असार ५, २०८३ शुक्रबार June 19, 2026

यो जित जनताको हो : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि अन्योल र भयको वातावरण सिर्जना भएको थियो । प्रधानमन्त्रीको कदमविरुद्ध तपाईं अदालत पुगेपछि ओलीले तमासा देखाएको भनेका थिए । आज सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएको छ । तपाईंको प्रतिक्रिया के छ ?

यो जनताको जित हो । म वकिल मात्रै होइन, राजनीतिज्ञ पनि हो । यदि सर्वोच्चले संसद् पुनस्र्थापना नगरिदिएको भए राष्ट्र ध्वस्त भएर जान्थ्यो । म यो सन्दर्भमा सर्वोच्च अदालत र न्यायाधीशहरूलाई धन्यवाद र बधाई दिन चाहन्छु, जुन निर्णयले राष्ट्रलाई बचाएको छ । म पूरै समय इजलासमा बसेर हेरेको छु । वकिल बन्धुहरू जसले धेरै मिहिनेत गरे, म उनीहरूलाई पनि बधाई दिन चाहन्छु । सर्वोच्चले आफ्नो महिमा, गरिमा र सम्मान पूर्णरूपले प्राप्त गरेको छ ।

सर्वोच्चले विघटनलाई बदर गरेपछि अब भविष्यमा कुनै पनि प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्दैनन् वा जनमत कुल्चन सक्दैनन् भन्ने देखाएको छ । यसबाट मुलुकले के सिक्ने ?

विघटन खराब चिज हो । तर, यसले हाम्रो देशको जनता र राजनीतिलाई धेरै नै जगाएको छ । हामीले जनताको जितको रक्षा गर्नुपर्छ । यसले देशको उन्नतिको ढोका खोल्न सक्ने सुगम बाटो तयार भएको छ । देशलाई बनाउने हाम्रो कर्तव्य हुन्छ । जनता जागृत छन्, यसलाई प्रयोग गरौँ ।

तपार्इं विगत लामो समयदेखि नेपालको इतिहासका न्यायिक र राजनीतिक घटनाक्रममा प्रत्यक्ष सहभागी हुनुभएको छ, नजिकबाट नियाल्नु भएको छ । ९४ वर्षको उमेरमा पनि संविधानको रक्षार्थ उभिनुभयो । अहिले किन यति चिन्तित हुनुभयो ?

म बनारसमा हुर्केको हुँ । धर्मशास्त्र पनि अध्ययन गरेको छु । एक हिसाबले म गान्धीको चेला पनि हुँ । मेट्रिक पास गरेपछि दर्शनशास्त्र पढ्ने मेरो इच्छा थियो । तर, गान्धीको प्रेरणाले राजनीतिकशास्त्र र अर्थशास्त्रमा मैले बिए पास गरेँ । वकालत मेरो रुचिको विषय हो । न्यायलाई म सबैभन्दा ठूलो मौलिक हक मान्छु । मलाई परिचय र सफलता न्यायक्षेत्रबाटै प्राप्त भयो । त्यसैले मैले न्यायको पक्षमा बोल्नुपर्छ । साथै म युरोपदेखि अमेरिकासम्म विश्वका धेरै मुलुक घुमेको छु । मलाई सबैभन्दा धनी रुस लाग्छ भने त्यसपछि आफ्नै मुलुक नेपाल । नेपाल धेरै धनी देश हो । यसलाई हामी मिलेर बनाऔँ भन्ने लागिरहन्छ । साथै, स्वभावैले म खाली बस्न सक्दिनँ ।

प्रधानमन्त्री ओलीको ५ पुसको कदमलगत्तै मुलुकमा विभिन्न प्रकारका आन्दोलन सुरु भए । सर्वोच्चमा मुद्दाको सुनुवाइ सुरु भएपछि भने यसले थप चर्को रूप लियो । के आममानिसलाई न्यायिक प्रणालीमाथि कुनै आशंका थियो ?

जनतामा आशंका थियो, त्यसैले आन्दोलन सुरु गरे । त्यो आन्दोलन उपलब्धिमूलक पनि भयो । जनताको दबाब नभएको भए सायद यो जित कठिन हुन्थ्यो होला । यो जितमा सबैभन्दा पहिलो स्थानमा जनताको विद्रोह हो । दोस्रो स्थानमा मिडिया हो । तेस्रो स्थान वकिलहरू ।

यस्ता ऐतिहासिक राजनीतिक मुद्दामा अदालतमाथि सत्ताको दबाब रहन्छ भन्ने बुझाइ छ । यतिवेला पनि आममानिसमा त्यो बुझाइ रहेको पाइन्थ्यो । तपाईंले कस्तो पाउनुभयो ?

केपी ओलीको भाषामा ‘हामी जित्छौँ–जित्छौँ’, बदर हुँदैन भन्ने नै थियो । किनभने उनलाई विश्वास थियो, प्रधानन्यायाधीशले सहयोग गर्नेछन् । तर, जनताको दबाब र वकिलको मिहिनेतले राणाको प्रयास सफल हुन सकेन भन्ने लाग्छ ।

प्रधानमन्त्रीले गएको शुक्रबारदेखि लगातार अदालतले अनपयुक्त निर्णय गर्न सक्ने भनेर आशंका व्यक्त गरिरहेका थिए । संवैधानिक निकायले आफ्नो निर्णयलाई सदर नगरे आन्दोलन गर्ने धम्कीसमेत दिए । त्यसले उनको कस्तो मानसिकतालाई प्रतिबिम्बित गर्छ ? 

ओलीले प्रधानन्यायाधीशलाई दबाब दिनुभयो भन्ने मलाई लाग्छ । तर, प्रधानन्यायाधीशले थेग्न नसक्ने भएपछि इन्कार गर्नुभएको हुन सक्छ । त्यसैले ओलीको बोली हतोत्साही र उदासीन सुनिएको हुन सक्छ । उनले घुमाउरो तरिकाले सर्वोच्चलाई गाली पनि गरेका हुन् नि ! त्यसले प्रधानन्यायाधीशलाई उनले दिन खोजेको दबाबले काम नगरेको देखिन्थ्यो । उनले हरेक भाषणमा ‘म जित्छु’ नै भनेका थिए । उनलाई प्रधानन्यायाधीशले ‘सपोर्ट’ गर्छन् भन्ने लागेको थियो ।

विगतमा पनि प्रतिनिधिसभा विघटनको सिफारिस सदर र बदर भएका नजिरहरू छन् । तिनलाई र यसपटकको पुनस्र्थापनालाई कसरी बुझ्ने ?

पहिलो, गिरिजाबाबुले संसद् विघटन गरेको समय, जसमा मेरो पनि धेरै भूमिका थियो । त्यतिवेला पनि संवैधानिक वा राजनीतिक भनेर प्रश्न उठेको थियो । हामीले यसलाई संवैधानिक हो भनेर भन्यौँ । संसद् भनेको संवैधानिक विषय हो । तर, ‘प्रमाण नभएको हुनाले’ भनेर अदालतले सदर गरिदियो । दोस्रो, मनमोहन अधिकारीले विघटन गर्दाको वेलामा भने बदर गरिदियो । त्यो फैसलामा ‘निर्वाचनबाट पनि तानाशाहहरू जन्मिन्छ’ भनेर उल्लेख गरिएको थियो । त्यो निकै राम्रो फैसला थियो । तर, हाम्रो घाउ पटक–पटक बल्झिरहन्छ । अहिले संविधानको व्याख्यामा कुनै अप्ठ्यारो पर्यो भने संविधान निर्माणका क्रममा के भनिएको थियो भन्ने हेर्न सकिन्छ । संविधानसभाबाट संविधान निर्माण गर्दा जनप्रतिनिधिले संसद् विघटन गर्न नमिल्ने भनेका थिए । जनप्रतिनिधिले नै विघटन नगर्ने भनेपछि अदालतले विघटन गर्न मिल्दैन । धेरै राम्रो फैसला भएको छ । नयाँपत्रिका दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार