असार २५, २०८२ बुधबार July 9, 2025

जनता छटपटाउँदै बेडमा,राजनीतिक दल सत्ताको खेलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वव्यापी रुपमा फैलिएको कारोना संक्रमणको दोस्रो लहरका कारण देशभर संक्रमितको संख्या ह्वातै बढ्दा अस्पतालको शय्या भरिएका छन् । ठूलो संख्यामा एकैपटक संक्रमितको दर बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव भई उपचार नै नपाउने अवस्था सिर्जना भएको हो । दैनिक पाँचदेखि सात हजारसम्म संक्रमित थपिँदा मृत्युदर पनि बढ्दै गएको छ । अस्पतालका शय्या संक्रमितले भरिएका छन् ।

संक्रमितहरु अस्पतालमा छटपटाइरहँदा राजनीतिक दलहरु भने यस्तो विषम परिस्थितिमा पनि सत्ताको खेलमा लागिपरेका छन् । प्रदेश सरकारमा देखिएको राजनीतिक सरगर्मी अहिले संघीय सरकारमा प्रवेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते संसद्मा विश्वासको मत लिने निर्णय भएसँग राजनीतिक माहोल पुनः तातिएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर समूहका सांसदको समर्थन पाइनेमा ढुक्क भएका छन् । संसद्मा एमालेको १२१ र ठाकुर समूहको १६ सांसदको समर्थन पाइने भएपछि संसद्मा विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय संघीय संसद्मा हाल २६६ जना सांसद रहेका छन् । संसद्मा कायम रहेको संख्याअनुसार प्रधानमन्त्रीलाई विश्वासको मत लिन १३६ जना सांसदको आवश्यकता पर्छ ।

माओवादीले विश्वासको मत फिर्ता लिएको र विपक्षी दलहरुले संसद्मा अविश्वास प्रस्ताव पनि नल्याएपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन निर्णय लिएका हुन् । विश्वासको मतमार्फत प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने कदम सही भएको प्रमाणित गर्न लागेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै एमालेभित्र समानान्तर गतिविधि गर्दै आएको खनाल–नेपाल समूहका सांसदहरुले के गर्लान् भन्ने चासोको विषय बनेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहको समर्थनमा अविश्वासको प्रस्ताव दर्ता हुने र त्यसमा नेपाल समूहले साथ दिने भएका कारण प्रधानमन्त्री ओलीले नेपाल पक्षका ३० जना सांसदसँग स्पष्टीकरण मागिसकेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया