काठमाण्डौंः बारा र पर्साका उद्योगीहरूले औद्योगिक सुरक्षा बल पुनःस्थापनाको माग गरेका छन् । मुख्य औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानहरूको सुरक्षाका लागि दशकअघि स्थापना गरिएको सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बल हालै हटाइएपछि उद्योगीहरूले यस्तो माग गरेका हुन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघले गृह मन्त्रालयलाई पत्र लेखेर औद्योगिक कोरिडोरमा सुरक्षा बललाई निरन्तरता दिन आग्रह गरेको हो । औद्योगिक शान्ति बहालीमा सुरक्षा बलले उदाहरणीय काम गरेकोमा यो संरचना हटाइएपछि उद्यमीहरूले असुरक्षा महसूस गरेको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए ।
विगतमा विभिन्न उद्योगमा उत्पादन बन्द गर्ने, गेट रोक्ने, आवागमनमा अवरोध पुर्याउने, रोजगारदातालाई अभद्र व्यवहार र धाकधम्कीजस्ता गतिविधिको समाधानमा औद्योगिक सुरक्षा बलले निकै राम्रो काम गरेको अध्यक्ष गुप्ताले बताए । ‘सुरक्षा बलका कारण उद्यमीले उद्योग र आफूलाई सुरक्षित महसूस गरेका थिए । अहिले सुरक्षाको संयन्त्र हटाइएपछि उद्यमीहरूमा असुरक्षाको अनुभूति भइरहेको छ,’ गुप्ताले भने ।
संघका उपाध्यक्ष हरि गौतम विगतमा औद्योगिक प्रतिष्ठानमा हुने हुलदंगा, उत्पादनमा अवरोध र रोजगारदातामाथि दुर्व्यवहारजस्ता गतिबिधिबाट आजित भएका उद्यमीले औद्योगिक सुरक्षा बल सक्रिय भएपछि राहत पाएको स्मरण गर्छन् । औद्योगिक कोरिडोरको सुरक्षामा प्रभावकारी काम गरिरहेको सशस्त्र प्रहरीलाई अहिले गण र गुल्ममा तानिएपछि औद्योगिक कोरिडोरहरू सुरक्षाविहीन भएका छन्,’ उपाध्यक्ष गौतमले आर्थिक अभियानसित भने ।
सरकारले वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जका उद्योग प्रतिष्ठानको सुरक्षाका लागि ती स्थानमा सशस्त्र प्रहरीको बेग्लै युनिट खटाएको थियो । बाराको परवानीपुरमा १६५ जनाको सुरक्षा बल स्थापना गरिएको थियो । अभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया