काठमाडौंः कोरोना भाईरस संक्रमणबाट संविधानसभाकी सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ।
नेपाली काँग्रेसका तर्फबाट पहिलो संविधानसभामा सदस्य समेत रहेकी नेपालगञ्ज–३ की ६२ वर्षीया सिद्धिकीको शनिवार बेलुका नेपालगन्जस्थित भेरी अस्पतालमा निधन भएको हो ।
उपचारका क्रममा शनिबार उहाँको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना हुनुभएको थियो ।
उहाँ नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य समेत हुनुहुन्थ्यो । विसं २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा विशेष सक्रिय रहँदै आउनुभएको थियो ।
उहाँ नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । योसँगै कोरोना सङ्क्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । केही दिनयता नेपालगन्ज क्षेत्र कोरोनाको हटस्पट बन्दै आएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया