असोज ११, २०८३ आइतबार September 27, 2026

पाँचखालमा ‘जियोफिजिकल सर्वे : पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) को काम सकेको छ ।

विभागले बेलायतबाट आएको टोलीका प्रतिनिधिसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गरेको सर्वेबाट ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जानकारी दिएको छ ।

पाँचखाल–७ स्थित सिमाली, बासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासको क्षेत्रमा सर्वे गरिएको विभागका पुरातत्व अधिकृत विष्णु पाठकले जानकारी दिए ।

उनका अनुसार बेलायतस्थित दुरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–६ को भमरकोटसहित वडा नं ७ को विभिन्न स्थानमा तीन दिन सर्वे गरेको हो । ‘सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको छ, डाटा एनालाइसिसपछि सर्वेको विस्तृत प्रतिवेदन विज्ञ टोलीले केही समयपछि दिनेछ’, पाठकले भने ।

दुई बेलायती विज्ञ र पुरातत्व विभागका दुई प्रतिनिधिद्वारा बिहीवार शुरु गरिएको पाँचखालको सर्वे शनिवार सकिएको हो । पाँचखालमा बेलायती सर्वे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्वे गरिएको पाठकले बताए । उनले भने, ‘जुन–जुन सम्भावित संकेत भनिएको क्षेत्रमा सर्वे गरियो, अधिकांशतः सोही स्थानमा सम्भावना देखिएको छ ।’ उनका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने देखिएको छ ।

पहिलो चरणमा जमिनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन नेपालका अन्य क्षेत्रसहित पाँचखालमा जियोफिजिकल सर्वे गरिएको विभागका निर्देशक दामोदर गौतमले जानकारी दिए । उनका अनुसार यसअघि विभागले संयुक्त राष्ट्रसंघीय अंग (युनेस्को)लाई गत असार (सन् २०२०, जुन २९) मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको थियो । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्वे गर्न बेलायतस्थित दुरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलोसाता नेपाल आएको थियो ।

गौतमका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो ।

टोलीले कपिलवस्तुबाट सम्पदा खोज–अनुसन्धान थालेको थियो । टोलीले मुलुकका ६ ओटा जिल्लाका विभिन्न स्थानमा सर्वेको काम सकेको छ भने तिलौराकोटमा उत्खनन भइरहेको विभागले जानकारी दिएको छ । कपिलवस्तुको तिलौराकोटबाहेक लम्किया र चेत्रादेही क्षेत्रमा सर्वे गरिएको थियो ।

काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करीब दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्भे गरेको जानकारी दिएको छ ।

पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टि गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँटालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।

उत्खननका क्रममा भेटिएका अन्य आकारका इँटा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको छ । श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँटाको गारोभित्र माटाको डुँडद्वारा पानीको पाइप लाइन भेटिएको थियो । साथै स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाई ६० सेन्टिरमिटर सुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार