असार ५, २०८३ शुक्रबार June 19, 2026

कोभिसिल्ड खोप तेस्रो चरणको ट्रायल भइसक्यो – डा. झलक शर्मा गौतम खोप शाखा प्रमुख, स्वास्थ्य सेवा विभाग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिले भारतबाट १० लाख डोज खोप आउन लागेको जानकारी आएको छ, यो खोप कतिजनालाई लगाउन पुग्छ ? 

भारतले नेपाल सरकारलाई १० लाख डोज खोप उपलब्ध गराएको छ । तर, यो एकजनालाई दुई डोज लगाउनुपर्छ । त्यसैले सामान्यतया १० लाख डोजले पाँच लाख जनसंख्यालाई लगाउन पुग्ने हो । तर, १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन । त्यसमा विभिन्न प्राविधिक कारण हुन्छन् । एक भायलमा १० डोज खोप हुन्छ । हरेक भायल खोलेपछि तुरुन्तै सक्नुपर्छ । ६ घन्टापछि लगाउन मिल्दैन । त्यसबीचमा लगाएर सकिएन भने पनि त्यसलाई फाल्नुपर्छ । त्यसैले अहिले आउन लागेको खोप करिब चार लाख नागरिकलाई लगाउन सकिन्छ भन्ने अनुमान छ ।

खोप कहिलेदेखि लगाउन सुरु हुन्छ ? 

हामी समय खेर फाल्ने पक्षमा छैनौँ । योबीचमा स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्छ, खोप ७७ जिल्ला पु¥याउनुुपर्छ, यसका लागि ढुवानी पनि व्यवस्थित बनाउनुपर्छ । यी काम फास्ट ट्र्याकबाट अगाडि बढाउनेछौँ । खोप लगाउने दिन अहिले नै तोकेर भन्न सक्ने अवस्था छैन । तर, खोप झरेको १० देखि १५ दिनभित्र लगाउन सुरु गर्छौँ ।

यो नयाँ खोप हो, स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था के गर्नुभएको छ ? 

अहिले नेपालमा नियमित खोप लगाउने करिब नौ हजार कर्मचारी छन् । नयाँ खोप भएकाले सामान्य तालिमको आवश्यकता स्वास्थ्यकर्मीलाई पर्छ । अहिले त गाउँगाउँमा खोप केन्द्र छन् । अहिले आएको खोप सबै केन्द्रमा पुग्छ कि पुग्दैन ? अहिले नेपालमा १५ हजार खोप केन्द्र छन् । पहिलो चरणमा थोरै संख्यामा खोप लगाउने भएकाले सबै १५ हजार केन्द्रमा यो खोप पुग्दैन । सामान्यतया अहिले जिल्ला सदरमुकामकेन्द्रित खोप अभियान चल्नेछ । तर, कतिपय स्थानमा जनसंख्या र भूगोलका आधारमा अन्य ठाउँमा पनि खोप चल्नेछन् । काठमाडौं र तराईका क्षेत्रमा जहाँ जनसंख्या बाक्लो छ, त्यहाँ बढी खोप केन्द्र सञ्चालन हुनेछन् ।

खोप ढुवानीको तयारी कसरी गरिएको छ ? कुन जिल्लामा कति पठाउने के तयारी भएको छ ? 

भारतले बिहीबार १० लाख डोज खोप विमानस्थलमा हस्तान्तरण गर्दै छ । हामीले केन्द्रीय खोप भण्डार टेकु ल्याउनेछौँ । खोप पाउने संख्याका आधारमा रुट मिलाएर प्रदेशमा खोप पठाउँछौंँ । प्रदेशले कुन जिल्लामा कति छन् खोप पाउने भनी एकसरो हिसाब भएको छ । तर, अहिले खोप कम आएकाले वितरणमा पनि फरक पर्नेछ ।

तर, अहिले आएको खोप करिब डेढ प्रतिशत जनतालाई मात्र पुग्नेछ । बाँकी जनताका लागि खोप ल्याउन के तयारी छ ? 

अहिले पहिलो चरणको खोप अनुदानमा आएको छ । पुनः अनुदानमा पनि आउन सक्छ । कोभ्याक्स सुविधामार्फत २० प्रतिशत दिने भनिएको छ । त्यो खोप पनि आउन सक्छ । खरिद गर्ने बाटो पनि खुला छ । खोप ल्याउन सबै प्रक्रिया खुला भएकाले अहिले आएको १० लाख डोज लगाइनसक्दै थप खोप आउनेछ ।

भारतमा उत्पादन भएको कोभिसिल्ड खोप नेपाल आउँदै छ, यसको प्रभावकारिता कस्तो छ ? 

कोभिसिल्ड खोप तेस्रो चरणको ट्रायल भइसकेर आएको हो । यसको प्रभावकारिता ७० प्रतिशतभन्दा बढी भएको हालसम्मका तथ्यांकहरूले देखाएको छ । भारतमा पनि भर्खर खोप लगाउन सुरु भएकाले यसका विषयमा धेरै बोल्न सक्ने अवस्था हामीसँग छैन ।

भारतमा ठूला नेताले कुनै पनि प्रकारका खोप लगाएका छैनन्, त्यसैले त्यहाँको मिडियामा प्रश्न उठेको छ । जब कि अमेरिकातिर नेताहरूले नै खोप लगाएर जनतामा आत्मविश्वास जगाउने काम गरेका छन्, नेपालमा उच्चपदस्थ अधिकारीले लगाउने विषयमा केही तयारी छ कि छैन ? 

खोप लगाउने काम केही दिनमा सुरु गर्दै छौँ । तर, नेता वा मन्त्रीले सुरुमा लगाउने भन्ने त्यस्तो कुनै निर्णय भएको छैन । उच्च तहमा त्यस विषयमा छलफल भए हामीलाई जानकारीमा आएको छैन । हामी सामान्य रूपमा खोप लगाउने तयारीमा छौँ ।

यो खोप कसले लगाउन हुन्छ, कसले लगाउनुहुँदैन ? यो विषयमा केही ‘प्रोटोकल’ छ ? 

शरीरमा एलर्जी हुने व्यक्ति, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्तिले यो खोप लगाउनुहुँदैन । अरूले खोप लगाउने वा नलगाउने भनेर आफैँ निर्णय गर्न सक्छन् । यो नितान्त व्यक्तिगत निर्णय हो । कहिलेकाहीँ खोप लगाउँदा प्रतिकूल असर पर्न सक्छ । त्यस्ता समस्याबाट आत्तिनुपर्दैन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार