असार ५, २०८३ शुक्रबार June 19, 2026

जसपाले कांग्रेसले अग्रसरता लिएर निकास दिनुपर्छ भनेको छ, चाँडै परिपक्व समय बन्ने आशा छ : विश्वप्रकाश शर्मा, प्रवक्ता, कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरूबीच छलफल गरेको छ, बैठकको निष्कर्ष के हो ? 

अनौपचारिक बैठक हो, नेताहरूले आ–आफ्नो धारणा राख्नुभयो । तर, कुनै निर्णय भएको छैन । त्यसैले धारणालाई धारणाकै रूपमा बुझ्नुपर्ने हुन्छ । सबै नेताको समान राय व्यक्त भएको छ– प्रधानमन्त्री केपी ओलीजीको सरकारलाई बिदाइ गर्नुपर्छ । र, कांग्रेसले संसद्मा रहेका सबै पार्टीलाई नेतृत्व गरेर अगाडि बढ्नुपर्छ ।

यसको मतलब कांग्रेसले अब आफ्नै नेतृत्वको सरकार बनाउनुपर्छ भन्ने हो ?

नेताहरूले ओलीको बहिर्गमनका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्नुभएको छ । तर, कांग्रेस निष्कर्षमा पुगेको होइन । धारणा आउनु र निर्णय हुनु फरक हो । छलफल सुरु भएको छ, सुझाब आएका छन्, राय व्यक्त भएका छन् ।

वार्तामा के–के कुराकानी भयो ?

करिब एक घन्टा कुराकानी भयो । जसपाका नेताहरूले अहिले कांग्रेसले अग्रसरता लिनुपर्छ र एउटा निर्णयमा पुग्नुपर्छ भन्ने धारणा राख्नुभएको छ । म्यान्डेड पाएको दलले सरकार चलाउन नसकेको अवस्थामा स्वाभाविक रूपमा प्रतिपक्षी दलले अग्रसरता लिनुपर्छ भन्ने उहाँहरूको भनाइ थियो । कांग्रेसले अग्रसरता लिएर अहिलेको अवस्थालाई निकासमा पुर्याउनुपर्छ भन्ने उहाँहरूको जोड थियो ।

त्यो भनेको अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने हो ?

बैठकमा पूरै समय म पनि सहभागी थिएँ । उहाँहरूले अहिलेको अवस्थामा कांग्रेसले निकासका लागि अग्रसरता लिनुपर्छ भन्नुभएको हो । उहाँहरूले कांग्रेसले प्रधानमन्त्री नै लिओस् भन्नुभएको छैन । तर, निकासका लागि कांग्रेसको भूमिका खोज्नुभएकोचाहिँ हो ।

जसपाको चासो के थियो, कांग्रेसले के भन्यो ?

उहाँहरूले उठाएका चारवटा विषयमा हामीले पनि छलफल गरिसकेका थियौँ । उहाँहरूले पनि ती विषय फेरि राख्नुभयो । तर, अहिले नै कांग्रेसको सरकार छ र ती पूरा हुनुपर्छ भन्ने ढंगले सर्तका साथ राख्नुभएको होइन । उहाँहरूले ओलीलाई बिदाइ गर्नुपर्छ भन्दै गर्दा अब बन्ने सरकारले हामीले उठाएका मुद्दा कसरी सम्बोधन गर्छ भन्नेमा आफ्नो मत राख्नुभयो । कांग्रेसका तर्फबाट हामीले मुख्यतः अहिलेको निकासको बाटोमै केन्द्रित भएर कुराकानी राख्यौँ । हामीले अहिले नै सरकारको नेतृत्व लिँदै छौँ, गर्दै छौँ । र, तपाईंहरूका माग हामी पूरा गर्छौँ भन्ने वचनबद्धताका साथ कुरा गरेनौं । तर, कांग्रेसकै नेतृत्वमा संविधान बनेको हो । त्यसवेला हामीले दुईबुँदे संशोधन प्रस्ताव पनि दर्ता गरेका हौँ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पनि संविधानको संशोधनको प्रस्ताव गरेका थियौँ । तत्कालीन नेकपा एमालेले समर्थन नगर्दा प्रस्ताव फेल भएको थियो । त्यसकारण तपाईंहरूले नै संविधानप्रतिको दृष्टिकोणको दायरा बढाउनुपर्छ भनेका छौँ । तर, त्यो कुन रूपमा, कसरी भन्ने विषय प्रवेश भइसकेको छैन ।

अरू दलहरूसँग संवाद गर्ने लगायतका विषयमा कांग्रेस अब के गर्छ ?

आज उहाँहरूसँग मात्रै संवाद भएको हो । संवाद सकेर उठ्दा संवादलाई निरन्तरता दिने र माओवादी केन्द्रसँगको पनि संवाद गरिसकेपछि फेरि पनि बस्ने भन्ने सहमति गरेका छौँ ।

अनि कांग्रेस, माओवादी र जसपाको गठबन्धन बन्दै गर्दा कांग्रेसले त्यसको नेतृत्व गर्ने हो कि कांग्रेस अरू पार्टीको नेतृत्व स्विकार्न पनि तयार हुन्छ ? 

अहिले हामी त्यो विषयमा प्रवेश नै गरेका छैनौँ, किनभने पार्टीमा आज जम्मा एउटा पदाधिकारीको बैठक भएको हो । त्यसपछि जसपासँग संवाद भएको हो । कांग्रेसभित्र ओलीजीप्रतिको बुझाइमा एकखालको मनोवैज्ञानिक एकताको वातावरण बनेको छ । तर, एकताको वातावरण बन्नु र निर्णय गर्ने फरक हुन् । अब चाँडै परिपक्व समय बन्ने आशा गरौँ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार