असार ५, २०८३ शुक्रबार June 19, 2026

ओलीले आफू हार्ने चुनाव किन गराउँछन् ? – डा. शशांक कोइराला (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा मतान्तर देखिरहेका बेला तपाईंको सार्वजनिक अभिव्यक्ति पनि प्रस्ट छैन नि । तपाईंको धारणाचाहिँ के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक बाटोबाट प्रतिनिधिसभा विघटन गरिदिएपछि संविधान अहिले ‘आउट अफ ट्र्याक’ छ । पहिला संविधानलाई ‘ट्र्याक’ मा ल्याउनुपर्छ । त्यो भनेको प्रतिनिधिसभा पुनःस्थापना नै हो । मेरो भनाइ पनि संविधानको रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापनामै पार्टी जानुपर्छ भन्ने हो ।

सभापति शेरबहादुर देउवासँग तपाईंले यसबीचमा दुईपटक भेट्नुभयो । उहाँसँग भेट्नुअघि एउटा, भेटेपछि अर्कै धारणा आउने गरेको पनि भनिन्छ नि ?

त्यस्तो होइन । पछिल्लोपटक शेरबहादुरजीले पार्टीको अधिवेशन र प्रदेश सरकारविरुद्ध आएका अविश्वास प्रस्तावका विषयमा छलफल गर्न बोलाउनुभएको थियो । अहिले प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । यस विषयमा कसलाई सहयोग गर्ने भन्नेबारेमा छलफल भएको थियो ।

नेकपाको कुन पक्षसँग गठबन्धन गर्ने कुरा भइरहेको छ त ?

अहिले छलफलमै छौं । मेरो धारणा प्रदेश १ मा नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई दिऊँ, वाग्मतीमा हामीले मुख्यमन्त्री लिनुपर्छ भन्ने छ । सभापतिजीलाई पनि यही कुरा भनेको छु । उहाँले अरू साथीहरूसँग पनि छलफल गर्छु भन्नुभएको छ ।

प्रदेश सरकार निर्माणमा कांग्रेसको गठबन्धन दाहाल–नेपाल समूहसँग हुन लागेको हो ?

तल्लो तहमा प्रधानमन्त्री केपी ओलीको समूहकै वर्चस्व छ । हाम्रो मुख्य प्रतिस्पर्धा पनि ओली समूहसँगै हुने देखिन्छ । त्यसैले दाहाल–नेपाल समूहसँग मिलेर जाँदा राम्रो हुन्छ भन्ने मेरो धारणा हो । सभापतिजीले यस विषयमा अरू साथीसँग पनि छलफल गरेर निर्णय गरौंला भन्नुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ओली समूहसँगै गठबन्धन गर्नुपर्छ भन्नेमा जोड दिनुभएको चर्चा साँचो हो ?

त्यस्तै देखिन्छ । शेरबहादुरजीले सिफारिस गरेका व्यक्तिलाई ओलीजीले संवैधानिक आयोगमा ल्याइदिनुभयो । शेरबहादुरजी र ओलीजीमा पहिलादेखि नै सफ्टनेस देखिन्छ । उहाँकी सासू (प्रतिभा राणा) लाई राजदूतबाट अहिलेसम्म हटाइएको छैन । जबकि सँगै राजदूत भएका डा. चोपलाल भुसाललाई हटाइदिए । यसले पनि उहाँहरूबीचको निकटता छ भन्ने देखाउँछ ।

प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिना अध्यादेश जारी गरेर बसेको संवैधानिक परिषद्को बैठकले गरेका सिफारिसलाई कांग्रेसले स्वीकार गरेको हो ?

शेरबहादुरजीले भनेका मान्छे सिफारिसमा परेकाले पनि पार्टी नेतृत्व यसमा चुप बसेको छ ।

तपाईंहरू पनि बोल्नुभएको छैन नि ?

सभापतिजीले बोल्नुहुन्न । हामीले के बोल्ने ?

यो त प्रणालीलाई भत्काउने काम भएन र ?

उहाँले केही बोल्नुभएको छैन । व्यक्तिगत रूपमा उहाँका मान्छे परेको भएर पनि नबोल्नुभएको होला । यसले प्रणालीलाई कमजोर बनाउँछ । अब हामी बोल्नुपर्छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्दै नबोल्नुहोस् भनेर सभापतिजीले तपाईंलाई फकाउनुभएको चर्चा छ नि ?

शेरबहादुरजीको धारणा निर्वाचनमा जानुपर्छ भन्ने नै थियो । मैले निर्वाचनभन्दा महत्त्वपूर्ण त संविधान बचाउने हो नि भनें । संविधानलाई बचाउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने ‘आर्गुमेन्ट’ मैले राखें । उहाँले हुन्छ अरूसँग पनि छलफल गरौंला भन्नुभयो ।

सार्वजनिक रूपमा निर्वाचनको विरोधमा नजानु पनि भन्नुभएको हो ?

अँ, त्यसरी नै भन्नुभयो । मैले निर्वाचनको विरोध कहाँ गरेको छु र ? पहिला संविधानलाई ‘ट्र्याक’ मा ल्याउन पुनःस्थापना हुनुपर्छ, त्यसपछि निर्वाचनमा जानैपर्छ भनेको हो । वैशाखमा निर्वाचन नहुने अवस्थामा पार्टीको महाधिवेशन प्राथमिकतामा पर्नुपर्छ भनेको छु ।

पछिल्लोपटक तपाईं र सभापतिजीबीच सहकार्यको विषय पनि चर्चामा छ नि ?

उहाँले सहकार्यको केही पनि प्रस्ताव मसँग राख्नुभएको छैन । उहाँ आफैं सभापति लड्न तयारी गरिरहनुभएको पाएको छु । म पनि सभापतिको तयारीमै छु । सहयोग गर्ने कुरा उहाँले पहिला नै गर्नुभएको थियो । अहिले खास केही त्यस्तो कुरा भएको छैन ।

केन्द्रीय कार्यसमिति बैठक लम्बिँदै जानुको कारणचाहिँ के हो ?

बैठकमा एजेन्डा के बनाउने भन्नेबारेमा छलफल भइरहेको छ । महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा कतिपय विवाद छन् । तिनलाई मिलाउन छलफल भइरहेको छ । बैठक बोलाएर खालि भाषण गर्ने कुरा मात्रै भएन । केही ठोस निर्णय पनि गर्नुपर्‍यो । त्यसका लागि आन्तरिक छलफल गरेर बैठक बस्ने भनिएको छ । फेरि वरिष्ठ नेता रामचन्द्र पौडेलजी विराटनगर जाने कुरा गर्नुभएको छ । उहाँ फर्केपछि बैठक बस्नुपर्ने भएकाले पनि हो ।

केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनको विषयमा थप केही निर्णय लिन्छ ?

लिनुपर्छ । प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक भनेर हामी विरोध प्रदर्शनमै गइसकेका छौं । कांग्रेसको धारणा के हो भन्नेमा अब कसैमा अन्योल नहुनुपर्ने हो । कोर्टलाई पनि ।

निर्वाचनको पक्षमा पार्टी सभापति निरन्तर लागिरहनुभएको छ । तपाईंले आगामी वैशाखमै निर्वाचन हुने सम्भावना कत्तिको देख्नुभएको छ ?

वैशाखमै चुनाव हुन्छ भन्ने मलाई लाग्दैन । ओलीले आफू हार्ने चुनाव किन गराउँछन् ? वैशाखमा चुनाव हुन नसक्ने अर्को कारण नेकपा औपचारिक रूपमा फुट्नका लागि पनि समय लाग्ने देखिन्छ ।

निर्वाचन आयोगले अहिलेसम्म चुनाव चिह्नको विषयमा निर्णय दिएको छैन । जुन बेला आयोगले निर्णय दिन्छ, नपाउने पक्ष फेरि अदालत जाने सम्भावना छ । अदालतमा गयो भने अर्को दुई महिना निर्णय गर्न लाग्छ । अनि कसरी वैशाखमा निर्वाचन हुन्छ । त्यसैले मैले पार्टीको महाधिवेशनलाई प्राथमिकता दिनुपर्छ भनेर भन्दै आएको छु ।

तपाईंसँगको भेटमा सभापतिजी निर्वाचन हुनेमा कतिको ढुक्क देखिनुहुन्थ्यो ?

शेरबहादुरजीले बारम्बार चुनाव हुन्छ भन्नुहुन्छ । उहाँलाई विश्वास छ तर मलाई विश्वास छैन । २०६४ मा गिरिजाप्रसाद कोइरालाले पार्टी हार्छ भन्ने जान्दाजान्दै पनि चुनाव गराउनुभएको थियो । ओलीमा त्यस्तो खालको सोचाइ देखिन्न ।

कांग्रेसले जिल्ला, संघीय, प्रदेश निर्वाचन क्षेत्र हुँदै पालिका र वडास्तरमा विरोधका कार्यक्रम लगेको छ । यो कार्यक्रमको स्वरूप हेर्दा त निर्वाचनको तयारीमा अघि बढेको जस्तै देखियो नि ?

एक किसिमले त्यो तयारी त हो । अहिले नभए पनि निकट समयमा निर्वाचन त हुन्छ नै । जनतामा जानका लागि पार्टीहरूलाई एक किसिमको दबाब पनि हो । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार