थापित गर्छ ? त्यसैले यो पार्टीको विधान र मुलुकको संविधान र संसदीय परम्परा कुनै पनि कोणबाट सिद्ध हुने कदम होइन ।

तर, सभामुखले पनि त पार्टी विवादमा एउटाको पक्ष लिएर बैठकमा नजानु भएको भनेर आलोचना भएको छ नि ! यसमाचाहिँ के भन्नुहुन्छ ?

बैठकमा पुग्ने नपुग्ने, कहिले को अनुपस्थित कहिले को अनुपस्थित हुने त विगतमा पनि हुन्थ्यो नि । यो नौलो प्रवृति त होइन । कोही अनुपस्थित भयो भनेर अध्यादेशै ल्याउने ? यो कुरा कसरी जस्टिफाइ हुन्छ ?

प्रमुख सचेतकबाट तपाईको राजीनामा मागिएको कुरा पनि आएको छ । यो कुराचाहिँ के हो ?

मैले मिडियामा यसबारे केही बोलेको छैन । किनभने यो पार्टीभित्रको आन्तिरक विषय हो । पार्टीभित्र यस्ता विषयमा कुराहरु उठ्छन्, छलफल हुन्छन् । यो पार्टीले टुंगो लगाउने कुरा हो । कुनै व्यक्तिको लेनदेनको कुरा त होइन । मलाई यो सार्वजनिकरुपमा छलफल गर्नुपर्ने विषय हो भन्ने लाग्दैन । छलफलको विषयमा लोकतान्त्रिक संविधान र पार्टीको विधानको पालना भएको छ कि छैन भन्ने हो । पार्टीको विधानले त पार्टी कमिटीले केके गर्ने, कुन विषयमा कसरी टुंग्याउने भन्ने व्यवस्था गरेको छ । त्यसैअनुसार नेताहरुको आपसी सहमतिमा चल्दै आएको हो । पार्टी कमिटीका छलफलमा चाहिँ नजाने अनि बाहिर व्यक्तिको लेनदेनको विषयजसरी लैजाने त निषेधवादी चिन्तन हो, फरक मतलाई निषेध गरिएको हो ।

प्रधानमन्त्रीले तपाईंको राजीनामा माग्नु भएकोचाहिँ हो कि होइन ?

हो होइन भन्ने मुख्य कुरा होइन । तपाई मैले बोलेका कुराहरु हेर्नुस्, मैल व्यक्ति वा कुनै पात्रका बारेमा कुरै गर्दिनँ । म सैद्धान्तिक विषयमा मात्र कुरा गर्छु । विधि र प्रक्रियाको कुरा गर्छु । मेरै सवालमा पनि त्यही हो । पार्टीको प्रमुख सचेतकबारे पार्टी कमिटीभित्र छलफल र बहस होला, बाहिर छलफल गर्ने विषय होइन । मिडियामा यस विषयमा छलफल गर्नु उपयुक्त हुँदैन । बहस त हामी कुन दिशामा जाने भन्ने हो । फरक मत राख्ने सबैलाई निकाल्नेजस्तो सर्वसत्तावादी अधिनायकवादी चिन्तनबाट अघि जाने कि पार्टी बाहिरका पनि फरक मत राख्नेलाई समेटेर, गोलबन्द गरेर लाने लोकतान्त्रिक चिन्तनलाई अंगिकार गर्ने भन्ने हो ।

तपाईंको भनाईको आसय प्रधानमन्त्री अधिनायकवादी बाटोमा जानुभयो भन्ने हो ?

कतिपय सार्वजनिक सरोकारका विषयमा पार्टीभित्रमात्रै निर्णय गरेर पुग्दैन । त्यसमा सबैको सहमति लिएर साथै लिएर जानुपर्ने हुन्छ, लोकतान्त्रिक विधिमा । उहाँले यसतर्फ सोच्नु भएको छ कि छैन, उहाँमा कुन प्रवृतिले काम गरिरहेको छ, कस्तोखाले चिन्तनले काम गरेको छ, कसको कुरा सुन्नुभएको छ, कसको भूमिका के भन्ने विषयमा भन्ने कुरा भएन । किनभने, व्यक्तिका सोचहरु अदलाबदली, फेरबदल भइरहन्छन् । त्यसैले पात्रका बारेमा टीकाटिप्पणी गर्नु महत्वपूर्ण होइन । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार