असार ५, २०८३ शुक्रबार June 19, 2026

प्रधानमन्त्रीले आफूसँग हुँदै नभएको अधिकारको प्रयोग गर्नुभयो – सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संविधानको धारा ७६ र ८५ प्रयोग गरी सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् विघटन भएको छ, संविधानतः यो कति जायज छ ? 

संविधानको धारा ८५(१) जुन छ, त्यसमा त खालि संसद्को आयुको कुरा मात्र छ । धारा ७६ (७)को प्रयोग गरी संसद् विघटन गरिएको छ । त्यसमा प्रस्टसँग के भनिएको छ भने निर्वाचन भएपछि एउटै पार्टीको बहुमत आयो भने जो संसदीय दलको नेता हुन्छ, उही प्रधानमन्त्री हुन्छ, २५ जनासम्म मन्त्री हुन्छन् । त्यो भएन भने दुईवटा दल मिलेर बहुमतको सरकार बनाउने हो । र, त्यो पनि भएन भने राष्ट्रपतिले संसद्मा भएको सबैभन्दा ठूलो दललाई दिने हो, त्यस्तो प्रधानमन्त्रीले ३० दिनभित्र आफूसँग संसद्मा बहुमत छ भनेर देखाउनुपर्छ । त्यो तीनै अवस्था भएन र सरकार गठन हुन सकेन भने प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘सरकार गठन हुने अवस्था छैन, नयाँ निर्वाचनतर्फ जानुपर्छ’ भनेर लेख्ने हो । ७६(७)को मर्म यही हो । त्योबाहेक पूरै संविधानमा संसद् विघटनबारे कहीँ केही छैन ।

त्यसो भए अहिलेको अवस्थामा संसद् विघटन गर्न मिल्दैन ? 

अहिले असाध्यै हल्का रूपमा संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय भयो, जुन मिल्दै मिल्दैन । संविधान एकातिर छ, निर्णय अर्कोतिर छ । प्रधानमन्त्रीले आफूसँग हुँदै नभएको अधिकारको प्रयोग गर्नुभयो ।

अहिलेको अवस्था भनेको बहुमतको सरकार भएको हो । एउटा दलभित्र झगडा हुँदा के गर्ने भन्ने प्रावधान संविधानमा छैन । ०४७ सालको संविधानमा चाहिँ प्रधानमन्त्रीलाई आफूले राम्रोसँग काम गर्न पाइनँ भन्ने लाग्यो भनेर सजिलै संसद् विघटन गर्न सक्ने व्यवस्था थियो । तर, ०७२ सालको संविधानमा त्यो अधिकार हटाइएको छ । संविधान निर्माणको क्रममा संविधानसभामा एउटा छलफल भएको थियो– ०५२ सालमा गिरिजाप्रसाद कोइरालाले, पछि मनमोहन अधिकारीले र त्यसपछि शेरबहादुर देउवाले संसद् विघटन गरे, विगतमा यसरी पटक–पटक संसद् विघटन हुँदा अस्थिरता भयो भन्ने सबैले महसुस गरे । त्यही भएर अहिलेको संविधानमा त्यो प्रावधान नराखिएको हो ।

बरु, अहिलेको परिस्थितिमा के हुन सक्थ्यो भने वर्तमान प्रधानमन्त्रीको पार्टी फुटेर दुईवटा समूह भयो र उनले बहुमत पाएनन् भने विश्वासको मत लिँदा पुगेन भने अर्को निर्वाचनतिर जान सक्थे । सरकार नै गठन हुन नसक्ने अवस्थामा यसरी निर्वाचनमा जाने भन्ने अहिलेको संविधानको मर्म हो । तर, अहिलेको अवस्थामा त संसद् विघटन गरेर नयाँ जनादेश लिने कुरा संविधानमा छैन ।

सरकारले गरेको त्यस्तो सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै कार्यान्वयन गरिदिनुभयो । संविधान उल्लंघनमा उहाँ पनि हिस्सेदार देखिनुभयो नि ? 

उहाँले प्रधानमन्त्रीको सिफारिस आउनेबित्तिकै फास्ट निर्णय गरेको देखिन्छ । अलि बुझेर, संविधानविद्हरूलाई वरिपरि राखेर छलफल गरेपछि मात्रै निर्णय गर्नुभएको भए हुन्थ्यो । अब भोलि के हुन्छ भन्न सकिन्न । नेपालमा ०५९ मा अन्त्य भएको संसद् ०६३ सालमा ब्युँतियो । अब यो विषयमा अदालतले के गर्ने हो भन्न सकिन्न, व्याख्या त हुन्छ ।

चुनाव भनेको सामान्य कुरा होइन । सरकारको खर्च नै कति धेरै हुन्छ । बहुमतको सरकारसमेत नटिक्ने किन ? यो त कल्चर नै भएन नि ! भारतमा नरसिंह राव हुँदाखेरि उनले ठोकठाक गरेर, अरू पार्टीहरूलाई ल्याएर पनि पाँचै वर्षसम्म सरकार चलाए । यहाँचाहिँ एउटै पार्टीले बहुमत ल्याउँदा पनि कल्चरै भएन नि ! ओलीजीले प्रजातन्त्र चाहिन्छ भने निर्वाचन गर्नुपर्छ भन्नुभएछ । निर्वाचन हरबखत गरेर हुन्छ र ? कोरोनाका कारण जनता अहिले खान नपाउने अवस्थामा छन् । रोजगारी र व्यवसाय ध्वस्त भएको छ । यस्तो अवस्थामा अर्बौँ खर्च गरेर चुनाव गराउने ? तिनै जनतासँग उठाएको करले चुनाव गराउने होइन ?

अहिलेको राजनीतिक घटनाक्रमको निकास के होलाजस्तो लाग्छ ? 

यसै भन्न सकिँदैन । अनुमानको कुरा गर्दा अदालतमा मुद्दा लम्बिँदै गएर ओलीले चुनाव गराउन पनि सक्छन् । सडकबाट अर्को निर्णय हुन पनि सक्छ । राजनीतिमा कि सडकबाट, कि अदालतबाट निर्णय हुन्छ । सडकमा जनता ओर्ले भने ओलीजीले पनि धान्न नसक्ने अवस्था आउन सक्छ । किनकि उनले जुन काम गरेका छन्, त्यो संविधानसम्मत छैन । आफूले गल्ती गरेपछि त मान्छे कमजोर नै हुन्छ नि ।

सरकारले संवैधानिक परिषद्सम्बन्धी जुन अध्यादेश ल्यायो, त्यो कत्तिको संविधानसम्मत छ ? 

त्यो त संविधानसम्मत नै होइन नि ! संविधानमा पाँचजना बसेर सहमतिमा नियुक्ति गर्नुपर्ने कुरा छ । अध्यादेश ल्याएर जथाभावी बैठक बसेर नियुक्ति गर्ने कुरा मिल्दै–मिल्दैन । संविधानका कुरा काटेर अध्यादेश ल्याउनु राम्रो होइन ।

तर, अध्यादेश ल्याएपछि बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पनि सहभागी हुनुभयो । त्यही बैठकले नियुक्त गरेका निर्णयहरू आइतबार सार्वजनिक भएका छन् । यसलाई कसरी हेर्नुभएको छ ? 

त्यो त आ–आफ्नो कुरा हो । अडान लिनेले अडान लिन्छन्, नलिनेले लिँदैनन् । यी व्यक्तिगत कुरा हुन् । कसैले राष्ट्रको समस्या हो भनेर अडान लिन्छन्, कसैले मेरो पदीय कुरा हो भन्छ जिम्मेवारी लिँदैन । हुन त आफैँ बसेर निर्णय गरिएको मुद्दा पनि हेर्नुपर्ने हुन्छ । संवैधानिक इजलासमा भएपछि मुद्दा त हेर्नैपर्यो ।

संसद् विघटन र अध्यादेश प्रकरणको भविष्य के हुन सक्छ भन्ने लाग्छ ? 

देश सही बाटोमा गएको छैन । संविधानलाई कसैले पनि मिच्न मिल्दैन । निर्वाचन भएको तीन वर्षमै फेरि निर्वाचनमा जान त गाह्रै छ नि ! यस्तो अवस्थामा चुनावमा जान ओलीजीलाई नै गाह्रो हुन सक्छ । नाजायज कुरालाई समर्थन गरेर अघि बढ्न त गाह्रो हुन्छ नि ! अहिलेका जनताले धेरै बुझेका छन् । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार