असार ५, २०८३ शुक्रबार June 19, 2026

अब जनतासँग क्षमा माँग्दै संयुक्त आन्दोलनका लागि ढिला नगरी जुट्नुपर्छ । – गंगा श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पहिलो कुरा, प्रधानमन्त्री ओलीको यस कदम असंवैधानिक र अलोकतान्त्रिक मात्रै नभएर प्रतिगामी पनि छ । किनकि, संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको छ । त्यसैले संसद विघटन असंवैधानिक छ । लोकतन्त्र भनेको विधिको शासन हो । विधिको शासनविरुद्ध निरंकुश र स्वैच्छाचारी ढंगले संसद विघटन गरिएको छ । त्यसैले पुस ५ को कदम अलोकतान्त्रिक छ ।

राष्ट्रपति र प्रधानमन्त्रीले नै विधि विधान नमान्नु भनेको अधिनायकवादतिरको यात्रा हो । जुन यात्रा देशलाई पछाडि फर्काएपछि मात्रै संभव छ । प्रधानमन्त्रीको यस कदमले देशलाई पछाडि फर्काउँछ । त्यसैले प्रतिनिधिसभाको विघटन सामान्य नभएर प्रतिगामी पनि छ । दोस्रो कुरा, हाम्रो संविधान वेस्ट मिनिस्टरियल सिस्टमको फोटोकपी गरिएको संविधान होइन । संसदीय प्रणालीलाई आफ्नो सापेक्षतामा सुधार गरेर बनाइएको संविधान हो । हाम्रो संविधानमा दुई बर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लान पाइँदैन । त्यस्तै प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार पनि छैन । राजनीतिक अस्थिरताबाट आजित भएर संविधानमा यस्तो व्यवस्था गरिएको हो । जुन कुरा केपी ओलीलाई राम्रोसँग थाहा छ । उनले थाहा भैभै यस्तो कदम चालेका हुन् ।

संसद विघटन गर्ने विशेषाधिकार संसारभर सबै प्रधानमन्त्रीलाई हुन्छ । प्रधानमन्त्रीलाई घेरा हालेर कामै गर्न नदिएपछि ताजा जनादेशका लागि चुनावमा जानु कसरी असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम हुन्छ ? नेपालमा पनि भएकै अभ्यास त हो, होइन र ?

प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार संसारभर होला; तर नेपालमा छैन । विश्वास नलागे संविधान पल्टाएर पढ्नुहोस् । हावामा तिर नचलाउनुहोस् । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार किन छैन भन्ने कुरा मैले अघिनै बताइसकेँ । प्रधानमन्त्रीलाई कसले घेरा हालेर काम गर्न दिएन ? प्रतिपक्षीले कि आफ्नै दलले ? तपाईंको प्रश्न स्पष्ट भएन ।

आफ्नै दलले घेरा हालेर काम गर्न दिएन भन्ने आरोप छ त प्रधानमन्त्रीको ?

पार्टीको आन्तरिक झगडाले देश बर्बाद गर्न पाइन्छ ? संविधान च्यात्न पाइन्छ ? लोकतन्त्रको घाँटी निमोठ्न पाइन्छ ? पार्टीको झगडा मिलाउन नसक्ने अनि देश र जनतासँग बदला लिने ? नालायक प्रधानमन्त्री ! चुनावमा जाने विधि संविधानले तोकिदिएको छ । संविधानभन्दा माथि कोही छैन । हिजो संविधानभन्दा माथि बस्ने राजालाई फालेर सबै बराबर हुने सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएको हो । कसैले संविधानभन्दा माथि छु भन्ने भ्रम नपाले हुन्छ । लोकतन्त्रमा जनता सार्वभौम हुन्छ, शासक होइन ।

तपाईंको विचारमा प्रधानमन्त्रीले संसद विघटन किन गरेका होलान् त ?

यो व्यक्तिको भन्दा पनि विचारको कुरा हो । यसको अर्थ व्यक्तिको महत्वाकांक्षा र भूमिकाले कामै गरेको हुन्न भन्ने चाहिँ होइन । विचारले सधैं आफू अनुकूलको व्यक्ति खोजिरहेको हुन्छ । संसारभरको इतिहासले त्यही भन्छ । समाजमा जहिले पनि मूलतः तीनखाले विचार (शक्ति) हुन्छन् । पहिलो अग्रगामी, दोस्रो पश्चगामी र तेस्रो यथास्थितिवादी । तर मूलतः अग्रगामी र पश्चगामी विचार (शक्ति) बीच कहिले सुषुप्त अवस्थामा त कहिले आमनेसामने रूपमा टक्कर हुनेगर्छ ।

जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन, मधेस आन्दोलनलगायत सबैखाले अग्रगामी आन्दोलनको रापताप रहुन्जेलसम्म पश्चगामी विचार सुषुप्त अवस्थामा दबेर बसेको थियो । अग्रगामीहरू शक्तिशाली भएको बेला यथास्थितिवादीहरू समेत कहिलेकाहीँ अग्रगामी शक्तिको नजिक आइपुग्ने गर्थे ।

अग्रगामी कित्ताको नेतृत्व गर्ने अधिकांश नेताहरूमा देखिएको वैचारिक स्खलन, दिशा भ्रम, चुत्थो जीवन शैलीका कारण उनीहरूले गुमाउँदै गएको नेतृत्व क्षमताको जगमा प्रश्चगामी कित्ता र त्यसका नेतृत्वहरू बलियो हुँदै गए । २०७४ को निर्वाचनपछि प्रतिक्रान्तिको जग ओलीको नेतृत्वमा सुढृढ हुँदै गयो । उनी लगामहीन घोडा बन्दै गए । राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति पश्चगामी शक्तिको पक्षमा अनुकूल बन्दै गयो । र, आज ओलीको उदय भएको छ । आजको प्रधानमन्त्री ओली हिजोको व्यक्ति केपी ओली होइनन् । हिजोको व्यक्ति केपी ओली आज प्रतिगामी संस्था बनेको छ । अर्थात् हिजोको व्यक्ति केपी ओली आज ओलीतन्त्रमा बिकास भएको छ ।

पुस ५ को कदमसँग व्यक्ति केपी ओलीको विगतलाई पनि फर्केर हेर्न जरुरी छ । उनी झापा विद्रोहको आरोपमा १४ वर्ष जेल बसेको कुरा साँचो हो । तर त्यतिकै साँचो कुरा उनी झापा बिद्रोहको वैचारिक पक्षसँग विमति पनि राख्थे । ओलीको राजनीतिक जीवनलाई फर्केर हेर्दा उनी न त गणतन्त्रवादी देखिन्छन् न त सङ्घीयताको पक्षधर । पहिचानको कुरा त उनी सुन्नै चाहँदैनन् । सायद आफू नश्लवादी भएर होला, पहिचानको कुरा गर्नेजति सबैलाई जातिवादी करार गर्छन् । देशको कार्यकारी प्रमुख भएर हिन्दु धर्मको पक्षमा मात्रै जसरी एकोहोरो वकालत गरिरहेका छन्, त्यसले उनी धर्म निरपेक्षताको बिरोधमा छन् भन्ने कुरा पुष्टि गरिरहेको छ । समावेशी/समानुपातिक मुद्दालाई त उनी ठाडै आयातित भनेर ललकार्छन् ।

२०७२ को संविधानको मुख्य उपलब्धिहरू भनेका- गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशी/समानुपातिकता हो । यी चारवटै उपलब्धिहरूको स्वामित्व लिन ओली तयार छैनन् । चिन्ता यहीँनेर हो । जब देशको प्रधानमन्त्रीले नै संविधानको स्वामित्व लिँदैनन् तब संविधानको हालत के होला ? देशको हालत के होला ?

संविधान जलाउने तपाईंहरूलाई संविधानको यत्रो चिन्ता किन परेको होला ?

तपाईंलाई भ्रम नपरोस्, मैले र म आवद्ध पार्टीले संविधान जलाएको छैन । पक्कै पनि अहिले गठन भएको जनता समाजवादी पार्टीभित्र हिजो संविधान जलाउनेहरू पनि हुनुहुन्छ । त्यो उहाँहरूको पार्टीको त्यसबेलाको नीति हो । डा. बाबुराम भट्टराईले संविधान जारी हुनेवित्तिकै संविधानलाई आधा गिलास भरि र आधा गिलास खालीको संज्ञा दिनुभएको थियो । सच्चाई त्यही नै थियो । आज जनता समाजवादी पार्टीले यस संविधानलाई त्यही रूपमा हेर्छ । यस संविधानलाई संसारकै सर्वोत्कृष्ट संविधान भनेर न त कहिल्यै महिमामण्डित गरेका छौँ न त कालो भनेर निरपेक्ष बिरोध गरेका छौँ ।

प्रश्न रह्यो- ओलीले संविधान मास्न खोजेकोमा किन चिन्ता गरेको ? घरको जग रहे न तलाहरू थप्न सकिन्छ । जगै नरहे कहाँ तला थप्ने ? हावामा ? २०७२ को यो संविधान अपूर्ण छ, त्रुटिपूर्ण छ । यसलाई संशोधन गर्दै पूर्ण बनाउनुपर्छ । त्रुटिहरू हटाई त्रुटिरहित बनाउनुपर्छ । हिजो पनि हामीले संविधानको बिरोध गरेका थिएनौं, संशोधन गर भनेका हौँ । आज संविधान नै मास्न खोजेपछि त्यसको रक्षार्थ ढृढतापूर्वक उभिएका छौँ । संविधान बचाउन सके न भोलि संशोधन गर्ने ठाउँ हुन्छ । संविधान नै नरहे केको संशोधन ?

अलगअलग डबलीमा एक्लाएक्लै डम्फू बजाएर संविधानको रक्षा होला त ?

बडो महत्त्वपूर्ण प्रश्न गर्नुभयो । एक्लाएक्लै डम्फू बजाएर केही हुनेवाला छैन । तर संयुक्त नहुँदासम्म एक्लाएक्लै भए पनि त बजाउनु पर्‍यो नि ! संयुक्त आन्दोलनका लागि पहल भैरहेको छ । आशा गरौं, चाँडै ओली प्रतिगमनका विरुद्ध संयुक्त जनआन्दोलन हुनेछ ।

संयुक्त आन्दोलनका लागि कुन पार्टी तयार नभएको हो ? कुन नेता तयार नभएका हुन् ? भन्न मिल्छ ?

घामझैँ छर्लङ्गै छ नि ! भनिरहनु पर्छ र ? नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको निर्णय पर्खौं भन्नेमा हुनुहुन्छ । जसपा र नेकपा त तयारै छौँ ।

तपाईंकै पार्टी अध्यक्ष महन्थ ठाकुरको लाइन पनि शेरबहादुर देउवाको जस्तै होइन र ?

पार्टीमा व्यक्तिपिच्छे आ-आफ्नो धारणा हुनसक्छन् । तर आधिकारिक निर्णय एउटा हुन्छ । पार्टीको आधिकारिक निर्णय भनेको विघटित प्रतिनिधिसभाको पुनर्स्थापना हो ।

सर्वोच्चको निर्णय नपर्खेर किन आन्दोलनमा जान हतारो तपाईंहरूलाई ? अदालतप्रति विश्वास छैन ?

विश्वास छ । विश्वास भएर नै सर्वोच्चलाई सहयोग गर्न खोजेको हो । न्यायाधीशहरू पहिला नेपाली नागरिक हुन् । त्यसपछि न्यायाधीश । हजारौंहजार नेपालीहरूको बलिदानबाट प्राप्त उपलब्धिहरू कुनै सनकी शासकलाई ठीक लागेन भनेर प्रतिक्रान्ति गर्न चाहन्छ भने त्यसको रक्षा गर्ने दायित्व न्यायालयको पनि हुन्छ । हामीलाई विश्वास छ, सर्बोच्चले प्रतिगमनको पक्षमा पक्कै फैसला गर्नेछैन ।

गरे भने…?

नकारात्मक नसोचौं । तैपनि गरिहालेछ भने त्यस्तो निर्णय मान्न नेपाली जनता तयार हुनेछैनन् । किनकि, नेपाली जनतालाई थाहा छ, राणा, पन्चायत, राजतन्त्र अदालतको निर्णयबाट फालिएको थिएन । जनताको बलिदानिपूर्ण संघर्षबाट फालिएको थियो ।

फेरि पनि भन्छु म- ओली प्रतिगमनलाई सच्याउने सबैभन्दा सजिलो र सुरक्षित बाटो भनेको सर्बोच्चको फैसला हो । अहिले नेपाली राजनीतिको बल सर्बोच्चको कोर्टमा छ । देशलाई आन्दोलन, हत्याहिंसातिर धकेल्ने वा प्रतिनिधिसभा पुनर्स्थापना गराएर शान्ति, समृद्धि र अग्रगमनको पथमा हिँडाउने ? सर्बोच्चको निर्णयमा भरपर्नेवाला छ । अविलम्ब निर्णय गरि देशलाई भयानक दुर्घटनामा जानबाट रोकोस् भन्ने चाहना सम्पूर्ण नेपाली नागरिक र राजनीतिक दलहरूको पनि छ ।

२०७८ बैशाख १७ – २७ को चुनाव बहिष्कार गर्नुहुन्छ ?

ओलीले बैशाखमा चुनाव नै गराउँदैन । आफैं हार्ने चुनाव संसारका कुनै तानाशाहहरूले गराएको देख्नुभएको छ ?

गराइहाले भने के गर्नुहुन्छ ?

पहिला प्रतिनिधिसभा पुनर्स्थापना गरेर ट्र्याक आउट भएको राजनीतिलाई ट्र्याकमा ल्याउँ । त्यसपछि चुनाव त छँदैछ । जसपा चुनाव लड्ने पार्टी हो । चुनावदेखि डराएर भाग्दैन । तर ताजा जनादेशको नाममा गरिने असंवैधानिक चुनावको पछि पनि लाग्दैन ।

संवैधानिक निकायहरूमा गरिएको नियुक्तिलाई के भन्नुहुन्छ नि ?

सामान्य विधि प्रक्रियासमेत नपुर्‍याई जबर्जस्ती गरिएको संवैधानिक आयोगहरूको नियुक्ति असंवैधानिक छ । त्यसैले खारेज गर्नुपर्छ । संवैधानिक आयोगहरू भनेका शक्ति सन्तुलनको सिद्धान्त अनुसार बनेका निकायहरू हुन् । यी निकायहरू प्रधानमन्त्रीको भजन गाउने भजनमण्डली होइनन् ।

पुस ५ को ओली प्रतिगमनलाई प्रतिगामी मान्न तयार नहुनेहरूले बुझ्नुपर्छ, प्रतिक्रान्ति एकै दिनमा एकै झट्कामा हुन्न; किस्ताकिस्तामा हुन्छ । सुरुवात पुस ५ को प्रतिनिधिसभा विघटन थियो भने दोश्रो किस्ता संवैधानिक आयोगहरूमा जबर्जस्ती गरिएको नियुक्ति थियो । अब तेस्रो किस्ता संकटकालको रूपमा आउनसक्छ । त्यसपछि नेताहरूको गिरफ्तारी, आन्दोलनकारीमाथि दमनहुँदै सङ्घीयता र धर्मनिरपेक्षताबारे जनमतसंग्रह भन्ने ठाउँसम्म पनि पुग्नसक्छन् ।

आज मात्रै नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई घर घेरा हालेर जबर्जस्ती गिरफ्तार गरिएको छ । केको संकेत हो यो ?

रामकुमारीको गिरफ्तारी केवल व्यक्ति रामकुमारीको मात्रै गिरफ्तारी होइन; आन्दोलनकारीमाथि हमलाको सुरुवात हो । लोकतन्त्रमाथिकै हमला हो । गिरफ्तारीको क्रम बढ्दै जानेछ । गृहमन्त्रीले खुलामञ्चबाटै आन्दोलनकारीहरूलाई जावलाखेलको जूमा लगेर थुन्ने अभिव्यक्ति दिएका थिए । त्यसबाट थाहा हुन्छ, यो सरकारको फासीवादी चरित्र । सरकारी दमन, धडपकड र गिरफ्तारीका लागि तयार भएर बसौं । दमनको प्रतिरोध गर्न एकजुट होऔं ।

ओलीतन्त्रको अन्त्य गर्ने औकात राख्लान् त ओलीइतर दलहरूले ?

संसारमा धेरैजसो तानाशाहहरूको जन्म गरिबी, अन्धराष्ट्रवाद र राजनीतिक अस्थिरताको बीचबाट भएको देखिन्छ । ओलीको लागि भूमि उर्वर बन्दै गइरहेको छ । जसको जिम्मा मूलतः प्रचण्ड-माधव नेकपा र कांग्रेसले लिनुपर्छ । अब जनतासँग क्षमा माँग्दै संयुक्त आन्दोलनका लागि ढिला नगरी जुट्नुपर्छ । संयुक्त आन्दोलन सुरु भएको केही समयभित्रै सबै कुरा छिनोफानो हुन्छ ।

किनकि, राणातन्त्र र राजतन्त्रको अन्त्य यिनै दलहरूले गरेका हुन् । जनता इतिहासका निर्माता हुन् । कुनै तानाशाहले पराजित गर्ननसक्ने फलामे किल्ला हुन् । राजनीतिक दलहरूले त त्यसको अगुवाई गर्ने मात्रै हो । राणातन्त्र र राजतन्त्र फालेका जनताले ६ महिनाभित्र ओलीतन्त्र पनि फाल्नेछन् । हेर्दै जानुहोला । साझापोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार