असार २५, २०८२ बुधबार July 9, 2025

बैदिककालीन कृषिको मान्यता र आजको बास्तबिकता – लोकनारायण सुबेदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मानब जीबनका आधारभूत आवश्यकता अन्न र पानी हुन् । घर बस्त्र आदि त्यसपछिका आवश्यकता हुन् । अन्न नै प्रथम कुरा हो । कृषि भनेको पनि मूलतः त्यही अन्न उत्पादनको ब्यबस्था हो । प्रष्ट छ, समुन्नत कृषिले नै भरपेट अन्नको प्रत्याभूति दिन्छ । हाम्रा पुराना शास्त्रहरु पनि अन्न प्रतिष्ठाका धेरै कुराहरुले भरिएका छन् । त्यसमध्ये एक हो —ऐतरेय उपनिषद जसको सम्वन्ध ऋग्बेदसँग छ । तिनमा अन्न र आयुको अन्तर–सम्वन्धको कुरा छ । अन्न नभइकन आयु हुदैन । त्यसैले अन्नलाई ‘अन्नायु’ पनि भनिएको छ । अन्न नभइकन जीवन चल्न सक्तैन । अन्न कृषि कर्मसँग सम्बन्धित कुरा हो । तसर्थ कृषि बिना अन्न उत्पन्न हुन सक्तैन । त्यसैले कृषिको सम्बृद्धि अनिबार्य छ भन्ने कुरा त्यतिबेलैदेखि रहँदै आएको हो ।

हुन पनि ऋग्बेदमा कृषि कार्यहरुको भरीपूर्ण उल्लेख रहेको पाइन्छ । ऋग्बेदका देबता पनि किसानलाई नै बताइएको छ । यसबाटै प्रष्ट मान्न सकिन्छ कि ऋग्बैदिक समाजमा कृषिको कति उच्च प्रतिष्ठा थियो । कृषि त्यतिबेला अत्यन्तै उच्च सम्मानको कर्म थियो । ऋग्बैदिक ऋषिहरुले आफ्ना कबितामा आफ्ना देवहरुलाई पनि कृषि कार्य गर्दै गरेको देखेका र तिनका बारेमा गाएका छन् ।बैदिक समाजमा कृषि नगर्ने कोही पनि मानिस सम्मानित थिएनन् । त्यतिबेला अश्विनी कुमारहरुलाई श्रेष्ठ बैद्य बताइएको छ । तर तिनले पनि हलो जोत्दछन् । इन्द्रले पनि हलो जोत्दछन् । एउटा देबता छन् क्षेत्रपति । उनले पनि कृषि कार्यमा सहयोग पु¥याउँदछन् । बर्षातका देवता पनि कृषिसँगै सम्वन्धित छन् ।

बैदिक समाजमा बर्ण र जातिको बिभाजन भएको देखिदैन । गण समूह आदि थिए । गणका नेता या आस्थाका केन्द्रलाई गणपति भनिने गर्दथ्यो । गणभन्दा ठूलो सामाजिक इकाई थियो जन । ऋग्बेदमा पाँच मूख्य जन समूको बिभिन्न चर्चा गरिएको छ । तिनलाई पञ्चजना, पाञ्चजन्य आदि नामले पुकारिएको छ । त्यस्ता सबै पाँच जन समूह कृषिसँग सम्बन्धित छन् । त्यसैले तिनलाई ‘पञ्चकष्टयाः’ पनि भनिएको छ । यसरी त्यतिबेला कृषिलाई अन्नदायिनी भनेर अति सम्मानित स्थान मिलेको थियो । उत्तर बैदिक कालको साहित्यमा पनि अन्नको ब्यापक महिमा पाइन्छ । अन्न पृथ्वीदेखि आकाशसम्म प्रतिष्ठित छ । तेतरीय उपनिषदमा भनिएको छ ः ‘सबै प्राणी अन्नबाटै पैदा हुन्छन्, अन्नबाटै जीवित रहन्छन् र अन्नमै फर्किन्छन् ।’ ‘अन्नं हि भूतानांश्रेष्ठम्’(अन्न सबैभन्दा श्रेष्ठ कुरा हो । यो सर्बोपरी औषधी – ‘र्सबरेषधय’ हो । त्यसै उपनिषदमा भनिएको छ ः ‘अन्नं न निन्द्यात्’ (अन्नको निन्दा नगर्नु ! ‘तत् ब्रतम्’ (यो त ब्रत हो । प्राण अन्न हो । मानब शरीर यो अन्नको भोक्ता हो । शरीरमा प्राण छ, अन्न प्राण हो। अन्नमा अन्न नै प्रतिष्ठित भइरहेको छ । यस सन्दर्भमा ऋषिको उदात्त घोषणा के छ भने जसले यो कुरा बुझदछन् ती अन्न सम्पन्न र यशस्वी हुन्छन् । अन्न प्राप्ति आवश्यक छ । अन्न अपरिहार्यताको समझ त अझै बढी आवश्यक छ ।

अन्नको आदर प्राचीन भावना हो ।यसै प्रसंगमा अगाडि भनिएको छः ‘अन्नं न परिचक्षीत’ (अन्नको अपहेलना नगर ।यो ब्रत संकल्प हो । जल अन्न हो ।अन्न जल–ज्योति हो । ज्योति–तेजले अन्न लिन्छ । अन्नमा अन्न प्रतिष्ठित छ (‘अन्नम् अन्ने प्रतिष्ठितम्’ । यसमा अझ अगाडि थप के आग्रह गरिएको छ भने — ‘अन्नं बहुकुर्वीत’ — बहुबिधि अन्न पैदा गर । यो ब्रत हो । पृथ्वी अन्न हो, आकाश पनि अन्न हो । पृथ्वीमा आकाश प्रतिष्ठित छ । अन्नमा अन्नको प्रतिष्ठा छ । पृथ्वी, जल, आकाश र तेज अर्थात् वायुलाई अन्न भनिनु अमिल्दो कुरा लाग्न सक्तछ । तर ऋषि बेदान्तको मनोभूमिमा अन्न आवश्यकतामाथि यो टिप्पणी गरिरहेका छन् ।अन्न उत्पादनको कर्म खेतीपाती हो ।किसानी हो । कुनै कारखानामा अन्न उत्पादन हुने गर्दैन ।
तर आज खेतीपाती सर्बनाशतर्फ अभिमुख छ । बैदिक कालको सम्मानित कृषि परम्परा नै ग्रामीण उपमामा आज पनि कतिपय स्थानमा सुन्न पाइन्छ ।

उत्तम खेती मध्यम ब्यापार, निषिद्ध चाकरी(कर्मचारी) भन्ने कुरा बैदिक कालकै कुरा हो ।त्यतिबेला कृषिलाई यसरी सम्मानपूर्ण स्थान दिइएको थियो । तर आज कृषि कर्मलाई त्यस्तो सम्मान र आकर्षण नदिइएकोले गर्दा किसानहरुले नै कृषि कर्म परित्याग गर्ने स्थिति बनेको देखिदैछ । खाद्य सुरक्षा र खाद्य संप्रमूता खतरामा छ । कृषि बिज्ञान र यस सम्वन्धि जानकारी पनि बढेको छ । मौसमको पूर्वानुमानको शक्ति पनि बढेको छ । यी सबै कुराहरु हुँदाहुदै पनि आज कृषि क्षेत्र उपेक्षित छ । किसान ऋणमा डुबेका छन् । उनीहरुको लगानी उठिरहेको छैन । भारत लगायत कतिपय देशमा त किसानहरुले आत्महत्यासम्म पनि गरिरहेका छन् । यी सब कुराले प्रष्ट पार्दछ कि आज कृषि पहिलो प्राथमिकतामा छैन । प्रष्टसँग भन्ने नै हो भने आज त ‘औद्योगिक–ब्यापारिक क्षेत्रमा सुबिधा, कृषि क्षेत्रमा द्विबिधा’ जस्तो कृषिमा नाजुक स्थिति छ । त्यसैले कृषिको चौतर्फी बिकासका लागि जमिन, भूउपयोग, किसान र कृषि समस्यासँग सम्वन्धित समस्याको शिघ्रातिशिघ्र उपचार आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय आवश्यकता बन्न गएको छ । कृषिमा अग्रगामी ब्यापक र आमूल सुधार बिना देशको राष्ट्रिय बजार अभिबृद्धि हुदैन र त्यसो नभइकन राष्ट्रिय औद्योगिकरणले पनि सही दिशा र गति प्राप्त गर्न सक्तैन । यो आजसम्मको अनुभवको यथार्थ निचोड हो ।

यसर्थ मानब जीवनको अपरिहार्य आवश्यकता कृषिको समुन्नतिको कुनै बिकल्प छैन । बिज्ञान र प्रबिधिले आकाश पाताल एक गरिसकेको आजको अत्याधुनिक बिकासको जमानामा पनि कृषि कर्मको कुनै बिकल्प नभएको स्थितिले कृषिको दीगो र शतत बिकासका लागि कृषि र किसानको जीवनमा रहेका जमिन, जल, जंगल, जडीबुटी, जनशक्ति र पर्याबरण सबै क्षेत्रमा रहेका समस्या हल गर्दै पर्याबरण र जनसंख्या मैत्री सर्बब्यापी बैज्ञानिक कृषि बिकासको अनिबार्यता र अपरिहार्यता आज अझ बढ्न गएको छ । बैदिक उत्तरबैदिक कालीन कृषि कर्मप्रतिको उच्च मान्यता र समर्पणले पनि यही वास्तबिकतालाई दर्शाउँदछ । बैदिक कालबाट पनि यसको महत्वलार्य बुझ्न र अबलम्बन गर्न सिके र सके मानब जातिका लागि धेरै उपयोगी हुने कुरा निश्चित छ । लेखक नेपाल कम्युनिष्ट पार्टीका सह-अध्यक्ष हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार