काठमाण्डौंः प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरी सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने राष्ट्रिय जनमोर्चाले (राजमो) निर्णय गरेसँगै गण्डकी सरकार ढल्ने निश्चित भएको छ । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका छन् ।
विपक्षी पार्टीले निर्णायक रहेको राजमोको पनि समर्थन खोजेका थिए । तर केन्द्रबाट कुनै निर्देशन र निर्णय नआएको भन्दै राजमो सांसदले निर्णय नदिँदा सरकारविरुद्ध उभिएका पार्टी आफ्नो अभियानमा रोकिएका थिए । राजमो केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी सरकारविरुद्ध ल्याउने अविश्वास प्रस्तावलाई समर्थन गर्ने जनाएपछि मोर्चाबन्दी बनाएका पार्टी अविश्वास प्रस्ताव दर्ताको तयारीमा लागेका हुन् ।
तीनवटै पार्टीले आफ्ना सांसदलाई पोखरा बोलाएका छन् । प्रदेशसभाका कुल सांसदमध्ये १ चौथाइ अर्थात् १५ जनाले हस्ताक्षर गरे पनि अविश्वास प्रसताव दर्ता हुन्छ । तर सकभर सबैजनाको हस्ताक्षर भएमा राम्रो हुने भन्दै सांसदलाई बोलाइएको हो । कान्तिपुर दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया